+
+
Shares

जेनजी आन्दोलनमा हिरासतबाट फरार, ग्याङ बनाएर उपत्यकामा लुटपाट आतंक

जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेका विनय लुटपाटका मुख्य नाइके हुन् । उनको योजनामा स्वयम्भू, बौद्ध लगायतका उपत्यकाका २७ ठाउँमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ माघ १५ गते २०:३८

१५ माघ, काठमाडौं । जेनजी आन्दोलनमा प्रहरी हिरासतबाट फरार भएका कैदीले समूह बनाएर उपत्यकामा लुटपाटको आतंक नै मच्चाएको पाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गोली चलाएर बिहीबार बिहानीपख १० जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दा यसका मुख्य नाइके नै जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार भएको खुलेको हो ।

डाँका चोरी मुद्दामा पक्राउ परी प्रहरी वृत्त महाराजगञ्ज हिरासतमा थिए, काभ्रे भुम्लु गाउँपालिका-३ घर भएका २३ वर्षीय विनय तामाङ । उनै तामाङ जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार मात्रै भएनन्, समूह नै खडा गरी उपत्यकामा लुटपाटको आतंक नै सिर्जना गरे ।

१० जनाको समूह खडा गरी उनले उपत्यकाका विभिन्न ठाउँमा शृंखलाबद्ध लुटपाट गरेको परिसरका एसएसपी रमेश थापाले बताए । ‘जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार भएका विनय नै यसका मुख्य योजनाकार हुन् । उनैले समूह खडा गरेर लुटपाट गरेको देखिन्छ,’ उनले भने ।

उनकै योजनामा रातको समयमा यो समूहले सुनका गरगहना, नगद, मोबाइल लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ ।

९ घन्टा अपरेसन चलाएर १० जना पक्राउ

रातिको समयमा सडकमा हिँडडुल गरेका व्यक्तिहरू निरन्तर लुटिने गरेको भन्दै प्रहरीमा उजुरी आउने गरेको थियो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले सीसी क्यामेरा फुटेज नियाल्दा एउटा मोटरसाइकलमा ३ जना सवार हुँदै लुट्ने गरेको पत्ता लगायो ।

त्यसपछि ९ घन्टा अपरेसन चलाएर १० लुटेरालाई पक्राउ गरेको छ । एसएसपी थापा भन्छन्, ‘बुधबार साँझ ६ बजेबाट अपरेसन सुरु गरी बिहीबार बिहान ३ बजेसम्म १० जनालाई पक्राउ गर्न सफल भएका हौं ।’

पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका-३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका-५ का २४ वर्षीय आयन माझी, मरिण-७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउराली-१ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली-१ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु-१ का १८ वर्षीय राजीव भण्डारी, रामेछापको दोरम्भा-८ का ३२ वर्षीय विशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर-३ का २९ वर्षीय फुर्वा तामाङ छन् ।

एसएसपी थापाका अनुसार मुलपानी क्रिकेट मैदान नजिकै प्रहरीले चेकिङ पोस्ट थापेको थियो । प्रहरीले रोक्न अनुरोध गर्दा पनि विनयले भने रोक्दै नरोकी प्रहरीलाई पेल्दै अघि बढेको दाबी एसएसपी थापाको छ । सो क्रममा प्रहरीलाई नै धक्कामुक्की गरेपछि जवाफी कारबाही गर्दा विनयको खुट्टामा गोली लागेको एसएसपी थापाको भनाइ छ ।

उनलाई अहिले राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गराइएको छ ।

२७ ठाउँमा लुटपाट

यसका मुख्य नाइके विनय हुन् । उनकै योजनामा स्वयम्भू, बौद्ध लगायतका उपत्यकाका विभिन्न ठाउँमा २७ पटकसम्म लुटपाट भएको पाइएको प्रहरीले बताएको छ ।

यो संख्या अझै थप हुनसक्ने प्रहरीको भनाइ छ । अहिलेसम्म ४ जनाको जाहेरी भने प्रहरीमा आएको छ । साग बेचेर फर्केका महिलादेखि, काम परेर राति हिँडडुल गरेका व्यक्तिको कानको सुन, मुन्द्रा, सिक्री, औंठी, नगद, मोबाइललगायत लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ ।

एउटा मोटरसाइकलमा तीन जना सवार हुने र लुटपाट गरेर मोटरसाइकलमै चढी फरार हुने शैली देखिएको छ । त्यसका लागि उनीहरूले साथमा खुकुरीसमेत बोक्ने गरेको पाइएको छ । प्रहरीले खुकुरी पनि बरामद गरेको छ ।

दिउँसो कार चढेर रेकी, राति मोटरसाइकमा लुटपाट

यो समूहबाट प्रहरीले एउटा कार र एउटा ट्याक्सीसमेत बरामद गरेको छ । दिउँसो उनीहरूले यही कार र ट्याक्सी चढेर रेकी गर्ने र राति लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ ।

ट्याक्सीका आफ्ना ग्राहकलाई समेत रेकी गरेर मौका मिलेमा रातिको समयमा लुट्ने यो समूहको प्रवृत्ति देखिएको प्रहरीले बताएको छ । राति भने ट्याक्सी र कार थन्क्याएर उनीहरू सबै जना एक ठाउँ भेला हुने र खाना खाएर लुटपाट गर्न निस्कने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

लुटपाटमा प्रयोग भएका ६ थान पल्सर मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । मोटरसाइकलको नम्बर प्लेट नचिनिओस् भनेर उनीहरूले नम्बर प्लेटमा हिलो छ्याप्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीले चेकिङ गरेमा हिलो लागेछ, थाहा भएन भनेर जवाफ दिने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

अधिकांश पटके अभियुक्त

अहिले समातिएका १० जना नै पटके अभियुक्त भएको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा देखिएको छ । नाइके विनय त हिरासतबाटै फरार व्यक्ति हुन् । उनी २०७९ मा चोरीमा पक्राउ परेका थिए । त्यसपछि जेनजी आन्दोलनको केही अगाडि डाँका चोरीमा पक्राउ परेका थिए ।

अर्का नाइके आयन पेसाले चालक हुन् । उनी बा १२ च ७७०१ नम्बरको गाडी चलाउँछन् । यही गाडीमार्फत दिउँसोभर रेकी हुन्छ । उनी लुट्ने बेलामा मोटरसाइकल चालक पछाडि बस्ने गर्थे । उनीविरुद्ध २०७९ पुसमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट डाँका चोरीको कसुरमा मुद्दा चलेको देखिन्छ ।

मनिष लुट्दा मोटरसाइकल चलाउने र चोरीको सामान बेच्ने व्यक्ति हुन् । सविन भने ट्याक्सी चालक हुन् । उनी पनि लुटपाट गर्दा मोटरसाइकल चलाउने व्यक्ति हुन् । उनी २०७९ मा डाँका चोरी र २०८० मा चोरीको कसुरमा पक्राउ परेका थिए ।

अर्का ट्याक्सी चालक पेमा पनि पटके अभियुक्त हुन् । लुट्ने बेलामा पीडितको मुख थुन्ने काम गर्ने उनी यसअघि २०७८ र २०७९ मा डाँका चोरीमा मुद्दा चलेका व्यक्ति हुन् ।

यसअघि आल्मोनियमको पसलमा काम गर्ने सलोन अहिले भने लुटपाटको धन्दामा छन् । राजीव पनि २०८२ मै दुई पटक डाँका चोरीमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन् । विशाल २०८२ मै डाँका चोरीमा पक्राउ परेका व्यक्ति हुन् ।

विदुर लुटपाटको गहना किन्ने व्यक्ति र फुर्वा २०७२ सालमा लागुऔषध र डाँका चोरीमा मुद्दा चलेका व्यक्ति हुन् । अहिले समातिएका पेमा र सलोन भने सहोदर दाजुभाइ हुन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?