+
+
Shares

राजनीतिमा एल्गोरिदमले फस्टाएको घृणाको खेती

जुन कन्टेन्टमा धेरै इन्गेज हुन्छ, सामाजिक सञ्जालको एल्गोरिदमले त्यसैलाई पुस गर्छ । अनि मान्छे त्यसैमा धेरै अडिन्छ । जसका कारण घृणा र गालीगलोज बढिरहेको देखिन्छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ माघ १४ गते १६:०६

लेखक सीके लाल फेसबुक–एक्स–टिकटक जस्ता प्लेटफर्मलाई (अ)सामाजिक सञ्जाल भन्छन् । उनले यसो भन्नुको कारण छ– सामाजिक त यो हुँदै होइन, किनभने यो व्यक्तिपरक छ । एन्टी–सोसियल पनि भनिहाल्न मिल्दैन, किनभने यहाँ सबै एन्टी–सोसियल पनि हुँदैनन् । त्यसैले यो सामाजिक पनि होइन, असामाजिक पनि होइन । बरु यो ए–सोसियल (अंग्रेजी) हो ।

यसलाई नेपालीकरण गर्दा आफूले ‘(अ)सामाजिक’ भन्ने गरेको सिके लालले बताउने गरेका छन् ।

पत्रकार सुधीर शर्माको पडकास्टमा उनले गरेको यो तर्क आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारबाजीसम्म आइपुग्दा करिबकरिब सही साबित हुन थालेको देखिन्छ । सञ्जालमा राजनीतिक तर्क र बहसभन्दा पनि व्यक्तिकेन्द्रित प्रचार धेरै छ, त्यसमा पनि एकोहोरो गालीगलोज बढेको देखिन्छ ।

जस्तो, २० जनवरीमा सामाजिक सञ्जाल फेसबुकमा बुस्ट नै गरेर एउटा कन्टेन्ट पोस्ट भयो । आशिष खड्का नामको ह्यान्डलबाट गरिएको उक्त पोस्टमा लेखिएको छ – फ* स्वतन्त्र पार्टी । फ* बालेन्द्र शाह हो कि के हो । फ* रवि लामिछाने । फ* नाइके प्रचण्डे । लभ नेपाल ।

उनको यो पोस्ट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री उम्मेदवारमा प्रोजेक्ट गरेका नेता बालेन शाहबाट प्रभावित भएर गरेको देखिन्छ ।

केही समयअघि काठमाडौं महानगरपालिकाको तत्कालीन मेयर रहँदा बालेनले यस्तै भाषाशैलीमा सामाजिक सञ्जालमा लेखेका थिए । विभिन्न राजनीतिक दल र विदेशी राष्ट्रलाई सम्बोधन गर्दै उनले गाली गरेका थिए । यद्यपि, बालेनको त्यो पोस्ट सोही रात डिलिट भयो । उनकै शैलीमा बालेनमाथि नै गाली गरिएर लेखिएको आशिषको उक्त पोस्टको विज्ञापन पनि अहिले एक्टिभ छैन । मेटाले त्यो ‘एड रिमुभ्ड’ भएको जनाएको छ ।

आशिष खड्काले उक्त पोस्टको विज्ञापन चलाउँदा करिब एक मिलियन प्रयोगकर्तामा पुर्याउने टार्गेट गरेका थिए । तर सो विज्ञापन फेसबुकले एक घण्टाभन्दा धेरै चल्न दिएन । मेटा एड लाइब्रेरीमा हेर्दा उक्त एड करिब एक घण्टा मात्र एक्टिभ भएको छ ।

यसरी सके एल्गोरिदममै खेलेर आफ्नो पोस्टमा रिच पुर्याउने, नभए ‘पेड क्याम्पेन’ नै चलाउने प्रवृत्ति बढ्दो छ । अझ चुनावी छेको पारेर सामाजिक सञ्जालमा पैसा तिरेर बुस्ट गर्ने नेताहरूकै संख्या पनि बढ्दो देखिन्छ । यो आफैँमा एउटा व्यवसायको रूपमा अघि बढिरहेको छ । यसकै आडमा बढ्दै छ– घृणा राजनीति ।

दलका शीर्ष नेतादेखि कार्यकर्ता तहसम्म घृणाको बाढी देखिन्छ । फेक आईडीबाट हुने गालीगलोज बढ्दो छ ।

जानकारहरूका अनुसार, सूचना–प्रविधिको यो समयमा जसले एल्गोरिदम बुझेर काम गर्छ, ऊ नै छिटो मतदातासम्म पहुँच राख्न सफल हुन्छ । आफ्ना कुरा सुनाउन भ्याउँछ । त्यसैले नेताहरू एल्गोरिदमको आडमा आफ्नो प्रचारबाजीमा लागिपरेका देखिन्छन् । ‘डिजिटल इन्फ्लुएन्स’ बढाउन सामाजिक सञ्जालमा सक्रिय साइबर समूहहरू नै बनाएका छन् । ‘पोलिटिकल मार्केटिङ’ गराउने केही कम्पनीले त साइबर टोली नै बनाएर आफ्ना नेता जिताउने अभियान चलाएको देखिन्छ ।

‘हामीले जसरी हुन्छ, आफूलाई ‘पे’ गर्ने नेतालाई जिताउने हो । यसको लागि कस्ता कन्टेन्ट फाल्नेदेखि साइबर सेना नै प्रयोग गरेर प्रभाव बढाउनेसम्मका काम गरिन्छ,’ बुद्धनगरमा कम्पनी खडा गरेर राजनीतिक क्याम्पेन चलाइरहेका एक सञ्चालक भन्छन् । आफूहरूले सामाजिक सञ्जालको एल्गोरिदममा खेलेर सम्बन्धित नेतालाई जिताउन क्याम्पेन चलाउने रणनीति अख्तियार गर्ने ती सञ्चालकले अनलाइनखबरसँग बताए ।

यही सञ्जालको एल्गोरिदममा टेकेर घृणाको खेती गर्ने अभ्यास भने नयाँ होइन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘आइटी सेल’बाट प्रभावित भएका नेताहरूले नेपालमा पनि सोही रणनीति अनुशरण गर्न थालिसकेको निकै भयो ।

जस्तो, साइबर सेना बनाएर खटाउने कामको सुरुवात नै एमालेले गर्यो । एमाले महेश बस्नेतको नेतृत्वमा साइबर सेना नै गठन गरेर सामाजिक सञ्जालमा आक्रामक भएको थियो । त्यसको केही समयपछि एमालेमै रहँदा नेता प्रभु शाहले ‘आईटी आर्मी’ गठन गरे । सामाजिक सञ्जालमार्फत क्रियाशील हुने योजनामा गठन भएका यस्ता समूहलाई पछि अन्य दलहरूले पनि अघोषित रूपमै भए पनि लागु गर्न थाले ।

सोही क्रम अहिले झन् बढ्दो अवस्थामा छ । कतिले त आफूलाई मन परेका नेताको आलोचना गर्नेलाई मेसेजमा समेत तथानाम गाली दिइरहेको गुनासो सञ्जालमा भेटिन्छ । एकअर्काको विचार र समर्थनलाई लिएर विपक्षीले अपशब्दसम्म प्र्रयोग गर्न थालेका कयौँ उदाहरण सामाजिक सञ्जालमा भेटिन्छन् । सञ्जालमा एजेन्डा कम, गाली धेरै सुनिएको भन्दै चिन्ता पनि सञ्जाल भित्रै देखिन्छ ।

त्यसैकारण कतिपय नेताहरूले एकअर्कालाई गाली नगरी चुनावी प्रचारमा उत्रनसमेत भनेका छन् । नेपाली कांग्रेसले अरूलाई तथानाम गाली नगर्न कार्यकर्ता पंक्तिलाई अनुरोध गरेको छ । रास्वपा नेता बालेन शाहले पनि अरूलाई गाली गर्ने समयमा आफूलाई बलियो बनाउन भनेका छन् ।

शुक्रबार तेह्रथुममा पार्टीका उम्मेदवार तथा कार्यकर्तासँग छलफल गरेका बालेनले भनेका थिए, ‘कसैलाई गाली नगर्नुहोला, कुनै पार्टीको कुनै नेतालाई गाली नगर्नुहोला, गाली गरेर काम छैन, गाली गरेर हुने पनि केही छैन, अरूलाई गाली गर्ने समयमा बरु आफूले के गर्न सकिन्छ त्यो कुरा राखिदिनुभयो भने चाहिँ चुनाव राम्रै हुन्छ ।’

तर, बालेनले भन्दैमा सामाजिक सञ्जालमा यो क्रम किन रोकिन्थ्यो ? रास्वपाकै नेता भनिएका कमेडियन हिमेश पन्तले सोमबार मात्र सञ्जालमा कसैलाई उद्धृत गर्दै लेखेका छन्, ‘केपी ओली अत्यन्त महत्वपूर्ण व्यक्ति हुनुहुन्छ देशका लागि ! त्यसकारण उहाँलाई जतनसाथ माटो मुनि गाडिदिनुपर्छ ।’

कार्यकर्ता तहमा यो हुँदै गर्दा नेतृत्व तह पनि सम्हालिएको देखिँदैन । जस्तो, तेह्रथुममा आफूले समर्थकलाई भनेको भावनाविपरीत बालेन आफैँ सञ्जालमा प्रस्तुत भए । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक आह्वानलाई स्वीकार्दै आफू विभिन्न दलबाट प्रधानमन्त्री प्रोजेक्ट भएका व्यक्तिबीच ‘पब्लिक डिबेट’ गर्न तयार रहेको सन्देश दिए । सोही पोस्टमा प्रतिक्रिया दिँदै बालेनले भनिदिए– ७६ जनाको हत्यारा र उसको मतियारसँग मञ्च सेयर गर्दिनँ ।

भदौ २३ र २४ गतेको घटनालाई लक्षित गर्दै बालेनले थप लेखेका थिए, ‘तपार्इंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो ।’ यसरी पुष्टि नभइसकेको र अनुसन्धान जारी रहेको विषयमा लान्छित गर्नुलाई चुनावी आचारसंहिता विपरीत भएको ठानिन्छ । निर्वाचन आयोगले पनि उक्त कमेन्टलाई लिएर बालेनसँग स्पष्टीकरण मागिसकेको छ ।

बालेनका प्रतिस्पर्धी ओली पनि कम्ती छैनन् । उनले बालेनभन्दा अगाडि नै भदौ २३ र २४ गतेको घटनामा कित्ताकाट गरेझैँ पोस्ट गरेका थिए । सार्वजनिक बहस गर्न तयार रहेको बताउँदै ओलीले ‘नयाँ–पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउनेतर्फबाट मैदानमा छ’ भन्दै लेखेका थिए ।

‘देश जलाउने र देश बनाउने’ भनेर कित्ताकाट गरिदिएका ओलीले भदौ २४ को घटनामा बालेनलाई अप्रत्यक्ष रूपमा दोषी देखाएका छन् । यसले प्रधानमन्त्रीमै प्रोजेक्ट भएका शीर्ष नेताहरू नै कसरी गालीगलोजमा उत्रिएका छन् र व्यवहारबाट हेट स्पिचलाई बढवा दिइरहेका छन् भन्ने स्पष्ट देखिन्छ ।

सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापाका प्र्रतिस्पर्धी अमरेश सिंहका बोली–व्यवहार पनि उस्तै देखिन्छ । बालेनलाई देशका महानायक भन्दै उनले यदि बालेनले हारे आफूले आत्मदाह गर्ने भन्दै हिंसात्मक धम्की दिए ।

‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,’ उनले दोहोर्‍याएर भनेका थिए, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

अमरेशको यो अभिव्यक्ति अझै रोकिएको छैन । सर्लाही पुगेका उनले गगन थापाले सर्लाही–४ मा चुनाव जिते पनि आफूले आत्मदाह गर्ने अर्को घोषणा गरिसकेका छन् । कतिपय अन्तर्वार्तामा त उत्तेजित सुनिएका उनले अपशब्द बोल्दै आफ्ना प्रतिस्पर्धीमाथि गालीगलोज गरिरहेका छन् । उनका अन्तर्वार्ता सम्प्रेषण गर्न बाध्य कतिपय मिडियाले त उनका अपशब्द छोप्न ‘सेन्सर बिप’ नै राख्नुपरेको छ ।

त्यस्तै, एमाले नेता महेश बस्नेतले त समुदाय लक्षित टिप्पणी गरेपछि सिंगो मधेशमा एमाले रक्षात्मक बन्नुपरेको थियो ।

गत सोमबार जनकपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभामा वरिष्ठ नेता बालेन शाहले मैथिली भाषामा ‘मधेशिया छौरा’ भन्ने शब्द प्रयोग गरेका थिए । मैथिली भाषामा ‘छौरा’ शब्दको अर्थ नेपालीमा ‘केटो’ वा ‘छोरो’ हुन्छ । तर एमाले नेता बस्नेतले उक्त शब्दलाई बंग्याउँदै ‘छाउरा’ भनेर अर्थ्याए । त्यसको नेपाली अर्थ ‘कुकुरको बच्चा’ हुने भन्दै मधेशी समुदायले बस्नेतको आलोचना गर्यो ।

बस्नेतको उक्त अभिव्यक्तिलाई मधेशी समुदायप्रति अपमानजनक र घृणात्मक भन्दै सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा विरोध भयो । बस्नेतमाथि कानुनी कारबाही गर्न माग पनि भयो ।

समुदाय लक्षित घृणा फैलाउने अभिव्यक्ति एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि दिएपछि राजनीति झन् तरंग बन्न पुगेको थियो ।

केही समयअघि कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा प्रसारित एक भिडिओ अन्तर्वार्तामा ओलीले भनेका थिए, ‘दमक सफा नगरहरूमध्ये पर्छ, व्यवस्थित नगरहरूमध्ये पर्छ । यो महोत्तरी–धनुषा जस्तो अवस्थामा होइन, त्यो भन्दा धेरै एड्भान्स छ । सफा–सुग्घर बेग्लै छ । उहाँ त्यो कल्चरबाट आएको मान्छे, यस कल्चरमा… उहाँले खै यहाँ गुइँठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ, मलाई थाहा छैन ।’

यसरी पार्टीका शीर्ष तहका नेतादेखि कार्यकर्ता तहसम्म पछिल्लो समय घृणाको बाढी देखिन्छ । अझ फेक आईडीबाट हुने गालीगलोज बढ्दो छ ।

देशका प्रधानमन्त्री भइसकेका व्यक्तिबाट समेत यस्ता टिप्पणी आउनु अत्यन्तै दु:खद रहेको बताउँछन्, समाजशास्त्री डा. दिपेश घिमिरे ।

घिमिरेका अनुसार, नेताहरूको यो उग्र भाषणले सामाजिक सहिष्णुता र बहुलवादलाई कमजोर बनाउँछ । यस्तो राजनीतिक संस्कार देखेका नयाँ पुस्तालाई घृणा र अपमान नै राजनीतिको हिस्सा रहेछ भन्ने सिकाउँछ ।

‘एकदमै गलत ट्रेन्ड बढिरहेको छ । घृणाजन्य अभिव्यक्तिलाई पनि सामान्य ठानेर गालीगलोज गरेको देखिन्छ, त्यो पनि शीर्ष भनिएकै नेताहरूबाट । यसले आउँदो पुस्तामा राजनीति भनेकै यस्तै रहेछ भन्ने गलत बुझाइ बनाउने डर हुन्छ, जुन कालान्तरमा हाम्रो लागि अत्यन्त घातक हुन्छ,’ घिमिरेले भने ।

के यसअघि (सामाजिक सञ्जालको प्रभाव नहुँदै) चाहिँ नेताहरू यसरी प्रस्तुत हुँदैनथे त ? जवाफमा घिमिरे थप्छन्, ‘त्यसबेला केही सीमित मिडियाहरूले सम्पादन गरेर हेट स्पिच कम फैलाउँथे । तर अहिले बिना फिल्टर सिधै दर्शकसम्म पुग्छ । पहिलाका नेताहरूले गालीगलोज नगर्ने होइन । तर अहिले प्रचार रप्रसार व्यापक भयो । यसले गर्दा गालीगलोजलाई सामान्य तरिकाले हेर्न थलिएको देखिन्छ, जुन सबैभन्दा डरलाग्दो कुरा हो ।’

एआई विज्ञ दोभान राई सामाजिक सञ्जालको एल्गोरिदमले घृणात्मक वा उत्तेजक अभिव्यक्तिलाई छिटो प्रोमोट गर्दा झन् समस्या निम्तिने बताउँछिन् । उनका अनुसार एल्गोरिदमले धेरै इन्गेजमेन्ट (लाइक, कमेन्ट, रिट्विट, सेयर) भएका पोस्टहरूलाई बढी देखाउँछ र प्रोमोट गर्छ । हेट स्पिचमा उग्र, भावनात्मक कुरा हुन्छ, जसले मानिसहरूको ध्यान तान्छ र छिट्टै भाइरल हुन्छ ।

‘जे कुरामा मान्छे धेरै इन्गेज हुन्छ, सामाजिक सञ्जालको एल्गोरिदमले त्यसैलाई पुस गर्छ,’ राईले भनिन्, ‘अनि मान्छेहरू पनि त्यस्तै कन्टेन्टमा धेरै अडिने हुन्छ । यसले गर्दा पछिल्लो समय घृणा र गालीगलोज बढिरहेको देखिन्छ ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?