+
+
Shares

ग्रामी अवार्ड २०२६ : नेपालबाट कति बजे हेर्ने ? खास आकर्षण के छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १४:३९
सन् २०२५ को ग्रामीमा अवार्ड लिँदै पपस्टार बियोन्से ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संगीत दुनियाँकै सबैभन्दा ठूलो ग्रामी अवार्ड २०२६ को ६८औँ संस्करण लस एन्जलसमा २ फेब्रुअरी बिहान ६ बजेर ४५ मिनेटमा सुरु हुँदैछ।
  • होस्ट ट्रेभर नोआले लगातार छैटौँ वर्ष ग्रामी होस्ट गर्दैछन् र यसपालि शोको कार्यकारी निर्माता पनि हुन्।
  • केन्ड्रिक लामारले ९ विधामा मनोनयन पाएर सबैभन्दा अगाडि छन् भने नयाँ विधा 'बेस्ट एल्बम कभर' पनि थपिएको छ।

संगीत दुनियाँकै सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड २०२६’ यो साता लस एन्जलसमा आयोजना हुँदैछ । यो ग्रामीको ६८औँ संस्करण हो, जहाँ सधैँझैँ यसपालि पनि ग्ल्यामर, ठूला स्टार र दमदार प्रस्तुति हेर्न पाइने पक्का छ ।

पप म्युजिकका चर्चित नामदेखि हिप-हपका हस्ती र नयाँ उदाउँदै गरेका कलाकार सबै एउटै मञ्चमा देखिनेछन् । हरेक वर्षझैँ यसपालि पनि फ्यानले केही यस्ता क्षणको अपेक्षा गरेका छन्, जुन संगीतको इतिहासमा सधैँका लागि यादगार रहनेछन् ।

अवार्डको साथसाथै स्टेजमा हुने लाइभ पर्फमेन्सले यो कार्यक्रमलाई अझै भव्य बनाउनेछ । अमेरिकाको लस एन्जलसमा कार्यक्रम हुँदैछ ।

अवार्ड समारोह नेपाली समयानुसार २ फेब्रुअरी सोमबार बिहान ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ । तपाईंले यसलाई डिज्नी प्लस हटस्टार र स्टार मुभिज च्यानलमा प्रत्यक्ष हेर्न सक्नुहुन्छ ।

अमेरिका र अन्य देशका दर्शकले यसलाई सीबीएस च्यानलमा राती ८ बजेदेखि ११ः३० बजेसम्म हेर्न पाउनेछन् , प्रिमियम प्रयोगकर्ताका लागि प्यारमाउन्ट प्लसमा पनि यो लाइभ स्ट्रिम हुनेछ ।

फेरि एकपटक चर्चित कमेडियन र होस्ट ट्रेभर नोआ नै अवाड्र्सको मञ्चमा छाउनेछन् । तर यसपालिको शो अलि भावुक र विशेष पनि छ । सन् २०२१ देखि लगातार ग्रामी होस्ट गर्दै आएका ट्रेभरको यो लगातार छैटौँ वर्ष हो ।

यो ग्रामी नोआको अन्तिम होस्टिङ शो हुनेछ । त्यसैले उनले यसलाई यादगार बनाउन कुनै कसर बाँकी राख्ने छैनन् । यसपालि उनी केवल होस्ट मात्र होइनन्, शोको कार्यकारी निर्माता पनि हुन् ।

पर्फर्मरहरूको कुरा गर्ने हो भने, जनवरी २६ को पत्रकार सम्मेलनपछि केही ठूला नामहरू बाहिर आएका छन् । यो पालि स्टेजमा नयाँ र पुराना कलाकारको गज्जबको मिश्रण देखिनेछ ।

सबैभन्दा ठूलो खबर त के छ भने, जस्टिन बिबर झण्डै ४ वर्षको लामो ग्यापपछि ग्रामीको स्टेजमा फर्किएका छन् । उनका फ्यानका लागि यो निकै भावुक र खुसीको पल हुनेछ ।

चर्चित गायक ह्यारी स्टाइल्स र डोचीलाई अहिलेसम्मको कन्फर्म प्रिजेन्टर (अवार्ड दिने व्यक्ति) भनिएको छ । यसपालि युवा कलाकारको पनि ठूलो लिस्ट छ । सबरीना कार्पेन्टर, क्याट्सआई, ओलिभिया डिन, लियोन थोमस, एडिसन रे, सोमब्र, लोला यंग, द मारियाज र एलेक्स वारेन जस्ता उदाउँदा स्टारले पनि पर्फमेन्स दिनेछन् ।

यसपालिको ग्रामीमा र्‍यापर र पप स्टारबीच प्रतिस्पर्धा देखिन्छ । यो वर्ष र्‍यापर केन्ड्रिक लामार सबैभन्दा अगाडि छन् । उनले ‘एल्बम अफ द इयर’ सहित कुल ९ वटा विधामा मनोनयन पाएका छन् ।

पप आइकन लेडी गागा र प्रख्यात प्रोड्युसर ज्याक एन्टोनोफ दुवैले ७/७ वटा विधामा मनोनयन पाएका छन् । यी बाहेक ब्याड बनी र सबरीना कार्पेन्टर जस्ता कलाकार पनि अवार्डको दौडमा निकै अगाडि छन् ।

यसपालि आयोजकले केही रोचक परिवर्तन गरेका छन्, जसले गर्दा प्रतिस्पर्धा अझै फराकिलो भएको छ । पहिलो पटक ‘बेस्ट एल्बम कभर’ नयाँ विधा थपिएको छ । यसले संगीतसँगै कला र डिजाइनलाई पनि सम्मान गर्नेछ ।

कन्ट्री म्युजिकका फ्यानका लागि खुसीको कुरा, यसलाई अब दुई भागमा बाँडिएको छ- ‘बेस्ट ट्रेडिसनल कन्ट्री एल्बम’ र ‘बेस्ट कन्टेम्पोररी कन्ट्री एल्बम’ । सबैभन्दा ठूलो परिवर्तन चाहिँ मुख्य विधामा भएको छ ।

‘रेकर्ड अफ द इयर’, ‘एल्बम अफ द इयर’, ‘सङ अफ द इयर’ र ‘बेस्ट न्यु आर्टिस्ट’ जस्ता विधामा पहिले ५ जना मात्रै मनोनयनमा पर्थे भने अब १० जनाले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?