News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसले १६५ क्षेत्रमध्ये ८ मा मात्र विजय हासिल गरी ऐतिहासिक पराजय भोगेको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमततर्फ अग्रता लिँदा कांग्रेसका दुई महामन्त्री र दुई सहमहामन्त्री पराजित भएका छन्।
- कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले 'मतदाताको फैसला स्वीकार्य छ' भनी रास्वपालाई स्वागत गरेको बताएका छन्।
२३ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ मा लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसले अनपेक्षित परिणाम बेहोरेको छ । सबैभन्दा पुरानो लोकतान्त्रिक दल यसपालि युवा मतदाता असन्तुष्टिको शिकार बन्न पुग्यो ।
प्रारम्भिक नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट बहुमततर्फ धकेलिरहँदा कांग्रेसका ‘हेभिवेट’ नेताहरू एकपछि अर्को गरी पराजित भइरहेका छन् । यो समाचार तयार पर्दासम्म दुई महामन्त्री र दुई सहमहामन्त्रीहरू पराजित भइसकेका छन् ।
जारी मतगणनाको नतिजा प्रारम्भबाटै स्वयं सभापति गगनकुमार थापाका लागि पनि प्रतिकूल देखिएको छ । सर्लाही-४ बाट उम्मेदवारी दिएका उनी रास्वपाकै नेता डा. अमरेशकुमार सिंहलाई पछ्याइरहेका छन् ।
कांग्रेसको पराजयलाई राजनीतिक विश्लेषकहरू पुराना नेतृत्वको छवि र भ्रष्टाचारको आरोपसँग जोडेर हेरिरहेका छन् । माघ पहिलो साता विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति थापालाई कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिएको थियो ।
विशेष महाधिवेनबाट पार्टीमा आएको परिवर्तनले मतदातामाझ कांग्रेसले आशा जगाउने अपेक्षा गरेको थियो । कांग्रेसमा थापा नेतृत्वमा आइसकेपछि नयाँ ढंगले गति लिने नेताहरूको दाबी थियो ।
कांग्रेस नेतृत्वले जेनजी आन्दोलन लगत्तै आफूहरूबाट गल्ती भएको र गल्ती सुधारेर जाने प्रतिबद्धता जनाएको थियो । तर, नतिजाले त्यसलाई असफल साबित गरेको छ ।

तर, त्यसले मतदातामाझ प्रभाव नपर्नुको कारणबारे विश्लेषक सीके लाल भन्छन्, ‘सन् २०१५ देखि नै कांग्रेसले जुन बाटो समातेको थियो, त्यो बाटोको ड्राइभर कहिले सुशील कोइराला त कहिले शेरबहादुर देउवा भए पनि त्यसको सहचालक र सहयोगीमा त गगन थापाहरू पनि थिए नि ! त्यसैले त्यो पार्टीप्रतिको विकर्षण हुनु स्वाभाविक थियो ।’
सभापति थापाले कांग्रेसलाई परम्परागतबाट आधुनिक बनाउने आशा बोकेका पनि थिए । तर, निर्वाचन परिणाम पार्टी अनुकूल ल्याउन उनको रणनीति र कांग्रेसको विगतको छवि पर्याप्त प्रभावकारी नभएको देखिएको छ ।
यो समाचार तयार पार्दासम्म १ सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले आठमा मात्रै विजय निकालेर १२ स्थानमा अग्रता लिएको छ ।
यी हुन् निर्वाचित कांग्रेसी नेता
खड्कबहादुर बुढा (जाजरकोट)
भरतबहादुर खड्का (डोटी)
बासना थापा (दैलेख–१)
सन्तोष सुब्बा (तेह्रथुम)
भरतकुमार स्वार (अछाम–१)
मोहन आचार्य (रसुवा)
योगेश गौचन थकाली (मुस्ताङ)
टेकबहादुर गुरुङ (मनाङ)
‘मतदाताको फैसला स्वीकार्य’
प्रतिनिधिसभा निर्वाचनको पूर्ण नतिजा आउन अझै केही दिन लाग्न सक्छ । तर, प्रारम्भिक नतिजा कांग्रेसका लागि ऐतिहासिक हारका रूपमा चित्रित हुने सम्भावना प्रबल छ ।
यद्यपि, कांग्रेसले मतदाताको फैसला स्वीकार्य भएको बताइसकेको छ । रास्वपाले अप्रत्याशित अग्रता लिएपछि उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताइसकेका छन् ।

उपसभापति शर्माले ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागत गरेको स्मरण गर्दै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई पनि स्वागत गरेका छन् ।
‘मतदाताको फैसला स्वीकार्य छ,’ उनले भनेका छन्, ‘बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत !’
प्रतिनिधिसभा निर्वाचन २०७९ मा रास्वपाले पाएको सफलता हेर्दा अहिलेको मतपरिणाम अप्रत्याशित नभएको शर्माको भनाइ छ ।
‘२०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन,’ उपसभापति शर्माले भनेका छन्, ‘चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहने छ ।’
कांग्रेस प्रवक्ता देवराज चालिसेले मतपरिणाम अप्रत्याशित रहे पनि लोकतन्त्रप्रति प्रतिबद्ध पार्टीका रूपमा कांग्रेसले जनादेशलाई पूर्णरूपमा स्वीकार्ने बताएका छन् ।
अप्रत्याशित नतिजाका पछाडि विभिन्न कारण हुन सक्ने भन्दै उनले ती कारण गहन रूपमा बुझ्ने, आत्मसमीक्षा गर्ने र कमजोरी सुधार्ने बताए ।
कांग्रेसले इतिहासमा धेरै आरोह–अवरोह सामना गरेको भन्दै प्रवक्ता चालिसेले चुनाव परिणामले लोकतन्त्र र जनताप्रति समर्पित राजनीतिमा कुनै विचलन ल्याउन नसक्ने जिकिर गरे ।
‘हामी फेरि उठ्ने छौं, हाम्रो राजनीतिक शैली र सोचलाई परिवर्तन गर्ने छौं,’ चालिसेले भने, ‘जनताको बीचमा जाने छौं र जनताकै माझबाट फेरि विश्वासको मजबुत आधार खडा गर्ने छौं ।’
विगतका निर्वाचनमा कांग्रेसको उपस्थिति
प्रतिनिधिसभा निर्वाचन २०७९ मा कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो दल बनेको थियो । त्यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसमात्र २३ सिटमा खुम्चिनुपरेको थियो ।
अघिल्लो निर्वाचनमा कांग्रेसले तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको थियो भने २०७४ को चुनावमा वामपन्थी दलहरूले गठबन्धन गरेका थिए ।
दोस्रो संविधानसभा निर्वाचन (२०७०) मा कांग्रेसले प्रत्यक्षतर्फ २ सय ४० मध्ये १ सय ५ स्थानमा विजय प्राप्त गरेको थियो । कांग्रेसबाट ९९ पुरुष र ६ महिला उम्मेदवार निर्वाचित भएका थिए । उक्त निर्वाचनमा कांग्रेसले २ सय १५ पुरुष र २५ महिला उम्मेदवार चुनावी प्रतिष्पर्धामा उतारेको थियो ।

त्यसअघि संविधानसभा निर्वाचन २०६४ मा भने कांग्रेस ३७ सिटमा खुम्चिएको थियो । त्यसबेला २ सय ४० निर्वाचन क्षेत्रमध्येबाट कांग्रेसका ३५ पुरुष र दुई महिला उम्मेदवार मात्रै निर्वाचित भएका थिए ।
यस्तै २०५१ को मध्यावधि निर्वाचनमा कांग्रेस २ सय ५ निर्वाचन क्षेत्रमध्ये ८३ सिट जित्न सफल भएको थियो । प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो आमनिर्वाचन (२०४८) मा बहुमत ल्याएको थियो । उक्त निर्वाचनमा कांग्रेसले सबैभन्दा धेरै १ सय १० स्थान जितेको थियो ।
त्यसअघि कांग्रेसले प्रथम आमनिर्वाचन २०१५ मा १ सय ९ सिटमध्ये दुई तिहाइ बहुमत ल्याएको थियो । कांग्रेसले ७४ सिट जित्दा नेपाल कम्युुनिस्ट पार्टीले चार सिट मात्रै जितेको थियो । कांग्रेसले १ सय ८ र कम्युनिस्ट पार्टीले ४७ सिटमा उम्मेदवार खडा गरेका थिए ।
प्रतिक्रिया 4