+
+
Shares

म्याग्दीमा निर्वाचन, पोखरामा प्रचार

सन्तोष गौतम सन्तोष गौतम
२०८२ माघ १८ गते ८:५९

१८ माघ, बेनी(म्याग्दी) । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरू भोट माग्न भने गण्डकी प्रदेश राजधानी पोखरा धाइरहेका छन् ।

म्याग्दीका ठुलो संख्याका मतदाता पोखरामै बस्ने भएकाले उम्मेदवारको ध्यान त्यतातिर बढी तानिएको छ । म्याग्दीका गाउँमा मतदाता नामावली भएका, तर शिक्षा, व्यापार–व्यावसाय र अन्य कामको सिलसिलामा पोखरामा बसोबास गर्ने म्याग्देलीको संख्या ठुलो छ ।

नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ शनिबार र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार अर्जुन थापा शुक्रबार पोखरा पुगेर मतदातासँग भेटघाट गरेका छन् । एमाले र नेकपासम्बद्ध म्याग्दी–पोखरा सम्पर्क समाजले पोखरामा बसोबास म्याग्देलीसँग उम्मेदवारको भेटघाट कार्यक्रम आयोजना पार्टीका लागि मत मागेका हुन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) र स्वतन्त्र उम्मेदवार डा. महावीर पुन पनि मतदाता भेटघाटका लागि समय मिलाएर पोखरा जाने तयारीमा छन् । आफ्नो क्षेत्रका मतदातामाझ पुगेर अपेक्षा, गुनासा र सुझाव सुन्ने बेला भएकाले पोखरामा बस्ने मतदातासम्म पनि पुगेको एमालेका श्रेष्ठ र नेकपाका थापा बताउँछन् ।

अघिल्लो पटक(२०७९) सम्मका निर्वाचनमा दल तथा उम्मेदवारका चुनावी प्रचारप्रसार जिल्लाभित्र सीमित थियो । यसपालि चिसोका कारण लेकाली क्षेत्रका अधिकांश मतदाता सहर पसेका छन् । त्यसैले उम्मेदवार पनि मतदाता खोज्दै सहरमै बढी समय बिताइरहेका छन् ।

जिल्लाको बेनी बजार र देशका अन्य सहरी क्षेत्रमा बस्ने मतादातासम्म पुग्न दलहरूले यसपटक आफ्ना कमिटीहरू नै बनाएका छन् । जसमा उम्मेदवारका आफन्त, साथीसंगीदेखि पार्टी कार्यकर्तासम्म सक्रिय छन् ।

भेटका क्रममा उम्मेदवारहरू मतदातालाई फागुन २१ मा भोट हाल्न जसरी पनि गाउँमा फर्किनेगरी वातावरण मिलाइदिन पनि आग्रह गरिरहेका छन् भने मतदाता भने जिल्ला र गाउँमै बसेर सहज रोजगारी र जीवनयापनको वातावरण मिलाउन भनिरहेका छन् ।

पोखरामा अस्थायी बसोबास गरिरहेका म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका झलक थापा गाउँमा नै आयआर्जन, रोजगारीको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधाको व्यवस्था मिलाउन नेताहरूको ध्यान पुग्नुपर्ने बताउँछन् ।

पोखरामै बसिरहेका धवलागिरि–१ गुर्जाका रामबहादुर छन्त्यालले उम्मेदवारको चासो भोटमा भए पनि आफ्नो चासो विकास र जनजिविकाका विषयमा भएको बताए । ‘नेताहरू भोट माग्न मात्रै आउँछन्, काम गर्दैनन् । पहिले भोट माग्न गाउँ आउँथे, अहिले हामीलाई खोज्दै सहरसम्म पुग्नथाले,’ उनले भने, ‘जनताको चासो विकास हो । हाम्रो गुर्जा गाउँमा अझैसम्म सडक पुगेको छैन । गाउँमा सहज यातायातको सुविधा भए कृषि गरेर र जडिबुटीको व्यावसाय गरेर खान सकिन्थ्यो ।’

बढ्दो बसाइँसराइ

म्याग्दीमा पछिल्लो समय बसाइसराइँको बढ्दो चिन्ता छ । बसाइँसराइकै कारण जनसंख्या र मतदाता संख्या घट्ने जोखिममा छ ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ कुल ८६ हजार ३९७ जना मतदाता कायम भएका छन् । जसमा ४२ हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना यौनिक तथा लैंगिक अल्पसंख्यक छन् । जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यो निर्वाचनमा २७७ जना मात्र मतदाता थपिएका हुन् । २०७९ को संसदीय निर्वाचनमा यहाँ ८६ हजार १२० जना मतदाता थिए ।

‘नेताहरू भोट माग्न मात्रै आउँछन्, काम गर्दैनन् । पहिले भोट माग्न गाउँ आउँथे, अहिले हामीलाई खोज्दै सहरसम्म पुग्नथाले’
–रामबहादुर छन्त्याल,धवलागिरि–१ गुर्जा

छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा आगामी निर्वाचनका लागि ८२ मतदान स्थल र १२० वटा मतदान केन्द्र कायम भएका छन् । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक र सांस्कृतिक क्षेत्रमा असर परिरहेको छ । यस्तै विकासका गतिविधि पनि प्रभावित भइरहेका छन् । विद्यालयमा विद्यार्थीको अभाव हुन थालेको छ । आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दीमा ८९ परिवार बसाइँसरेर आउँदा २४७ परिवारले थातथलो छाडेर हिँडेका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसमा समाजशास्त्र प्राध्यापक गोरखबहादुर जिसीले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा र पर्वत जिल्लामा बसाइँसराइ चिन्ताजनक रहेको बताउँछन् ।

‘गाउँमा पुगेको सडक, विद्युत्, खानेपानी, सञ्चार सुविधाले मानिसलाई रोक्न सकेको छैन,’ उनी भन्छन्, ‘गाउँमै रोजगारी र आयआर्जनको अवसर उपलब्ध भएन । यही कारण मानिसहरू सहर र सुविधा भएका क्षेत्रमा सरिरहेका छन् ।’

प्रतिस्पर्धी को–को?

एकमात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा यसपटक कांग्रेस, एमाले नेकपाबिचको मुख्य प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व मन्त्री महावीर पुनको ‘इन्ट्री’ भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवारी दिएका युवराज रोकाले पनि स्वतन्त्र उम्मेदवार पुनलाई सर्मथन गरेका छन् ।

यस्तै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले संशस्त्र संघर्षकालीन भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति क्षेत्रबहादुर घिमिरे (ध्रुब )लाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट देवेन्द्र कामी, श्रम संस्कृति पार्टीबाट विनोद राना, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालबाट तुलप्रसाद गर्बुजा उम्मेदवार छन् ।

उम्मेदवारहरूले नीति–निर्माण तहमा म्याग्दीका आवाज उठाउने, कानुनमा जिल्लाबासीको भावना र समस्यालाई सम्बोधन गर्ने, सरकारका योजना तथा बजेटमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने, पर्यटन र कृषिमार्फत रोजगारी सिर्जना तथा जलविद्युत्मा लगानीको वातावरण बनाउने मुद्दालाई जोड दिएका छन् ।

लेखक
सन्तोष गौतम

सन्तोष गौतम म्याग्दीमा क्रियाशील पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?