+
+
Shares

झापामा सात जनालाई एमबीबीएस पढ्ने अवसर

ऋतिका मात्र होइन, झापाका सातजना विद्यार्थीले यतिबेला गृहजिल्लामै एमबीबीएस पढ्ने अवसर पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १६:५३

१४ माघ, झापा । सानैदेखि चिकित्सक बन्ने सपना बोकेकी बिर्तामोड–९ की १९ वर्षीया ऋतिका शिवाकोटीको सपना जिल्लामै बसेर साकार बनेको छ । मेचीनगरस्थित बीएण्डसी मेडिकल कलेजको पहिलो ब्याचमा चिकित्सा शास्त्र सङ्कायअन्तर्गत स्नातक (एमबीबीएस) निःशुल्क पढ्न पाउने उनी पहिलो छात्रा हुन् । उनले महिला कोटामा खुल्ला प्रतिस्पर्धा गरी पूर्ण छात्रवृत्ति प्राप्त गरेकी हुन् ।

घरछेउकै कलेजमा पढ्न पाउँदा आफ्नो सपना पूरा भएको उनी बताउँछिन् । ऋतिका मात्र होइन, झापाका सातजना विद्यार्थीले यतिबेला गृहजिल्लामै एमबीबीएस पढ्ने अवसर पाएका छन् ।

बीएण्डसी मेडिकल कलेजमा पहिलो ब्याचमा ५० जना विद्यार्थी भर्ना भएका छन् । जसमा जिल्लाका ऋतिका र देवांशु पोखरेल, चिजन कोइराला, राजेन्द्र मैनाली, निशा उप्रेती, अञ्जली शाह र आदित्य थापा रहेका छन् । सन्तानलाई घरनजिकैको कलेजमा डाक्टरी शिक्षा पढाउन पाउँदा अभिभावक पनि खुसी छन् ।

एक दशकको प्रतीक्षापछि झापामा मेडिकल कलेज सञ्चालनको पहल भए पनि बल्ल पठनपाठन सुरु भएको हो । २०८१ पुस २५ गतेदेखि एमबीबीएसको कक्षा सुरु भएको थियो । विसं २०६८ माघ १४ गते सरकारबाट आशयपत्र पाएको यस संस्थाले लामो कानुनी अड्चन खेप्नुपरेको थियो ।

अन्ततः सर्वोच्च अदालतले विसं २०८० चैत १२ गते र पुनः २०८१ जेठ २५ गते परमादेश जारी गरेपछि यस कलेजले सम्बन्धन र विद्यार्थी कोटा पाएको हो । कलेजका प्राचार्य प्रा डा उमेश शर्माका अनुसार पूर्वाधार र गुणस्तरका आधारमा यो कलेज मुलुककै उत्कृष्ट शैक्षिक गन्तव्य बन्ने लक्ष्यमा छ ।

बिर्तामोड–५ मा दुर्गा प्रसाईं, रामबाबु गिरी र इन्दिरा गिरीको करिब ६ अर्ब रुपैयाँ लगानीमा पूर्वाधार बनाई कलेज तथा अस्पताल सञ्चालनमा आएको हो । विसं २०७१ मा ३०० शय्याबाट सुरु भएको अस्पताल अहिले एक हजार शैय्यामा विस्तार भइसकेको छ ।

कलेजका जनसम्पर्क अधिकारी प्रमिश गिरीले यहाँबाट उत्पादित मेडिकल जनशक्ति मुलुकमै उत्कृष्ट हुने विश्वास व्यक्त गरे । हाल मेचीनगर–१२ धाइजनमा बेसिक साइन्स भवनमार्फत पठनपाठन भइरहेको छ भने विद्यार्थीका लागि छात्रवासको व्यवस्था गरिएको छ ।

मेडिकल कलेज सञ्चालनमा आएसँगै बर्सेनि अर्बौँ रुपैयाँ खर्चिएर मेडिकल शिक्षाका लागि विदेशिने विद्यार्थी र विदेशी मुद्रा रोकिने विश्वास लिइएको छ । आगामी वर्ष (विसं २०८२) देखि विद्यार्थी कोटा बढेर ६० पुग्ने कलेज प्रशासनले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?