१४ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर पार्टी पंक्तिलाई व्यवस्थित रूपले परिचालित गर्नका लागि समितिहरू गठन गर्न परिपत्र गरेको छ ।
केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको ‘विजय अभियान’ व्यवस्थित बनाउन मातहतलाई सबै तहमा समिति र संरचना अविलम्ब गठन गर्न परिपत्र गरेका हुन् ।
सात प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति र १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई बुधबार गरिएको परिपत्रमा एक दर्जन समितिहरूको नाम र कामको प्रकृति नै उल्लेख गरिएको छ ।
यस्तो छ परिपत्र –
१) निर्वाचन व्यवस्थापन सचिवालय : निर्वाचन अभियानलाई व्यवस्थित बनाउन ५/७ जनाको सानो संख्यामा सचिवालय गठन गर्ने ।
सचिवालयले निर्वाचनमा पार्टीको कार्यालय, आन्तरिक व्यवस्थापनदेखि सार्वजनिक प्रस्तुतिसम्मका सबै कार्यको समन्वय र आवश्यक निर्णय गर्ने ।
२) निर्वाचन परिचालन मूल समिति
मूल समिति अन्तर्गत –
क) सार्वजनिक कार्यक्रम व्यवस्थापन उपसमिति
ख) महिला समन्वय उपसमिति
ग) तरूण स्वयंसेवक समन्वय र व्यवस्थापन उपसमिति
घ) श्रमिक क्षेत्र समन्वय र परिचालन उपसमिति
ङ) कृषि क्षेत्र र कृषक समन्वय र परिचालन उपसमिति
च) भ्रातृ संस्था समन्वय र परिचालन उपसमिति
छ) शुभेच्छुक संस्था समन्वय र परिचालन उपसमिति
(यी उपसमितिका अलवा स्थानीय भूगोलको जनसंख्या हेरेर संविधानको क्लष्टर बमोजिमका थप उपसमिति गठन गर्ने)
३) निर्वाचन प्रचार प्रसार मूल समिति : यो समिति केन्द्रीय प्रचार प्रसार समितिसँग प्रत्यक्ष सम्पर्क र समन्वयमा रहनेछ ।
यस अन्तर्गत :
क) मिडिया समन्वय उपसमिति
ख) सामाजिक सञ्जाल समन्वय उपसमिति : सामाजिक सञ्जालको टिममा नवयुवाहरुलाई अग्रसर गराउने ।
४) स्थानीय तह समन्वय समिति : निर्वाचन आचार सहित उल्लंघन नहुने हदसम्म स्थानीय तहमा निर्वाचित साथीहरु पार्टीको विजयी अभियानमा सरिक हुनेछन् । यो समितिमा पार्टी प्रतिनिधि एवं स्थानीय तहका साथीहरु सहभागी रहनु हुनेछ ।
५) बौद्धिक क्षेत्र समन्वय समिति : सम्बन्धित भूगोलका सबै बौद्धिक संस्था र व्यक्तित्वसँग समन्वय र सहकार्य यो समितिले गर्नेछ ।
६ सामाजिक संघ-संस्था समन्वय समिति : हरेक निर्वाचन क्षेत्रमा दर्जनौ सामाजिक संघ–संस्था अस्तित्वमा हुन्छन्, तिनको मुद्दा आत्मसात गर्न र चुनावमा समर्थन साथ लिन यो समितिले कार्य गर्नेछ ।
७) धार्मिक संघ-संस्था समन्वय समिति : निर्वाचन क्षेत्रमा रहेका विभिन्न धर्म र सम्प्रदायसँग सम्बन्धित संस्था र व्यक्तिसँग भेटघाट र समन्वय गरेर पार्टीको विजय अभियानमा समर्थन जुटाउने कार्यमा यो समिति क्रियाशील हुनेछ ।
८) निजी क्षेत्र समन्वय समिति : निर्वाचन क्षेत्रमा रहेका उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संस्था र व्यक्तिहरुसँग समन्वय गर्ने । ठूला उद्योगीदेखि साना व्यवसायी, खुद्रा व्यापार व्यवसायमा संलग्न सबैलाई सम्पर्क र समन्वय यो समितिले गर्नेछ ।
९) १८/३० बिशेष अभियान : १८ वर्ष माथि ३० वर्षमुनिका नवयुवालाई सहभागी बनाएर समिति गठन गर्ने र १८/३० विशेष अभियान चलाउने ।
१०) पूर्वआप्रवासी समन्वय समिति : विदेशबाट फर्किएका युवा र अन्यलाई सम्पर्क, समन्वय र परिचालनको कार्य यो समितिले गर्नेछ । विदेशबाट फर्किएका साथीहरुको सहभागिता गराएर यो समितिलाई विस्तार गर्नु पर्नेछ ।
११) स्थानीय प्रशासन समन्वय समिति : निर्वाचनलाई भय रहित र शान्तिपूर्ण बनाउन राजनैतिक दलहरूले स्थानीय प्रशासनसँग जरुरी सहकार्य गर्नुपर्ने हुन्छ, पार्टीको यो समितिले स्थानीय प्रशासनसँग पार्टीका तर्फबाट आवश्यक समन्वय गर्नेछ ।
१२) अनुगमन समिति : अग्रज व्यक्तित्वको संयोजकत्वमा एक अनुगमन समिति गठन गर्ने । समितिले चुनावका लागि गठित विभिन्न समिति, उपसमिति र पार्टीका अन्य सबैको कार्य अनुगमन गरेर आवश्यक सुधार गर्नुपर्ने बिषयहरुमा सुझाव दिने र प्रेरित गर्ने कार्य गर्नेछ ।
प्रतिक्रिया 4