+
+
Shares

एप्पलको आम्दानीमा कीर्तिमान, ३ महिनामै कमायो डेढ खर्ब डलर

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १७ गते ९:१०

विश्व प्रविधि उद्योगमा एप्पलले पुनः एकपटक आफ्नो आर्थिक क्षमता, बजार प्रभाव तथा वर्चस्व प्रमाणित गर्दै किर्तिमानी आम्दानी गर्न सफल भएको छ ।

कम्पनीले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार एप्पलले सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्मको ३ महिनामा करिब १ खर्ब ४४ अर्ब अमेरिकी डलर आम्दानी गर्न सफल भएको छ । कुनै पनि त्रैमासिमा एप्पलले गरेको यो अहिलेसम्मकै किर्तिमानी आम्दानी हो ।

साथै यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६८ प्रतिशतले धेरै हो । विश्लेषकहरुका अनुसार यो नतिजा एप्पलको उत्पादन रणनीति, मूल्य निर्धारण क्षमता र विश्वव्यापी बजार पहुँचको संयुक्त परिणाम हो ।

यस त्रैमासिक अवधिमा एप्पलले ४२ अर्ब १० करोड खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो मुनाफा १५.९७ प्रतिशतले बढी हो ।

योसँगै एप्पलको प्रति सेयर आम्दानी २.८४ डलरमा पुगेको छ । विश्लेषकले यस अवधिमा एप्पलको प्रतिशेयर आम्दानी २.६८ डलर हुने प्रक्षेपण गरेका थिए ।

आईफोनको बिक्रीले मालामाल

A general view of the Apple retail store on Nanjing East Road in Shanghai, China, on January 29, 2026. (Photo by Ying Tang/NurPhoto via Getty Images)

एप्पलले कमाएको कूल आम्दानीमध्ये कम्पनीले उत्पादन गरेका विभिन्न वस्तु अर्थात् प्रडक्टहरुबाट भएको आम्दानी १ खर्ब १३ अर्ब ७० करोड डलर रहेको छ। यो अघिल्लो वर्षको तुलनामा १६ प्रतिशत वृद्धि हो ।

उल्लेखनीय त के भने यो आम्दानीमा सबैभन्दा ठूलो योगदान आईफोनको छ । आइफोन १७ लगायतका नयाँ मोडेलहरूको उच्च मागका कारण आईफोनबाट हुने आम्दानी बढेर ८५ अर्ब ३० करोड डलर पुगेको छ। यो वार्षिक २३ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष सोही त्रैमासिकमा एप्पलले आइफोन बिक्रीबाट ६९ अर्ब १० करोडमात्रै कमाएको थियो ।

विश्लेषकहरूले यस त्रैमासिकमा आइफोन बिक्रीबाट एप्पलले ७८ अर्ब ३० करोड डलर मात्रै आम्दानी गर्ने भनी गरेको प्रक्षेपणलाई सहजै पार गरेबाट प्रिमियम स्मार्टफोन सेग्मेन्टमा एप्पलको दबदबा अझै कमजोर नभएको संकेत गर्छ। मूल्य प्रतिस्पर्धा तीव्र हुँदै गएको अवस्थामा पनि उपभोक्ताहरूले एप्पल ब्रान्डका लागि उच्च मूल्य तिर्न तयार देखिएका छन् ।

आईफोनपछि एप्पलको दोस्रो ठूलो व्यवसायका रूपमा विभिन्न सेवाको क्षेत्र रहेको छ। सर्भिस खण्डबाट एप्पलले ३० अर्ब डलर आम्दानी गरेको छ ।

यसैगरी एप्पलले म्याकबाट ८ अर्ब ४० करोड डलर, आइप्याडबाट ८ अर्ब ६० करोड डलर र सरीरमा लगाउने विभिन्न खालका उपकरण अर्थात् वेयरेबल्सबाट ११ अर्ब ५० करोड डलर आम्दानी गरेको छ।

चिनियाँ बजारमा पुनरागमन, उदीयमान बजारको महत्व

यस त्रैमासिकको सबैभन्दा उल्लेखनीय पक्ष भनेको चिनियाँ बजारमा एप्पल प्रडक्टको पुनरुत्थान नै हो। चीनमा यस अवधिमा एप्पलले आफ्ना प्रडक्टको बिक्रीबाट २५ अर्ब ५० करोड डलर आम्दानी गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३८ प्रतिशतले बढी हो। पछिल्ला चार त्रैमासिकमध्ये तीनवटा त्रैमासिकमा चिनियाँ बजारमा एप्पलको आम्दानी घटेको परिप्रेक्ष्यमा अन्तिम त्रैमासिकमा देखिएको वृद्धिले चीनमा एप्पलको अवस्था अझै पनि प्रभावशाली रहेको संकेत गरेको छ।

यद्यपि स्थानीय ब्रान्डहरूको मूल्य प्रतिस्पर्धा, सरकारी नीतिगत अनिश्चितता र भू राजनीतिक तनावको वातावरणले दीर्घकालमा एप्पलका लागि चुनौती खडा गर्नसक्ने विश्लेषण गरिएको छ।

A hand holding an iPhone showing the Apple logo.

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकका अनुसार आगामी दिनमा भारत लगायतका उदीयमान बजारमा एप्पलको आम्दानीको वृद्धि निरन्तर रहनेछ। भारतमा एप्पलको आम्दानीमा वृद्धि दोहोरो अंकमा पुगेको छ। हालै एप्पलले भारतमा आफ्नो पाँचौँ रिटेल स्टोर सञ्चालनमा ल्याएको थियो। एप्पलले निकट भविष्यमा मुम्बईमा थप स्टोर खोल्ने सम्भावनाबारे पनि अध्ययन गरिरहेको छ।

भारत लगायतका विकाशशील देशका बजारहरुमा एप्पलको खुद्रा उपस्थितिको विस्तार हुनु र स्थानीय रुपमै एप्पलका कारखानाहरु समेत खुल्नुले दीर्घकालमा एप्पलको बजार हिस्सा विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ।

एआई रणनीति र भविष्यको दबाब

विश्वमा पछिल्लो समयमा एआई डेटा सेन्टरहरूको तीव्र विस्तारसँगै मेमोरी चिप्सको माग बढ्दै गएको छ । यसले स्मार्टफोन, ल्यापटप तथा अन्य ग्याजेटहरुको लागत बढ्न सक्ने सम्भावना देखाएको छ।

यसैबीच एप्पलले स्टार्टअप कम्पनी क्यू डट एआई अधिग्रहण गर्ने तयारी गरिरहेको खबर समेत सार्वजनिक भएको छ। एप्पलले करिब २ अर्ब अमेरिकी डलरमा उक्त स्टार्टअप खरिद गर्नेछ। यस प्रविधिले एप्पललाई एआई क्षेत्रमा थप ससक्त तथा प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

स्मरण रहोस् एप्पलले आफ्ना ग्याजेटहरुलाई एआईको क्षेत्रमा थप ससक्त बनाउन गुगलको जेमिनाई मोडेल र क्लाउड प्रविधि प्रयोग गर्ने घोषणा गरिसकेको छ। यद्यपि, पूर्ण रूपमा परिमार्जित सिरी सार्वजनिक गर्न भएको ढिलाइले एआई प्रतिस्पर्धामा एप्पल केही पछि परेको विश्लेषण गरिएको छ।

विश्लेषकहरुका अनुसार एप्पलको पछिल्लो त्रैमासिक नतिजाले कम्पनीको व्यवसायिक मोडल अझै मजबुत रहेको देखाउँछ। आईफोन बिक्रीमा आधारित उच्च आम्दानी, चिनियाँ बजारको पुनरुत्थान र उदीयमान बजारमा भईरहेको विस्तारले छोटो अवधिमा एप्पललाई सुरक्षित बनाएको छ। तर, दीर्घकालीन प्रतिस्पर्धामा टिकिरहनका लागि भने एआई क्षेत्रमा ठोस प्रगति गर्नुपर्ने चुनौती एप्पलका अगाडि खडा भएको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?