News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ-४ मा पूर्वमन्त्री अमनलाल मोदी र कांग्रेस महामन्त्री गुरुराज घिमिरे फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी बनेका छन्।
- मोदीले २०७० देखि लगातार तीन पटक निर्वाचन जितेर संसदीय यात्रा ह्याट्रिक बनाएका छन् र चौथो पटक संसद् प्रवेशका लागि मैदानमा छन्।
- मोरङ-४ क्षेत्रमा १ लाख १९ हजार २५५ मतदाता छन्, जहाँ एमाले बलियो छ र २०७९ सालको स्थानीय तह निर्वाचनमा १८ वटा वडा जितेको थियो।
१५ माघ, विराटनगर । मोरङ-४ मा विगतका दुई निर्वाचनमा सहकार्य गरेका नेताहरू नै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी बनेका छन् । जसको केन्द्रमा छन् पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता अमनलाल मोदी र कांग्रेस महामन्त्री गुरुराज घिमिरे ।
२०७० सालमा २८ वर्षकै उमेरमा संविधानसभा सदस्य बनेका मोदीले त्यसपछिका दुईवटै प्रत्यक्ष निर्वाचन जितेर संसदीय यात्रामा ह्याट्रिक गरिसकेका छन् । चौथो पटक संसद् छिर्ने उनको यात्रा यसपटक ‘अग्निपरीक्षा’ जस्तै बनेको छ ।
मोदीको जितको इतिहासमा कहिले एमालेले त कहिले कांग्रेसले साथ दिएका थियो । २०७४ को निर्वाचनमा उनले वाम गठबन्धनका तर्फबाट चुनाव जित्दा नेकपा एमालेबाट जीवन घिमिरेले सघाए । उनी क्षेत्र नम्बर ४(ख)बाट विजयी भएर प्रदेशको मन्त्रीसमेत बने ।
२०७९ को निर्वाचनमा समीकरण फेरियो । तत्कालीन माओवादी केन्द्रले कांग्रेससँग तालमेल गर्दा कांग्रेस नेता गुरुराज घिमिरेले मोदीलाई सघाए । मोदी प्रतिनिधिसभाको उम्मेदवार बन्दा उनी प्रदेशसभाको उम्मेदवार बनेका थिए । मोदी जितेर संसद् पुग्दा गुरुराज प्रदेश सभा (४ क) मा पराजित भए ।
अहिले परिस्थिति फेरिएको छ । न एमालेसँग तालमेल छ, न त कांग्रेससँग । मोदी एक्लै मैदानमा छन् र उनको मुख्य प्रतिस्पर्धा पुराना सारथि जीवन घिमिरे (एमाले) र गुरुराज घिमिरे (कांग्रेस) सँग छ ।
जीवन र गुरुराज दुवै गत निर्वाचनमा प्रदेशसभामा पराजित भएका थिए । प्रदेशसभा र पार्टीको प्रदेश अधिवेशनमा सभापतिमा पराजित भएका गुरुराज राजनीतिक रूपमा ओझेल परेका थिए । तर जेनजी आन्दोलनपछि कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री बनेका उनी पुन: पार्टी राजनीतिको केन्द्रमा छन् ।
यो क्षेत्रमा नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वपत्रकार सन्तोष राजवंशीको उम्मेदवारीले प्रतिस्पर्धा पेचिलो बनेको छ ।
मोदी र घिमिरेद्वय विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारको राजनीतिमा आएका नेता हुन् । २०५६ सालदेखि माओवादीमा लागेका मोदी २०६० सालमा पक्राउ परे । उनले दुई वर्ष तीन महिना जेलमा बिताए । राजनीतिक आन्दोलनका क्रममा घिमिरेद्वय पनि पटकपटक हिरासमतमा बसेका छन् ।
१ लाख १९ हजार २५५ मतदाता रहेको मोरङ-४ थारु बाहुल्य क्षेत्र हो । ग्रामथान र कटहरी गाउँपालिका सबै वडासहित विराटनगरको १, २, ३, ८, १०, १९ बेलबारीको ५, ६ र ७ गरी जम्मा २३ वटा वडा यो क्षेत्रमा छन् ।
पुरुष मतदाता ६१ हजार १९२ र महिला मतदाताको संख्या ५८ हजार ६२ छ । १ जना अन्य मतदाता रहेका छन् । मतदानका लागि यस क्षेत्रमा ४० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र तोकिएका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले बलियो छ । यो क्षेत्रको २३ वडाहरूमध्ये एमालेले १८ वटा वडा जितेको छ । नेपाली कांग्रेसले ३ वडा र माओवादी केन्द्रले मात्र १ वडा जितेको थियो ।
२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा अमनलाल मोदीले ३० हजार ६१२ सहित विजयी हुँदा एमाले उम्मेदवार विनोद ढकालले २४ हजार ४६३ मत प्राप्त गरेका थिए ।
गत मंसिरमा भएको उपनिर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4