१६ माघ, सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौं फर्किएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पाँच दिनसम्म नेता, कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनी आज काठमाडौं फर्किएका हुन् ।
१२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए ।
पार्टीले भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सारेका सभापति थापालाई सर्लाही आगमनका क्रममा पार्टी नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
पाँच दिनको बसाइमा उनी पार्टी संगठन सुदृढीकरणसँगै स्थानीय जनताका समस्या र अपेक्षा सुन्ने काममा केन्द्रित थिए ।

पार्टी कार्यकर्तासँगको भेटघाटमा सभापति थापाले सर्लाही–४ को विकास र समृद्धिका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
उनले जनतासँग निरन्तर सम्पर्कमा रहन र गुनासो तथा मागलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सर्लाही र काठमाडौं दुवै स्थानमा सम्पर्क कार्यालय खोल्ने घोषणा समेत गरे ।
सर्लाही छोड्नुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति थापाले भने, ‘यहाँ आइपुगेपछि स्नेहपूर्ण स्वागत पाएँ । काठमाडौंबाट आउँदा द्विविधा बोकेर आएको थिएँ, तर फर्किँदा भरोसा बोकेर जाँदैछु ।’
लामो समयदेखि जनताले विषय र मुद्दालाई सही ढंगले सम्बोधन गर्न सक्ने प्रतिनिधिको खोजी गरिरहेको उल्लेख गर्दै ती अपेक्षामा विश्वास दिलाउने प्रयास गरेको उनले बताए ।

त्यस्तै सभापति थापाले सर्लाहीमा तटबन्ध, उखु किसानको बाँकी भुक्तानी, कृषिजन्य उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य र कृषि प्रमुख समस्या तथा मुद्दा रहेको बताए ।
उनका अनुसार कृषि सम्बन्धी टोली सर्लाहीबाट फर्किसकेको छ भने सिँचाइसम्बन्धी टोली जिल्लामै रहेर अध्ययन गरिरहेको छ। सूचना प्रविधिसम्बन्धी टोलीसमेत ८–१० दिनभित्र सर्लाही आएर अनुसन्धान गरी सतहमा देखिएका समस्याको प्रतिवेदन तयार गर्ने उनले जानकारी दिए ।
सभापति थापा जनकपुर विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् । काठमाडौं प्रस्थान गर्नुअघि उनले जनकपुरस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए ।
भेटका क्रममा सभापति थापाले आगामी पाँच वर्ष पार्टीले मधेशका मुद्दा प्राथमिकताका साथ बोक्ने स्पष्ट पार्दै मधेशले पूर्ण विश्वास दिए नेपाली कांग्रेसको एकमना सरकार बन्ने र त्यस सरकारले मधेशका मुद्दालाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4