१४ माघ, काठमाडौं । २७ मार्च १९८० को दिन विश्वको वित्तीय परिदृश्यमा एउटा ठूलो परिवर्तन आयो, जसलाई इतिहासमा ‘सिल्भर थर्सडे’ को नामले चिनिन्छ।
अर्बपति हन्ट दाजुभाइले विश्वको चाँदी बजारलाई आफ्नो नियन्त्रणमा लिने एउटा साहसी तर जोखिमपूर्ण प्रयास गरेका थिए, जसको अन्त्य बजारको भयानक गिरावटसँगै भयो। यस घटनाले म्यानहट्टनका ट्रेडिङ फ्लोरदेखि स्विट्जरल्याण्डका बैंकका भल्टहरूसम्म हलचल मच्चाइदिएको थियो।
नेल्सन बङ्कर, विलियम हर्बर्ट र लामार हन्टले ‘बाचे हल्सी स्टुअर्ट शिल्ड्स’ नामक ब्रोकरेज फर्मको १०० मिलियन डलरको ‘मार्जिन कल’ (थप रकम जम्मा गर्ने आदेश) तिर्न नसकेपछि यो संकट उत्कर्षमा पुगेको थियो ।
टेक्सासका यी तेल व्यापारीहरूले वर्षौंदेखि अधिक रूपमा चाँदी जम्मा गरिरहेका थिए। उनीहरूसँग अनुमानित १०० मिलियन औंस चाँदी थियो, जुन विश्वको निजी आपूर्तिको झण्डै एक-तिहाइ हिस्सा थियो।
उनीहरूको यो खरिद मोहले सन् १९७९ मा ६ डलर प्रति औंस रहेको चाँदीको मूल्यलाई जनवरी १९८० मा अकासिएर ४९.४५ डलरसम्म पुर्याएको थियो। तर, जुन ऋणको सहारामा उनीहरूले यो साम्राज्य खडा गरेका थिए, त्यही ऋण नै अन्ततः उनीहरूको पतनको कारण बन्यो।
बजारको यो गिरावटलाई कमोडिटी एक्सचेन्जको ‘सिल्भर रूल ७’ नामक नियामक हस्तक्षेपले थप तीव्र बनायो। यस नियमले चाँदीको नयाँ खरिदमा रोक लगायो र ठूला लगानीकर्ताहरूलाई आफ्नो होल्डिङ बेच्न बाध्य पार्यो। नयाँ प्रतिबन्धका कारण मूल्य घट्न थालेपछि हन्ट दाजुभाइले लिएको अर्बौंको ऋण दायित्व बन्यो।
एउटा बिहीबार बिहान, जब यी दाजुभाइसँग आफ्नो ऋण तिर्ने समेत पैसा छैन भन्ने खबर फैलियो, बजारमा त्रासको वातावरण बन्यो । जनवरीको उच्च विन्दुबाट ओरालो लागिरहेको चाँदीको मूल्य उक्त दिन १५.८० डलरबाट घटेर १०.८० डलरमा झर्यो। यो गिरावट वर्षको उच्चतम विन्दुबाट झण्डै ८० प्रतिशतको थियो।
यो स्थिति चाँदी बजारमा मात्र सीमित रहेन। ‘डाउ जोन्स इन्डस्ट्रियल एभरेज’ पनि १६ अंकले घट्यो। हन्ट दाजुभाइले आफ्नो घाटा पूर्ति गर्न तेल र घरजग्गा लगायतका अन्य क्षेत्रको लगानी पनि सस्तैमा बेच्न सक्छन् भन्ने हल्लाले बजारमा थप डर पैदा भयो। यस अस्थिरताले हन्ट दाजुभाइलाई ऋण दिने वाल स्ट्रिटका ठूला बैंक र ब्रोकरेज हाउसहरूको अस्तित्व नै संकटमा पारेको थियो।
समग्र वित्तीय प्रणालीलाई धराशायी हुनबाट जोगाउन फेडरल रिजर्भको गोप्य समर्थनमा झण्डै दुई दर्जन बैंकहरूको समूहले उनीहरूको ऋण व्यवस्थापन गर्न १.१ बिलियन डलरको आपतकालीन कर्जा उपलब्ध गराएको थियो।
यस घटनापछि हन्ट दाजुभाइको कहिल्यै नडगमगाउने साख धुलोमा मिल्यो। उनीहरूले दशकौंसम्म कानुनी लडाइँ लड्नुपर्यो र सन् १९८८ मा बजार चलखेल गरेको षडयन्त्रमा दोषी ठहरिए। टाट पल्टिएर आफूले राज गरेको कमोडिटी बजारबाटै प्रतिबन्धित हुनुपरेका यी दाजुभाइको कथा आज पनि अत्यधिक सट्टाबाजीले निम्त्याउने जोखिमको एउटा ठूलो उदाहरण बनेको छ। नियामकहरूका लागि ‘सिल्भर थर्सडे’ आधुनिक निगरानी प्रणाली लागू गर्ने मुख्य आधार बन्यो।
शुक्रबार चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति औंस १११ अमेरिकी डलर को नयाँ ऐतिहासिक उचाइ कायम भएको छ ।
बहुमूल्य धातुहरूको बढ्दो माग, औद्योगिक क्षेत्रको उच्च खपत, माग र आपूर्ति बीचको असन्तुलन तथा डलरको कमजोरीका कारण चाँदीको मूल्यलाई बल पुगेको हो।
चाँदीले सुनको मूल्य पछ्याइरहेको भए तापनि प्रतिफलको मामिलामा यसले सुनलाई उछिनेको छ। सन् २०२५ मा सुनको मूल्य ६६ प्रतिशतले बढ्दा चाँदीको मूल्य १४५ प्रतिशतले बढेको थियो।
एक औंस सुन किन्न कति औंस चाँदी चाहिन्छ भन्ने मापन गर्ने यो अनुपात अहिले ४६ को आसपास छ यो सन् २०११ सेप्टेम्बर यताकै न्यून विन्दु हो । यसले चाँदी बेचेर सुनमा लगानी गर्ने समय आएको संकेत गरे पनि धेरै विश्लेषकहरू भने आजको बजारमा यो अनुपात सान्दर्भिक नभएको बताउँछन्।
जनवरी महिनामा मात्रै चाँदीको मूल्यमा ५३ प्रतिशतको प्रभावशाली वृद्धि भएको छ, जुन अहिलेसम्मकै उच्च वृद्धि हो। यद्यपि, विगत ९ महिनादेखि लगातार र तीब्र गतिमा मूल्य बढिरहेकाले बजारमा ‘करेक्सन’ (मूल्यमा केही गिरावट) आउन सक्ने चेतावनी पनि दिइएको छ। प्राविधिक सूचकहरूले बजार अत्यधिक तातेको देखाएका छन्।
यदि चाँदीको मूल्य ११० अमेरिकी डलरभन्दा माथि स्थिर रहेमा, यसको अर्को लक्ष्य ११५ र ११६ अमेरिकी डलर प्रति औंस हुनेछ। त्यसपछि यसले अर्को मनोवैज्ञानिक स्तर १२० अमेरिकी डलरलाई पछ्याउने देखिन्छ।
यही पृष्ठभूमिमा मानिसहरूले सिल्भर डर्सडेको चर्चा पुनः चुलिएको हो ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4