१३ माघ, सिरहा । प्रादेशिक अस्पताल लहानको शवगृहमा पोस्टमार्टमका लागि राखिएको १६ वर्षीया किशोरीको शव साटिएको घटनामा छानबिन गर्न समिति गठन भएको छ ।
इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि मेडिकल सुपरिटेन्डेन्टलाई केही समय जिम्मेवारी बहन नगरी बिदामा बस्न निर्देशन पनि दिइएको छ । त्यस्तै, शवगृहको जिम्मेवारीमा रहेका कर्मचारीलाई पनि जिम्मेवारीबाट हटाइएको हो ।
गोलबजार नगरपालिका–३ निवासी पूर्णबहादुर बानियाकी छोरी निशा माघ १० गते आफ्नै घरको कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि सोही दिन शव रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहान पठाएको थियो ।
उही दिन अस्पतालमा सप्तरीको खडक नगरपालिका–१, करर्बोना निवासी १६ वर्षीया राधिका साहको शव पनि पोस्टमार्टमका लागि ल्याइएको थियो । पोस्टमार्टमपछि एउटा शव बाहिर निकालिएको थियो, जुन राधिकाको भएको भन्दै उनका आफन्तले बुझेर दाहसंस्कार गरेका थिए ।
तर पछि उक्त शव राधिकाको नभई निशाको भएको खुलेको हो ।
शनिबार नै शव अस्पताल पुर्याइए पनि प्रहरी र अस्पताल प्रशासनले परिवारका सदस्य आएपछि मात्रै पोस्टमार्टम प्रक्रिया अघि बढाइने बताएका थिए ।
सोमबार बिहान निशाका आमा–बुबा भारतको मुम्बइबाट आएपछि दिउँसो करिब १ बजे पोस्टमार्टमको तयारी गरिएको थियो ।
तर त्यसबेला शवगृहमा रहेको शव निशाको नभई राधिका साहको भएको खुलेपछि घटना सार्वजनिक भएको हो । यससँगै राधिकाकै परिवारले निशाको शव दाहसंस्कार गरिसकेको तथ्य पनि बाहिर आएको छ ।
घटनापछि पीडित पक्षले न्यायको माग गर्दै पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरी आन्दोलन गरेका थिए । प्रशासनको पहलपछि आन्दोलन फिर्ता लिइएको र सडक यातायात सुचारु गरिएको जनाइएको छ ।
प्रतिक्रिया 4