+
+
Shares

हिपहप स्टार निकी मिनाजले ट्रम्पको प्रशंसा गर्दै भनिन् : म उहाँकी ‘नम्बर वान फ्यान’

निकीको यो नयाँ राजनीतिक अवतारले अहिले उनका फ्यानलाई दुई धारमा बाँडिदिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १६:४९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निकि मिनाजले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग ‘ट्रम्प एकाउन्ट्स’ कार्यक्रममा भेट गरी १ लाख ५० हजार देखि ३ लाख डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
  • निकि मिनाजले ट्रम्पप्रति आफ्नो समर्थन प्रकट गर्दै भनिन्, ‘म सायद राष्ट्रपतिको सबैभन्दा ठूलो फ्यान हुँ, र यो कुरा कहिल्यै बदलिने छैन’।
  • कार्यक्रमपछि निकिले सामाजिक सञ्जालमा ‘ट्रम्प गोल्ड कार्ड’ देखाउँदै आफ्नो नागरिकताको विषयमा प्रश्न उठ्ने अवस्थामा प्रतिक्रिया दिइन्।

हिपहप दुनियाँकी चर्चित गायिका निकी मिनाज हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग एउटा सरकारी कार्यक्रममा देखिइन् ।

अमेरिकी अर्थ मन्त्रालयले भर्खरै जन्मिएका बच्चाहरूको लगानीका लागि ‘ट्रम्प एकाउन्ट्स’ नामको एउटा नयाँ कार्यक्रम सुरु गरेको छ । त्यही कार्यक्रमलाई साथ दिन निकी त्यहाँ पुगेकी थिइन् ।

कार्यक्रममा सेतो भुवादार कोटमा सजिएकी निकी निकै उत्साहित देखिन्थिन् । उनले ट्रम्पको हात समात्दै आफू उनको “नम्बर वान फ्यान’ भएको समेत बताइन् । उनले यो नयाँ सरकारी लगानी योजनाका लागि आफ्नो तर्फबाट १ लाख ५० हजार देखि ३ लाख डलर (करिब २ देखि ४ करोड नेपाली रुपैयाँ) सम्म सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् ।

संगीत क्षेत्रकी हस्ती र राजनीतिक नेतृत्वको यो तालमेलले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

कार्यक्रममा बोल्दै त्रिनिडाड मूलकी यी चर्चित र्‍यापरले आफ्नो कुरा निकै प्रस्ट र निडर ढङ्गले राखिन् । उनले भनिन्, ‘म सायद राष्ट्रपतिको सबैभन्दा ठूलो (नम्बर वान) फ्यान हुँ, र यो कुरा कहिल्यै बदलिने छैन ।’

उनले आफ्नो निर्णयलाई लिएर हुन सक्ने आलोचनाको पनि कडा जवाफ दिइन् । उनले अगाडि भनिन्, ‘मानिसहरूले के भन्छन् वा कति घृणा गर्छन्, त्यसले मलाई अलिकति पनि फरक पार्दैन ।’

निकीले आफ्नो राजनीतिक अडानलाई लिएर भइरहेको आलोचनाको कडा शब्दमा प्रतिवाद गरिन् । उनले भनिन्, ‘मानिसहरूको घृणाले मलाई अझ बढी उनलाई (ट्रम्पलाई) साथ दिन हौसला दिन्छ । यसले हामी सबैलाई उहाँको पक्षमा उभिन प्रेरित गर्नेछ ।’

उनले अरूलाई पनि ट्रम्पविरुद्ध भइरहेको ‘बुलिङ’ वा अपमानको प्रतिकार गर्न आग्रह गर्दै भनिन्, ‘उनीहरूले उहाँलाई अपमान गरेर उम्किन पाउने छैनन् । यी झुटो प्रचारले केही काम गर्नेवाला छैनन् । उहाँको पछाडि ठूलो शक्ति छ र भगवानले उहाँको रक्षा गरिरहनुभएको छ ।’

राष्ट्रपति ट्रम्प पनि निकीको प्रशंसा गर्न पछि परेनन । उनले निकीलाई ‘इतिहासकै सबैभन्दा महान् महिला र्‍यापर’ को संज्ञा दिए । ठट्टाको शैलीमा ट्रम्पले निकीको लामो नङको प्रसंग निकाल्दै भने, ‘मलाई यी नङहरू मन परे, अब म पनि आफ्ना नङहरू यसरी नै पाल्नेछु ।’

यो समाचारमा अर्को एउटा निकै चर्चाको विषय थपिएको छ । कार्यक्रम सकिएपछि निकी मिनाजले सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरिन्, जसमा उनले ‘ट्रम्प गोल्ड कार्ड’ समातेको देखिन्छ । त्रिनिडाडमा जन्मिएकी निकी ५ वर्षको उमेरमा अमेरिका आएकी थिइन् ।

कतिपयले उनको नागरिकताको विषयलाई लिएर प्रश्न उठाइरहेका बेला उनले यसरी ‘गोल्ड कार्ड’ देखाउनुलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् ।

निकीको यो नयाँ राजनीतिक अवतारले अहिले उनका फ्यानलाई दुई धारमा बाँडिदिएको छ । यी र्‍यापर, जो आफ्ना चर्चित गीतहरू ‘सुपर फ्रिकी गर्ल’, ‘एनाकोन्डा’, ‘स्टारसिप’ का लागि विश्वभर चिनिन्छिन्, उनी अहिले संगीतभन्दा बढी आफ्नो राजनीतिक झुकावका कारण चर्चामा छिन् ।

आफ्नो करियरमा १२ पटकसम्म ग्रामी अवार्डको मनोनयनमा परिसकेकी निकीको ट्रम्पप्रतिको यो मोह नयाँ भने होइन ।

डिसेम्बरमा ‘अमेरिकाफेस्ट’ सम्मेलनमा पुगेर उनले सबैलाई अचम्ममा पारेकी थिइन् । त्यहाँ उनले ट्रम्प र उनको प्रशासनको खुलेर तारिफ गरिन् । एक अन्तर्वार्तामा उनले ट्रम्पलाई ‘ह्यान्डसम र ड्यासिङ’ मात्र भनिनन्, ट्रम्पका समर्थकलाई त “कुल किड्स’ को संज्ञा समेत दिइन् । निकीको यो ’राइट विङ’ राजनीतिप्रतिको झुकावले गर्दा कतिपय फ्यान खुसी छन् भने कतिपयले उनको कडा आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?