१४ माघ, डोल्पा । हिमाली जिल्ला डोल्पामा लगातारको हिमपात र वर्षा भएपछि सञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमका टावरमा विद्युत आपूर्ति बन्द भएपछि सञ्चार सेवा अवरुद्ध भएको हो ।
मंगलबार रातिदेखि निरन्तर वर्षा र हिमपात भएका कारण जिल्लाको मुड्केचुला गाउँपालिकामा रहेका दुईवटा टावर, जगदुल्ला गाउँपालिकाको डाँडामा रहेको टावर तथा त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटको न्युने डाँडाका टावरमा पावर आपूर्ति बन्द भएको दूरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ ।
कार्यालयका अनुसार टावर भएका क्षेत्रमा विद्युत आपूर्ति नहुँदा र लगातार घाम नलाग्दा सोलार सिस्टममा चार्ज नभएका कारण सञ्चार सेवा अवरुद्ध भएको हो ।
उक्त स्थानमा रहेका टावरमा अन्य कुनै प्राविधिक समस्या नरहेको र मौसममा सुधार आएपछि सोलार प्रणाली चार्ज भई सेवा पुनः सञ्चालन हुने कार्यालयले जनाएको छ ।
यस्तै प्रतिकूल मौसम निरन्तर रहेमा काइके गाउँपालिकालगायत जिल्लाका अन्य स्थानमा रहेका टावरहरू समेत बन्द हुने र थप क्षेत्र सञ्चारविहीन बन्न सक्ने सम्भावना रहेको दूरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ ।
– पूर्ण सार्की
प्रतिक्रिया 4