+
+
Shares

राज्यभन्दा अगाडि हिँडिरहेका वृद्ध

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८२ माघ १४ गते १६:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एक वृद्ध तरकारी बेच्ने नागरिकले बिहान ४ बजे उठेर २० किलोमिटर साइकलमा तरकारी बेचेर परिवार पाल्ने दैनिकी बताउनुभयो।
  • उहाँले सरकारबाट वृद्धभत्ता पाउने उमेर ७२ वर्ष पुगेको तर आफूलाई राज्यबाट कुनै अपेक्षा नभएको स्पष्ट गर्नुभयो।
  • उहाँले स्थानीय नेता विजय गच्छदारलाई भरोसा गर्ने र भोट हाल्ने निर्णयको कारण "भरोसा हो । झुटो आश्वासन दिँदैन । कहिल्यै निराशा गर्दैन ।" भन्नुभयो।

आजभोलि बिहानै हिँड्न थालेको छु । हिँडाइको अभिप्राय बढ्दो उमेर र स्वास्थ्यप्रतिको चिन्ता हो । घरबाट हिँडेरै कहिले कोशी हेल्थ कलेज त कहिले गोल्डेन पार्क कलेज पुग्छु । कोशी हेल्थ कलेज अलिक टाढा छ, पुग्न सामान्यतया करिब ४० मिनेट लाग्छ । शरीर चलाउने बहानामा दिमाग सफा गर्ने अभ्यासजस्तै बनेको छ यो बाटो ।

सडक, पसलका सटर, चिया पसलहरूको जमघट, मर्निङ्ग वाकमा रहेका समूहहरू र कलेजतर्फ हतारिएका विद्यार्थीहरू सबै चीरपरिचित जस्तै लाग्छ । तर आजको बिहान अलि फरक भयो । किनकि आज म समयभन्दा छिटो पुगेँ । घडीले पाँच मिनेट कम देखायो । तर त्यो पाँच मिनेट केवल दूरीको हिसाब थिएन, त्यो त एउटा जीवनसँग सँगै हिँडेको समय थियो ।

घरबाट निस्किएर तीन मिनेटमै पुगिने गणेशचोक- जहाँ गणेश मन्दिर छ, जहाँ बिहानी उज्यालोले स्पर्श नगर्दै मान्छेहरूको भीड लाग्छ । त्यहाँ मैले उनलाई देखेँ । साइकलमा तरकारी बोकेर, न धेरै हतार न धेरै सुस्त, स्थिर गतिमा हिँडिरहेका थिए उनी । मेरो हिँडाइ अलि छिटो छ भन्ने मेरो भ्रम त्यहीँ टुट्यो । म उनलाई पछ्याइरहेँ अलि बल गरेर उनको छेउमा पुगेँ । अनि हामी सँगै हिँड्न थाल्यौँ । बोल्न थाल्यौ ।

उनको अनुहारमा समयको लेखाइ थियो । घाम, पसिना, वर्षा र धुलोले बनाएको एउटा मौन इतिहास ।

उमेर सोधेँ- ‘सत्तरी ?

‘होइन सतसठ्ठी पुगेँ’ उनले जवाफ दिए ।

आवाजमा न थकान थियो, न गुनासो ।

‘अब त एक वर्षपछि बृद्ध भत्ता पाइने रैछ’ मैले थोरै व्यंग्य मिश्रित वास्तविकता सुनाएँ ।

उनी हल्का हाँसे । त्यो हाँसोमा व्यंग्य थिएन, आशा थिएन, निराशा पनि थिएन । केवल स्वीकारोक्ति थियो ।

‘अब त फेरि सत्तरी बनाए रे । तर मलाई किन चाहियो र ?’

उनको यो वाक्यले मलाई चुप गरायो । सरकारले वृद्धभत्ता दिने उमेर किन फेरि बढायो भन्ने गुनासो उनीसँग थिएन । बरु उनलाई राज्यबाट अपेक्षा नै थिएन ।

गढी–४, छिटहाका बासिन्दा । परिवारमा दुई छोरा, दुई छोरी । सबैको विवाह भइसकेको छ । नातिनातिनीका धनी रहेछन् । दुई छोरामध्ये एक बहराइनमा रहेछन् । तर दुवै बुहारी, नातिनातिनाहरू उनकै साथमा छन् । १२ जनाको संयुक्त परिवार । एउटै छत, एउटै भान्सा, एउटै बारी । आजको समयमा ‘संयुक्त परिवार’ निकै दुर्लभ भइसक्यो।

घरअगाडि पाँच–छ कठ्ठा बारी छ । त्यहाँ तरकारी फल्छ । त्यही बेच्न बिहान ४ बजे नै साइकलमा २० किलोमिटर टाढा विराटनगरतर्फ लाग्छन् उनी । यो उनको दैनिकी नै हो । चिया, खाजा बजारमै हुन्छ । फर्किँदा प्राय दिउँसो दुई बज्छ । झमेला, थकाइ र समस्याहरू अनेक आउँछन् । तर उनी कहिल्यै गुनासो गर्दैनन् ।

‘घर–घर पुर्‍याइदिन्छु त्यसैले ग्राहक पनि छुट्दैन’ उनी सुनाउँछन् । उनका अधिकांश ग्राहकहरू नियमित छन् रे । अनि घरमै तरकारी आइपुग्ने भएपछि केही बढी पैसा पनि दिन्छन् रे । यो केही बढी पैसा केवल तरकारीको मूल्य होइन । यो विश्वासको मूल्य हो । आज बजारमा विश्वास सबैभन्दा महँगो वस्तु बनेको छ । तर यी दाइले त्यो बिनाप्रचार, बिनापोस्टर, बिनाभाषण कमाएका छन् ।

राजनीतिक कुरा निस्कँदा उनी अलि मुस्कुराए । ‘मलाई राजनीति खासै चासो छैन’ उनले भने, ‘तर भोट चाहिँ हाल्छु ।’

किन ?

‘किनभने त्यो पनि त हाम्रो जिम्मेवारी हो ।’

म अलिक उत्सुक हुदै सोध, यस पटक कसलाई ?

‘कन्हवालाई ।’ उनले विजय गच्छदारलाई लक्षित गर्दै भने । विद्यार्थी नेता हुँदै उनको एउटा आँखामा चोट लागेकाले यस क्षेत्रका पुराना मान्छेहरूले उनलाई ‘कन्हवा’ अर्थात कानो पनि भन्ने गर्छन् ।

मैले साथ कारण सोधेँ । उनले ठूलो सिद्धान्त सुनाएनन् ।

‘भरोसा हो । झुटो आश्वासन दिँदैन । कहिल्यै निराशा गर्दैन ।’

मलाई उनको त्यो वाक्यले झस्कायो । हामी राजनीति विश्लेषण गर्छौं, तथ्य खोज्छौं, घोषणापत्र पढ्छौं । तर उनी भरोसा खोजिरहेका छन् । उनी परिवर्तन होइन, स्थिरता खोजिरहेका छन् । उनी क्रान्ति होइन, निराशा नआओस् भन्ने चाहन्छन् । सायद यही हो आम नागरिकको राजनीति । सायद यही कारण हो, हामीले नबुझेको मत ।

हामी हिँडिरह्यौँ । बाटो छोटो हुँदै गयो । कोशी हेल्थ कलेज नजिकिँदै गयो । मलाई थाहा थियो, अब हामी छुट्टिनुपर्छ । कुनै औपचारिक बिदाइ भएन ।

‘ल, म यतै लागेँ’ उनले भने ।

मैले ‘हुन्छ’ भनेँ ।

उनी अगाडि बढे । साइकल डोर्‍याउदै, काउली, सिमी, सागको भारीसँगै । म अर्कोतिर मोडिएँ । तर मन भने उनका शब्दहरूमा अड्कियो । आज‍ ४० मिनेटको बाटो ३५ मिनेटमा पुगेँ । त्यो ५ मिनेटको बचत मेरो शरीरले होइन, चेतनाले गरेको थियो ।

म आज एउटा यस्तो नागरिकको साथ हिँडेँ, जो भत्ताको प्रतीक्षामा छैन, भाषणको खोजीमा छैन, नाराको पछि छैन । उ बिहान ४ बजे उठ्छ । आफ्नै बारीमा उब्जाएको तरकारी बेचेर परिवार पाल्छ । ऊ राज्यसँग रिसाएको छैन, तर राज्यभन्दा अगाडि हिँडिरहेको छ । हामी प्रायः भन्छौं, राज्यले के गर्‍यो ? तर कहिलेकाहीँ प्रश्न उल्ट्याउनुपर्छ।

राज्यभन्दा धेरै अगाडि हिँडिरहेका यी नागरिकलाई राज्यले देखेको छ कि छैन ? उनीहरू न भाषण दिन्छन्, न आन्दोलन गर्छन् । तर उनीहरूकै पसिनाले यो देश बिहान ब्यूँझिन्छ । सायद यही कारणले आज म समयभन्दा छिटो पुगेँ । किनकि म राज्यसँग होइन, राज्यभन्दा अगाडि हिँडिरहेको एक बृद्धसँगै हिँडेको थिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?