News Summary
Generated by OK AI. Editorially reviewed.- ग्रीनल्याण्डको नानुक ब्यान्डले आफ्नो मातृभाषा ग्रीनल्याण्डिकमा गाएर विश्वसंगीतप्रेमीबीच चर्चा पाएको छ।
- नानुक ब्यान्डले अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्डलाई गाभ्ने प्रस्तावपछि राजनीतिक विवादलाई आफ्नो नयाँ एल्बममा समेटेको छ।
- ब्यान्डका संस्थापक क्रिस्टियन एल्स्नरले अमेरिकामा गाभिने धम्कीप्रति दुःखी हुँदै ग्रीनल्याण्डको स्वतन्त्रता र एकताको सन्देश दिन खोजेको बताए।
विश्वको सबैभन्दा ठूलो टापु, जहाँ शहरहरूलाई जोड्ने सडक छैन । मानिसहरू यात्राका लागि कुकुरले तान्ने स्लेज वा हेलिकप्टरको भर पर्छन् । त्यो दुर्गम र सुन्दर भूभाग हो, ग्रीनल्याण्ड । तर, यो देशमा एउटा ब्यान्डले आमनागरिकहरूलाई जोड्ने काम गरिरहेको छ ।
नाम हो- नानुक। सन् २००८ मा क्रिस्टियन र फ्रेडरिक एल्स्नर दाजुभाइले स्थापना गरेको यो रक ब्यान्ड आज ग्रीनल्याण्डको पहिचान त बनेको छ । त्यहाँको बदलिँदो राजनीतिक र सामाजिक परिस्थितिको एउटा बलियो आवाज पनि बनिरहेको छ । त्यसैले त यसबेला विश्व संगीतप्रेमीबीच यो ब्यान्ड चर्चामा छ ।

ग्रीनल्याण्डमा कुनै पनि कलाकारका लागि सांगीतिक यात्रा गर्नु निकै कठिन हुन्छ । यसको कारण त्यहाँको भौगोलिक बनोट हो । ब्यान्डका गिताररवादक क्रिस्टियनका अनुसार सांगीतिक भ्रमणका क्रममा कहिलेकाहीँ हिमपहिरोमा परेर हप्तौंसम्म गाउँमै थुनिनुपर्ने परिस्थिति समेत आउँछ ।
यद्यपि त्यस्तो भौगोलिक विकटता नै नानुकको संगीतको मुख्य प्रेरणा हो । उनीहरूका गीतमा नर्डिक क्षेत्रको उदासी, सुनसान बरफका मैदानहरूको गहिराइ र प्रकृतिको सौन्दर्य सुन्न सकिन्छ।
यो ब्यान्ड अङ्ग्रेजीमा गाएर चर्चामा आएको होइन । आजको व्यवसायिक युगमा धेरै कलाकारहरू विश्वव्यापी हुन अंग्रेजी भाषा रोज्छन् । तर, नानुकले सुरुदेखि नै आफ्नो मातृभाषा ग्रीनल्याण्डिकलाई नै प्राथमिकता दियो । उनीहरूलाई युरोपेली रेकर्ड कम्पनीहरूले अंग्रेजीमा गाउन दबाब दिए पनि उनीहरूले आफ्नो पहिचानसँग सम्झौता गरेनन् ।

आफूहरू ग्रीनल्याण्डिक भाषामै सोच्ने र हृदयदेखि नै गाउने भएकाले त्यसो गर्न नसकेको उनीहरूको तर्क छ । तर, गायनमा भाषाको के फरक भयो र ? उनीहरूको संगीतको धुनले संसारभरका मानिसहरूलाई आकर्षित गरिरहेको छ ।
हालैका समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने विषय उठान गरेका थिए । खासमा निकै कमले बोल्ने भाषामा गाउने उक्त ब्यान्डको चर्चा ट्रम्पको उक्त विषयसँग सम्बन्धित छ ।
किनकि त्यही राजनीतिक विवादले नानुक ब्यान्डलाई एकाएक विश्वव्यापी चर्चाको केन्द्रमा ल्याइदिएको हो । सामाजिक सञ्जालमा उनीहरूको चर्चा चुलिएको हो । र, ब्यान्ड आफैंले पनि त्यस्तो राजनीतिक सङ्कटलाई आफ्नो नयाँ अकोस्टिक एल्बममा समेत समेटेका छन् ।
तर, चर्चाले दिने खुसीभन्दा बढी दु:खी भएको क्रिस्टियनको भनाइ छ । किनकि उनीहरूको देशलाई सोझै आफ्नोमा गाभ्ने धम्की पराई देशले दिएको छ । आफूहरू कहिल्यै पनि अमेरिकी राज्य बन्न नचाहने, ग्रीनल्याण्ड नै रहन चाहने उनीहरू दृढताकासाथ बताउँछन् ।
त्यसैले त उनीहरू आफ्नो नयाँ गीतहरूमार्फत आक्रोशभन्दा पनि त्रसित भएका स्थानीय जनतालाई शान्त पार्ने र एकताको सन्देश दिने प्रयास गरिरहेका छन् । जसको समर्थनमा दिनानुदिन यो ब्यान्डको विश्वश्रोता पनि बढिरहेका छन् ।
न्यू योर्क टाइम्सबाट
प्रतिक्रिया 4