१५ माघ, काठमाडौँ । गृहमन्त्रालयले निर्वाचन आचारसंहिता परिचालन अनिवार्य गर्न निर्देशनसहित सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि र निर्वाचनको अवधिमा हुन सक्ने आचारसंहिताका उल्लंघनका घटना रोक्न आचारसंहिता पालन अनिवार्य गराउन गृहले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको हो ।
यसअघि माघ १३ मा निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, निस्पक्ष , पारदर्शी एवं विश्वसनीयरुपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाइ कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकहरुलाई आर्थिकसँग सम्बन्धित विषयमा फरक-फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।
सोहि बमोजिम गृहले सम्बन्धित जिल्लाभित्र निर्वाचन आचारसंहिता कार्यान्वयनका विषयमा प्राप्त जिम्मेवारी अनुरुप नियमित अनुगमन गरी प्रभावकारीरुपमा आचारसंहिता पालना गर्ने कार्य गर्न गराउनु र सो सम्बन्धमा गरिएका कार्यहरुको नियमितरुपमा मन्त्रालयमा प्रतिवेदन गर्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको हो।
प्रतिक्रिया 4