+
+
Shares

प्रचण्डलाई विप्लवको जवाफ: चुनावी गठबन्धन नगर्नेले एकताको जाली कुरा गरे

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १४:३०
Photo Credit : विप्लवको सचिवालय ।
गत ९ भदौमा आफ्नोनिवास हरिसिद्धि आएका प्रचण्डलाई स्वागत गर्दै विप्लव । फाइल तस्वीर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावी गठबन्धन गर्नसमेत प्रचण्ड तयार नभएको बताएका छन्।
  • प्रचण्डले विप्लव नेतृत्वको पार्टीलाई चुनावी मोर्चामा सहकार्य गर्न तयार नभएको भन्दै कम्युनिस्ट आन्दोलनमा असफल भएको उल्लेख गरेका थिए।
  • विप्लवले सामाजिक सञ्जालमा प्रचण्डलाई जवाफ दिँदै पार्टी एकताको चर्चा जालझेलको बासी र असफल हुइयाँ मात्र भएको लेखेका छन्।

१५ माघ, काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावी गठबन्धन गर्नसमेत प्रचण्ड तयार नभएको बताएका छन् । पार्टी एकताको लागि आफूले प्रयास गर्दा पनि विप्लव तयार नभएको भन्दै प्रचण्डले अभिव्यक्ति दिएको भोलिपल्ट विप्लवको यस्तो टिप्पणी आएको हो ।

‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र  हो‌,’ प्रचण्डलाई संकेत गर्दै सामाजिक सञ्जालमा विप्लवले लेखेका छन्, ‘यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतिहारा मात्र पर्छन् ।’

विप्लव नेतृत्वको पार्टी नेकपा माओवादी परित्याग गरेका चिरञ्जीवी ढकालसहितका केही नेतालाई नेपाली कम्युनिष्ट पार्टीमा भित्र्याउने क्रममा प्रचण्डले विप्लवलक्षित प्रतिक्रिया दिएका थिए ।

जेन्जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै प्रचण्डले इतिहासमा विरलै प्राप्त हुने अवसर विप्लवले गुमाएको बताएका थिए ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विप्लवले रोल्पाबाट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर, रोल्पाबाट माओवादीले वर्षमान पुन अनन्तलाई उम्मेदवार बनायो ।

यसअघि विप्लव नेतृत्वको माओवादी पार्टीको स्थायी समिति बैठकले पार्टीको माथिल्लो तहमा रहेका नेताहरू निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको थियो ।

आफू उम्मेदवार बन्न लागेको क्षेत्रमा माओवादी गठबन्धन गर्नसमेत तयार नभएको संकेत गर्दै बुधबार विप्लवले प्रचण्डलाई जवाफ फर्काएका हुन् ।

यसअघि यी दुई पार्टीबीच एकताको लागि पटकपटक छलफल चलेको थियो । त्यसक्रममा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत भदौ ९ मा हरिसिद्धीनिवास पुगेर विप्लवसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?