+
+
Shares
फर्केर हेर्दा :

मध्यावधि निर्वाचन २०५१ : संसदीय राजनीतिको विकृति भित्र्याउने चुनाव

प्रधानमन्त्री देउवाले सत्ता जोगाउन पाँच मन्त्री र एक जना सांसदलाई बैंकक (थाइल्यान्ड) र सिंगापुर पठाएको र विरोधमा विपक्षीहरूले संसद् अवरूद्ध गरेको विषय अहिले पनि बेला बखत चर्चा भइरहन्छ । 

केशव सावद केशव सावद
२०८२ माघ १७ गते १०:०४

१७ माघ, काठमाडौं । ऐतिहासिक जनआन्दोलन–२०४६ को बलमा प्रजातन्त्र पुनर्बहालीपछि २०४८ वैशाख २९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले एकल बहुमत ल्यायो ।

सबैभन्दा धेरै ११० सिट (२०५ मध्ये) जितेको कांग्रेसले संसदीय दलको बैठकमार्फत् २०४८ जेठ ९ मा महामन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउने निर्णय गर्‍यो ।

मोरङ–१ र सुनसरी–३ बाट शानदार ढंगले संसदीय यात्राको सुरूवात गरेका कोइराला २०४८ जेठ १२ गते प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । कोइराला सरकारले सत्ता सम्हालेको एक महिनामै (१६ असार) कर्मचार आन्दोनलको सामना गर्नुपर्‍यो ।

कर्मचारी आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री कोइरालाले एकैपल्ट आठ जना सचिवलाई हटाइदिए भने कयौं कर्मचारीलाई सरूवा गरिदिए । उनको कार्यशैलीप्रति कांग्रेसभित्रै असन्तुष्टि बढ्न सुरू भयो । पार्टी र सरकारबीच समन्वय र सहकार्य भएन ।

पत्रकार रामकृष्ण भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’ अनुसार सहमतिविपरीत राज्यमन्त्री नियुक्त गर्नेदेखि कर्मचारी निकाल्ने गरेकोमा प्रधानमन्त्री कोइरालाप्रति लौहपुरूष गणेशमान र सन्त नेता कृष्णप्रसाद भट्टराई खुशी थिएनन् । विवाद बढ्दै गयो ।

पार्टीमा चुलिएको तिक्तताका कारण २६ असार २०५१ मा सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रम अस्वीकृत भयो । प्रस्तावको पक्षमा ७४ र विपक्षमा ८६ मत परेको थियो ।

‘विपक्षी दलका सदस्यहरूका साथै सत्तारूढ दल नेपाली कांग्रेसका ३९ जना सांसदहरू मतदानमा अनुपस्थित रहेका थिए ।

सो बैठकमा सभामुख दमननाथ ढुंगानासमेत अनुपस्थित रहेकाले अध्यक्षता उपसभामुख महन्थ ठाकुरले गरेका थिए,’ ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ (भाग–१)मा भनिएको छ, ‘यसरी सरकारको नीति तथा कार्यक्रममा सत्तारूढ दल नेपाली कांग्रेसका नै विद्रोही सांसद सदस्यहरूको नै अनुपस्थितिको कारण अस्वीकृत/पराजित भएको थियो ।’

पुस्तकका अनुसार सरकारद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा अस्वीकृत भएपछि र सरकार अल्पमतमा परेपछि विपक्षी दलका नेताहरू प्रधानमन्त्री कोइरालाको राजीनामा माग्न थाले ।

प्रधानमन्त्री कोइरालाको विरोध र राजीनामाको मागले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गइरहेको थियो । गिरिजाप्रसादको हठी र पदलोलुप चरित्रले एकातिर कांग्रेसलाई नै असर परिरहेको थियो भने अर्कोतिर उनको अलोकप्रियताको ‘ग्राफ’ ले दिनानुदिन उचाइ लिइरहेको थियो ।

अन्तत: प्रधानमन्त्री कोइरालाले २६ असार २०५१ मा वक्तव्य जारी गरेर पदबाट राजीनामा दिए । राजीनामा पत्रमा उनले निर्वाचनबिना अर्को स्थिर सरकार गठन हुने सम्भावना नदेखेको भन्दै मध्यावधि निर्वाचनको मिति तोक्न पनि सिफारिस गरे ।

सोही दिन राति ९ बजेर २० मिनेट जाँदा राजा वीरेन्द्रबाट कोइरालाको राजीनामा स्वीकृत भयो । उनले एक दिनपछि (२७ असार) मा प्रधानमन्त्री कोइरालाको सिफारिसबमोजिम मध्यावधिको घोषणा गरे । जसअनुसार २०५१ कात्तिक २९ का लागि मध्यावधि (आमनिर्वाचन) निर्वाचनको मिति तय भयो ।

आमनिर्वाचनमा भाग लिन ६५ राजनीतिक दलहरूले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । जसमध्ये २४ दलले मात्रै निर्वाचनमा भाग लिएका थिए । निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र नेपाल सद्भावना पार्टीमात्रै संसदमा स्थान बनाउन सफल भए ।

कांग्रेसको आन्तरिक किचलोका कारण पाँच वर्षे कार्यकाल अगावै भएको निर्वाचनंमा एमाले संसद्मा सबैभन्दा ठूलो दल बन्न पुग्यो ।

२०५ सिटमध्ये १९६ स्थानमा उम्मेदवारी दिएको एमाले ८८ स्थान ल्याउन सफल भयो । कांग्रेस पहिलेभन्दा २७ सिट कम अर्थात ८३ सिटमा खुम्चियो । संसद्मा कुनै पनि दलको प्रष्ट बहुमत भने आएन ।

२०५१ को निर्वाचनबारे पत्रकार भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’ मा लेखिएको छ, ‘मध्यावधि निर्वाचनमा नेपाली कांग्रेस पहिलेभन्दा २७ सिट कम अर्थात ८३ सिटमा थन्कनु पर्‍यो । चुनावले नेकपा एमालेलाई सबैभन्दा ठूलो दलका रूपमा उभ्यायो । उसले २०४८ सालको तुलनामा कुल मत एक प्रतिशत बढायो । तर, सिट संख्या भने पहिलेभन्दा १९ सिट बढी अर्थात ८८ पुर्‍यायो । संसद्मा बह्मत नपुगे पनि ऊ संसद्को सबैभन्दा ठूलो दल भयो ।’

निर्वाचन आयोगको तथ्यांकअनुसार मध्यावधि निर्वाचनमा कुल मतदाता एक करोड २२ लाख ९६ हजार २१९ थिए । जसमध्ये ७९ लाख २५ हजार ३४८ मत खसेको थियो । कुल खसेको मतमध्ये दुई लाख ४१ हजर ७१ मत बदर भएको थियो ।

संसद्मा ११२ नयाँ अनुहार

मध्यावधिपछिको संसद्को पाँच वर्षे कालखण्ड नेपालको राजनीतिमा सबैभन्दा बदनाम मानिन्छ । यो कालखण्डमा नेताहरूले सत्ता हत्याउन अनेक हथकण्डा अपनाएका थिए

मध्यावधि निर्वाचनबाट विभिन्न क्षेत्रबाट ११२ जना नयाँ अनुहार निर्वाचित भएर संसद्मा पुगे । नयाँ अनुहारमा एमालेका ५१, कांग्रेसका ३४, राप्रपाका १७, नेमकिपाका ३ र सद्भावनाका १ तथा स्वतन्त्र ६ जना थिए । उक्त निर्वाचनबाट २०४८ मा सांसद रहिसकेका ९३ जना नेताहरू पुन: सांसदमा विजयी भए ।

‘यस आमनिर्वाचनमा अघिल्लो प्रतिनिधि सभामा निर्वाचित २०५ मध्ये ११२ जना नयाँ र ९३ पुराना सांसद निर्वाचित भए,’ २०५६ भदौमा प्रकाशित ‘अन्तराष्ट्रिय मञ्च’ पत्रिकामा लेखिएको छ, ‘नयाँ अनुहारमा नेकपा एमालेका ५१, नेपाली कांग्रेसका ३४, राप्रपाका १७, नेमकिपाका ३ र सदभावनाका १ तथा स्वतन्त्रका ६ जना रहेका छन् ।’

महिला उम्मेदवारको प्रतिनिधित्व

आसन्न प्रतिनिधिसभा निर्वाचनमा विघटित प्रतिनिधिसभामा ठूला भनिएका दलहरू महिला आकांक्षीहरू प्रति उदार देखिँदैनन् । फागुन २१ मा हुन गइरहेको निर्वाचनका लागि १६५ क्षेत्रमध्ये एमालेले १२, कांग्रेस र नेकपाले ११/११ जना महिलालाई उम्मेदवार बनाएका छन् ।

तर, आजभन्दा ३१ वर्षअघि सम्पन्न मध्यावधि निर्वाचनमा पनि कांग्रेस र एमालेले ११–११ महिला उम्मेदवारहरू खडा गरेका थिए । जसमध्ये एमालेका ३ र कांग्रेसका ४ महिला सांसद निर्वाचित भएका थिए ।

यस्तै राप्रपाबाट १३, सद्भावनाबाट ९, राष्ट्रिय जनमुक्ति पार्टी र संयुक्त जनमोर्चाबाट समान ६/६, नेमकिपा र राष्ट्रिय जनता परिषद्बाट ४/४ जना महिला उम्मेदवार थिए ।

नेकपा मार्क्सवादी र नेकपा संयुक्तले ३/३ जना, जनवादी मोर्चाले २, युनाइटेड पिपुल्स पार्टी र राष्ट्रिय जनता पार्टीले १/१ जना महिला उम्मेदवार उठाउँदा १२ जना महिला स्वतन्त्र उम्मेदवार थिए ।

‘अन्तराष्ट्रिय मञ्च’ को २०५६ भदौमा प्रकाशित अंकअनुसार मध्यावधि निर्वाचनमा महिला उम्मेदवारको कुल संख्या ८६ थियो ।

‘आमनिर्वाचनमा नेकपा मसालले पहिलो पटक भाग लिएर २ जना सांसद विजयी बनेका थिए । तर उनीहरूको चुनावी मोर्चा निर्वाचन आयोगमा दर्ता नभएका कारण उनीहरूलाई स्वतन्त्र उम्मेदवारको रूपमा मान्यता दिइयो,’ उक्त अंकमा उल्लेख छ ।

प्रतिनिधिसभामा महिला सांसदको उपस्थिति

आमनिर्वाचन २०५१ मा सात जना महिला उम्मेदवार विजयी भएका थिए । संवैधानिक व्यवस्थाअनुसार निर्वाचनमा पाँच प्रतिशत महिला उम्मेदवार हुनै पर्ने बध्यात्मक व्यवस्था थियो ।

निर्वाचनमा कांग्रेस र एमालेले ११/११ जना महिला उम्मेदवार उठाएका थिए । जसमध्ये कांग्रेसबाट चार र एमालेबाट तीन गरी सात जना विजयी भएका थिए ।

कांग्रेसका चार जना महिला उम्मेदवार निकटतम प्रतिद्वन्द्वी बन्न सफल भएका थिए । यस्तै एमालेका तीन महिला उम्मेदवार निकटतम प्रतिद्वन्द्वी भएका थिए ।

विजयी महिला उम्मेदवार

नाम पार्टी निर्वाचन क्षे
शैलजा आचार्य नेपाली कांग्रेस मोरङ–७
लीला कोइराला नेपाली कांग्रेस धनुषा–२
मीना पाण्डे नेपाली कांग्रेस सर्लाही २
कमला पन्त नेपाली कांग्रेस गोरखा २
साहना प्रधान नेकपा एमाले काठमाडौं ६
विद्यादेवी भण्डारी नेकपा एमाले काठमाडौं ६
लीला श्रेष्ठ नेकपा एमाले सुनसरी १

स्रोत : निर्वाचन आयोग

उम्मेदवारले खर्च गर्न पाउने रकम १ लाख

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि काठमाडौंका १, ३, ६, ७ र ८ नम्बर क्षेत्रमा उम्मेदवारका लागि खर्चको हद २५ लाख तोकेको छ । यस्तै तेह्रथुम–१, पर्सा–१, २, ३, रसुवा, काठमाडौंका २, ४, ५, ९, १०, भक्तपुर–२, ललितपुरका तीन वटै, मनाङ, कास्की–२ र रूकुम पूर्वमा खर्चको हद २७ लाख निर्धारण गरिएको छ ।

आयोगले झा–१ र ४, मोरङ–४, ५ र ६, सप्तरी, सिराहा, धनुषा, महोत्तरी र रौतहटका सबै निर्वाचन क्षेत्र, चितवन–२, बाँके–२ र ३, दैलेख, अछाम र कञ्चनपुरका सबै, कैलालीको ५ बाहेकका क्षेत्रलगायतमा खर्चको हद २९ लाख निर्धारण गरेको छ ।

यस्तै इलाम–१ र २, सुनसरी–१ र २, धादिङ १ र २, स्याङ्जा–१, गुल्मी–१, कपिलवस्तु–१ र २, दाङ २ र ३, सुर्खेतका दुबै, बाजुरा, डडेल्धुरासहितका क्षेत्रमा उम्मेदवारले अधिकतम ३१ लाख रुपैउाँ खर्च गर्न सक्ने आयोगले जनाएको छ ।

तर, आमनिर्वाचन–२०५१ मा आयोगले उम्मेदवारले खर्च गर्न पाउने रकमको हद एक लाख र धरौटी रकम तीन हजार निर्धारण गरेको थियो । उक्त निर्वाचनमा सात हजार ४१२ मतदान केन्द्र थिए । निर्वाचनमा संलग्न कर्मचारी संख्या ७४ हजार ४७३ थियो । सुरक्षा कर्मचारीको संख्या एक लाख थियो ।

निर्वाचन आयोगको तथ्यांकअनुसार मध्यावधि निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार काठमाडौं–१ मा १८ जना थिए । सबैभन्दा बढी उम्मेदवार भएको जिल्ला काठमाडौं थियो । यहाँ ९४ जना उम्मेदवार थिए ।

आयोगका अनुसार तत्कालीन समयमा मोरङ र काठमाडौंमा ७ तथा झापामा ६ वटा निर्वाचन क्षेत्र थिए । ५ निर्वाचन क्षेत्र भएका ६, ४ निर्वाचन क्षेत्र भएका ९, ३ निर्वाचन क्षेत्र भएका १९, २ निर्वाचन क्षेत्र भएका २४ र एकमात्र निर्वाचन क्षेत्र भएका १४ जिल्लाहरू थिए ।

मध्यावधि निर्वाचन २०५१ : संक्षिप्त झलक

  दलको नाम उम्मेदवार संख्या जितेको संख्या प्राप्त मत
नेकपा एमाले १९६ ८८ २३,५२,६०१
नेपाली कांग्रेस २०५ ८३ २५,४५,२८७
राष्ट्रिय प्रजातन्त्र पार्टी २०२ २० १३,६७,१४८
नेपाल सद्भावना पार्टी ८६ ०३ २,६५,८४७
नेपाल मजदुर किसान पार्टी २७ ०४ ७५,०७२
स्वतन्त्र ३८५ ०७ ४,७१,३२४
संयुक्त जनमोर्चा ४९ १,००,२८५
राष्ट्रिय जनमुक्ति पार्टी ८२ ७९,९९६
नेकपा संयुक्त ३४ २९,२७३
नेकपा माक्र्सवादी ४९ २९,५७१
राष्ट्रिय जनता परिषद् २८ ८,९३१
नेपाल जनवादी मोर्चा ४१ ३२,७३२
जनवादी मोर्चा नेपाल ३,६८१
प्रजातान्त्रिक लोकदल १० ३,०८२
ने. का. विश्वेश्वर १० १२,५२१
नेपाल प्रजा परिषद् ०७ १,८३२
राष्ट्रिय जनता पार्टी ०७ १,५२५
युनाइटेड पिपुल्स पार्टी ०९ १,३४६
नेपाली कांग्रेस सुवर्ण ०४ ४८४
नेपाल जनहित पार्टी ०२ १५६
नेपाली कांग्रेस बीपी ०२ ४०४
जनता दल (सप्र) ०१ १८
लिवरल डेमोक्रेटिक पार्टी ०१ १८
संयुक्त प्रजातान्त्रिक पार्टी ०१ २१८
रेडिकल ने.का. ०१ ५३

स्रोत : निर्वाचन आयोग

उम्मेदवारबीचको मतान्तर मात्रा ११ देखि १६ हजारसम्म

मध्यावधि निर्वाचनमा सिट संख्यामा दोस्रो भएपनि देशभर प्राप्त मतका आधारमा कांग्रेस ठूलो दल थियो । २५ लाख ४५ हजार २८७ मत पाएर कांग्रेस सबैभन्दा धेरै मत पाउने दल बन्दा सबैभन्दा कम मत पाउने दल लिबरल डेमोक्रेटिक पार्टी भएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार यो दलले जम्मा १८ मत प्राप्त गरेको थियो । यस्तै गरी दुई अंकमा मत प्राप्त गर्ने अर्को पार्टी थियो–रेडिकल नेपाली कांग्रेस ।  यसले प्राप्त गरेको कुल मत संख्या ५३ थियो ।

मध्यावधि निर्वाचनमा एमाले उम्मेदवार मानमोहन अधिकारी काठमाडौं–१ बाट सबैभन्दा बढी मत ल्याउन सफल भएका थिए । उनको पक्षमा २५ हजार ६७२ मत खसेको थियो ।

तनहुँ–२ बाट निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल (हाल राष्ट्रपति) सबैभन्दा बढी मतान्तरले विजय प्राप्त गर्ने सांसद बनेका थिए । उनले कुल खसेको सदर मतमध्ये २२ हजार ६३९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी बीचको मतको अन्तर १६ हजार १४६ थियो । पौडेलसँग दोस्रो भएका एमाले उम्मेदवार विश्वबन्धु भण्डारीले ६ हजार ४९३ मत पाएका थिए ।

मध्यावधिमा निर्वाचनमा सबैभन्दा कम मतान्तरले विजयी हुने सांसद रामेछाप १ बाट निर्वाचित एमाले नेता देवशंकर पौडेल थिए । १० हजार ९६८ मतसहित उनी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी लक्ष्मणप्रसाद घिमिरे (कांग्रेस) ले पौडेलको भन्दा मात्र ११ मत कम पाएका थिए । उनको पक्षमा १० हजार ९५७ मत खसेको आयोगको तथ्यांकले देखाउँछ ।

उक्त निर्वाचनमा पूर्वसभामुख दमननाथ ढुंगाना, कांग्रेस नेता सुशील कोइराला, कांग्रेस सचेतक तारणीदत्त चटौत, उद्योगमन्त्री रामकृष्ण ताम्राकारसहित कांग्रेसकै केही प्रभावशाली नेता र कतिपय मन्त्रीहरूले हारे ।

 ‘जनता परिषद्का उपाध्यक्ष कीर्तिनिधि विष्ट र नेपाल मानव अधिकार संगठनका अध्यक्ष हृषिकेश शाहको जमानत जफत भयो,’ पत्रकार भण्डारीले पुस्तकमा लेखेका छन् ।

संसदीय राजनीतिको बदनाम कालखण्ड : २०५१–२०५५

त्रिशंकु सरकारले विश्वासको मत लिएको एक साता बितेपछि २०५२ असोज १० गते संसद बैठकमै सांसदहरू बीच कुटाकुट भएको थियो । तत्कालीन समयमा सत्ता किनबेचको खेल मोजमस्ती, पजेरो–प्राडो तथा सांसदहरूको अपहरण र थुनछेकमा मात्रै सीमित थिएन

मध्यावधिपछिको संसद्को पाँच वर्षे कालखण्ड नेपालको राजनीतिमा सबैभन्दा बदनाम मानिन्छ । यो कालखण्डमा नेताहरूले सत्ता हत्याउन अनेक हथकण्डा अपनाएका थिए ।

तत्कालीन संसदीय कालखण्डको स्मरण गर्दै भण्डारीले ‘सत्ता संघर्ष’ पुस्तकमा लेखेका छन्– सत्ता हात पार्न मन्त्री, सांसदलाई प्रलोभन, विदेश भ्रमण, होटलमा मोजमस्तीदेखि सांसद किनबेचका अनैतिक शृंखलाका षडयन्त्रहरू निरन्तर चलिरहे । दलहरू पनि बलिया र सग्ला रहेनन् । कांग्रेस थिलोथिलो भयो । एमाले, राप्रपा र सद्भावना पार्टी त विभाजन नै भए ।

मध्यावधि निर्वाचनपछिका पाँच वर्षमा ६ सरकार गठन भए । ती सरकारलाई पाँच जना नेताले पालैपालो चलाए । संसद्को एकै कार्यकालमा कोइराला दुईपल्ट प्रधानमन्त्री हुँदा मनमोहन अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले पालैपालो सत्ताको बागडोर सम्हाले ।

तत्कालीन प्रधानमन्त्री कोइरालाले मुलुकलाई मध्यावधिमा धकेलेपछि कांग्रेसले बहुमत गुमायो । निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सकेनन् । त्यसको प्रभाव नयाँ सरकार गठनमा पर्‍यो ।

आफ्नै नेतृत्वमा भएको निर्वाचनबाट अघिल्लोपल्ट पाएको बहुमत गुमाउँदा कोइरालामा फेरि सरकार गठन गर्ने नैतिक साहस बाँकी रहेन । आफू फेरि प्रधानमन्त्री हुने छाँटकाँट नदेखिएपछि उनले देउवालाई संसदीय दलको नेता बनाए ।

कांग्रेस राप्रपासँग मिलेर देउवाको नेतृत्वमा सरकार गठनका लागि प्रयासमा थियो । तर, कांग्रेस–राप्रपा गठबन्धन दरबारले नरूचाउँदा सम्भव भएन । एमालेले अल्पमतको सरकार गठन गर्‍यो ।

२०५१ मंसिर १३ मा राजा वीरेन्द्रले एमाले अध्यक्ष मनमोहन अधिकारीलाई प्रधानमन्त्री नियुक्त गरे । उनी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने । एमाले नेतृत्वको सरकारलाई राप्रपाले बाहिरबाटै समर्थन गर्‍यो । अधिकारी नेतृत्वको सरकारलाई राप्रपासँगै कांग्रेसले पनि विश्वासको मत दियो ।

संसद्मा विश्वासको मत दिएको एक महिना नबित्दै सरकार ढाल्ने चेतावनी दिन थाल्यो । तत्कालीन समयमा कांग्रेस महामन्त्री कोइराला सार्वजनिक रूपमै ‘फु’ गरेर सरकार ढाल्ने चेतावनी दिन थाले ।

सरकारलाई बाहिरबाटै समर्थन गरेको राप्रपा भित्रभित्रै कांग्रेससँग मिल्न पुग्यो । राजनीतिक ध्रवीकरण र तीव्र चलखेलका कारण सरकार ढल्ने निश्चित देखिएपछि प्रधानमन्त्री अधिकारीले २०५२ जेठ २६ मा संसद् विघटन गरेर फेरि मध्यावधिमा जान राजासमक्ष सिफारिस गरे ।

सरकारले मध्यावधिमा जाने सिफारिस गरेको तीन दिनपछि (जेठ २९) मा विपक्षी दलसँग छलफल गरेर भोलिपल्टै मध्यावधिको घोषणा गरे । २०५२ मंसिर ७ मा फेरि मध्यावधि निर्वाचनको मिति राजाबाट घोषणा भयो ।

तर, सर्वोच्च अदालतले २०५२ भदौ १२ मा विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरिदियो । संसद् पुनर्स्थापना भएको १४ दिनपछि अर्थात भदौ २६ मा कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्री नियुक्त भए ।

राप्रपा, नेपाल सद्भावना पार्टी र एक जना स्वतन्त्र सांसदको सहयोगमा उनी प्रधानमन्त्री बने । प्रजातन्त्र पुनर्स्थापनापछिको यो नै पहिलो त्रिशंकु सरकार थियो । कांग्रेस, राप्रपा र सद्भावना पार्टीको त्रिशंकु सरकार जोगाउन प्रधानमन्त्री देउवाले गर्नुपर्ने राजनीतिक चलखेल निकै चुनौतीपूर्ण थियो ।

एमाले सरकार ढालेर नयाँ गठबन्धन बनाउँदा राप्रपासहित अन्य साना दल र स्वतन्त्र सांसदलाई महत्वपूर्ण पद, अवसर र मन्त्रीसम्मको आश्वासन दिइएको थियो । पत्रकार भण्डारीले आफ्नो पुस्तकमा लेखेका छन्– अर्थात सांसदहरूलाई पद र पैसाको प्रलोभनमा पार्ने खेल सुरू भइसकेको थियो । त्यसैअनुसार सरकारले विश्वासको मत नपाउँदासम्म सांसदहरूलाई काठमाडौंको शंकर होटलमा निगरानीमा राखेर मोजमस्ती गराइयो ।

पुस्तकमा अगाडि लेखिएको छ– कतिसम्म भने, संसद्मा विश्वासको मत लिने प्रक्रिया चलिरहँदा सत्तापक्षका सांसदहरू हराउन र बीचमै गायब हुनसक्ने डरले गोठालोले भेडाको रखवारी गरे झैं निगरानी गर्ने काम भयो । असोज २ गते संसद्मा सरकारले विश्वासको मत लिँदै थियो । तर, फ्याट्टै सांसदहरू बिक्ने वा चोरिने पो हुन् कि भनेर गोविन्दराज जोशी, भक्तबहादुर बलायर र प्रेमबहादुर भण्डारीले बैठक कक्षभित्रै गनिरहन्थे ।

त्रिशंकु सरकारले विश्वासको मत लिएको एक साता बितेपछि २०५२ असोज १० गते संसद बैठकमै सांसदहरू बीच कुटाकुट भएको थियो । तत्कालीन समयमा सत्ता किनबेचको खेल मोजमस्ती, पजेरो–प्राडो तथा सांसदहरूको अपहरण र थुनछेकमा मात्रै सीमित थिएन ।

प्रधानमन्त्री देउवाले सत्ता जोगाउन पाँच मन्त्री र एक जना सांसदलाई बैंकक (थाइल्यान्ड) र सिंगापुर पठाएको र विरोधमा विपक्षीहरूले संसद् अवरूद्ध गरेको विषय अहिले पनि बेला बखत चर्चा भइरहन्छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?