१८ माघ, काठमाडौं । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपा उम्मेद्वार रविन्द्र मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग १२५ मतले पराजित भए । सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मतमात्रै पाएका थिए ।
त्यतिबेला रास्वपा उम्मेद्वार पुकार बमले ४ हजार ११५ मत पाएका थिए । बमले मिश्रको मत घटाइदिएकाले सिंहलाई जित्न सहज भयो भन्ने कतिपयको धारणा छ ।
पाँचथर-१ मा पनि त्यस्तै भयो । एमालेका बसन्तकुमार नेम्वाङले ३२ हजार १३५ मत पाउँदा कांग्रेसका भीष्मराज आङदेम्बेले ३२ हजार ८९ मतमात्रै पाए । उनीहरुको चुनावी प्रतिस्पर्धा ४६ मतले तलमाथि भएको थियो । २४ जना मतदाताले आफ्नो निर्णय अर्को बनाएको भए चुनावी नतिजा नै उल्टिन्थ्यो ।
दाङ २ मा माओवादी उम्मेद्वार रेखा शर्माले २६ हजार ८८० मत पाउँदा एमाले महासचिव शंकर पोखरेलले २६ हजार ६८७ मत मात्रै पाएका थिए । १९३ मतको फरकले हेभिवेट उम्मेद्वारलाई पराजित गरेकोमा शर्माको चर्चा भइरहेको थियो । त्यसैको बलमा उनी सञ्चारमन्त्री समेत भइन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा करिब एक दर्जन उम्मेद्वारहरुले झिनो मतान्तरबाट हारजितको नतिजा व्यहोरेका थिए । त्यतिबेला कांग्रेस, माओवादी र एमालेबाट फुटेको एकीकृत समाजवादीको गठबन्धन थियो ।
संयोग कस्तो भने, झिनो मतान्तरबाट हारजित बेहोरेका प्रतिस्पर्धीहरु अहिले एकसाथ छैनन् । एक ठाउँमा बाहेक प्राय: दुवै उम्मेद्वारहरु प्रतिस्पर्धामा छैनन्, कहीँ कतैमात्र त्यतिबेलाका प्रतिस्पर्धीहरु अहिले त्यो क्षेत्रमा उम्मेद्वार बनेका छन् ।
काठमाडौं-१ कै कुरा गरौं । झिनो मतान्तरले निर्वाचित कांग्रेस सांसद प्रकाशमान सिंहले यसपालि टिकट पाएनन् । राप्रपाबाट रविन्द्र मिश्र फेरि पनि प्रतिस्पर्धामा छन् । रास्वपा उम्मेद्वार पुकार बम क्षेत्र नम्बर १ छाडेर ४ मा पुगेका छन् ।
पाँचथर-१ मा बसन्तकुमार नेम्वाङ र भीष्मराज आङदेम्बे दुवै प्रतिस्पर्धामा छैनन् । आङदेम्बे कांग्रेसको समानुपातिक सूचीमा १ नम्बरमा बसेका छन् ।
२०७९ सालमा ताप्लेजुङ–१ मा एमाले उम्मेद्वार योगेश भट्टराई र माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीबीच चर्को प्रतिस्पर्धा थियो । योगेशले २१ हजार ९४३ मत पाउँदा माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७३५ मत पाएका थिए । योगेशले बुढाक्षेत्रीलाई २०८ मत अन्तरले हराएका थिए ।
अहिले योगेश प्रतिस्पर्धामा छैनन् । एमालेले उनको साटो क्षितिज थेबेलाई टिकट दिएको छ । बुढाक्षेत्री भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उठेका छन् ।
इलाम–२ मा पनि चर्को प्रतिस्पर्धा थियो । एमाले उपाध्यक्ष समेत हरेका सुवास नेम्वाङले ३० हजार २० मत पाउँदा कांग्रेसका डम्बरबहादुर खड्काको २९ हजार ९०६ मत थियो । ११४ मतको फरकमा नेम्वाङले चुनाव जितेका थिए ।
हृदयाघातका कारण सुवासको निधन भएपछि छोरा सुहाङले उपनिर्वाचनमा प्रतिस्पर्धा गरे र फराकिलो मतान्तरले चुनाव जिते । अहिले पनि सुहाङ प्रतिस्पर्धामा छन् । कांग्रेसले डम्बरबहादुरको साटो भेषराज आचार्यलाई उम्मेद्वार बनाएको छ ।
मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बुले एमालेका घनश्याम खतिवडालाई ४३० मतले पराजित गरेका थिए । लिम्बुले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत मात्रै पाए । अहिले लिम्बु प्रतिस्पर्धामा छैनन् । कांग्रेसबाट लिम्बुको साटो खड्ग बहादुर फागो उम्मेद्वार बनेका छन् ।
अघिल्लोपटक मोरङ-२ को मतपरिणाम केही फराकिलो भए पनि चुनाव प्रतिस्पर्धात्मक नै हो । १२ सय मतान्तरको फरकमा हारजित बेहोरेका एमालेका ऋषिकेश पोखरेल र कांग्रेसका सुजाता कोइराला अहिले प्रतिस्पर्धामा छैनन् ।
त्यतिबेला ऋषिकेश पोखरेलले ३३ हजार १४८ मत पाएका थिए भने सुजाता कोइरालाले ३१ हजार ९४० मतमात्रै पाएकी थिइन् । दुवैले पाएको मत अन्तर १ हजार २०८ हो । निर्वाचित भएपछि पोखरेल लेखा समितिको सभापति भए पनि श्रीमती जोडिएको सहकारी ठगी विवाद लगायतमा मुछिए ।
पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाकी छोरी सुजाता अघिल्लो प्रतिस्पर्धामा पराजय भोगेपछि राजनीतिक सक्रियताबाट टाढा हुँदै गएकी छन् । त्यहाँ एमालेले दिलीप कुमार अग्रवाललाई उम्मेद्वार बनाएको छ भने कांग्रेसले डा. मिनेन्द्र रिजाललाई टिकट दिएको छ ।
सुनसरी-१ बाट अशोककुमार राईले ४५३ मत अन्तरले मात्रै जितेका थिए । जनता समाजवादी पार्टी, नेपालबाट प्रतिस्पर्धा गरेका उनले १७ हजार ५९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङले १६ हजार ६०६ मतमात्रै पाएकी थिएन् । जसपा नेपालले अहिले सूर्य गुरुङलाई टिकट दिएको छ । रास्वपा उम्मेद्वार गोमा भने प्रतिस्पर्धामा नै छिन् ।
अघिल्लो पटक झिनो मतान्तरले सुनसरी–४ बाट निर्वाचित कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की यसपालि पनि एमालेकै जगदिशप्रसाद कुसियतसँग भिड्दैछन् । अघिल्लोपटक कार्कीले ३० हजार ४८३ मत पाउदा कुसियतले ३० हजार ३७१ मत पाएका थिए, जुन ११२ मतले फरक हो ।
सिराहा-२ बाट जनता समाजवादी पार्टी, नेपालबाट राजकिशोर यादव निर्वाचित हुँदाको मतान्तर पनि झिनो नै मान्नुपर्छ । राजकिशोरले कांग्रेस उम्मेद्वार एवं पूर्वउपसभामुख चित्रलेखा यादवलाई ११ सय ५० मतको फरकमा पराजित गरेका थिए ।
त्यतिबेला राजकिशोरले २४ हजार १७८ मत पाउँदा चित्रलेखाले २३ हजार २८ मत पाएकी थिइन् । अहिले कांग्रेस र जसपा नेपाल, दुवै दलले फरक–फरक उम्मेद्वार प्रतिस्पर्धामा पठाएका छन् ।
धनुषा-२ मा कांग्रेस उम्मेद्वार रामकृष्ण यादवले २० हजार ११२ मत पाउदा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९५५ मत पाएका थिए । दुईबीचको फरक १५७ मत हो । त्यहाँ अहिले अरगरिया प्रतिस्पर्धामा छन् तर कांग्रेसले दिनेश प्रसाद यादवलाई उम्मेद्वार बनाएको छ ।
धनुषा-४ मा अघिल्लोपटक एमालेका रघुबीर महासेठ र कांग्रेसका महेन्द्र यादवबीच चर्को प्रतिस्पर्धा थियो । महासेठले ३२ हजार २३६ मत पाउँदा यादवले ३२ हजार ११२ मत पाएका थिए । उनीहरुबीच १२४ मतको फरक थियो । उनीहरु दुवैजना अहिले पनि प्रतिस्पर्धामा छन् ।
महोत्तरी-१ मा एमालेका लक्ष्मी कोइरीले माओवादी केन्द्रका गिरीराजमणि पोखरेललाई एक हजार ३० मतले पराजित गरेका थिए । कोइरीले २३ हजार ४०२ मत पाउँदा पोखरेलले २२ हजार ३७२ मत मात्रै पाएका थिए । कोइरी एमालेबाट नै प्रतिस्पर्धामा छन् भने पोखरेलले नेकपाबाट टिकट पाएका छन् ।
सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेतीले माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई ७७० मतले पराजित गरेका थिए । उप्रेतीले ३२ हजार १६८ मत पाउँदा कलवारले ३२ हजार १६८ मतमात्रै पाएका थिए । अहिले उप्रेती एमालेबाट प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्रले कलवारको साटो नारायणकाजी श्रेष्ठलाई उम्मेद्वार बनाएको छ ।
बारा-२ मा जनता समाजवादी नेपालका निवर्तमान सांसद हुन् रामसहाय प्रसाद यादव, जसले माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुशवाहालाई ३५४ मतले पराजित गरेका थिए । यादवले १३ हजार ८२२ मत ल्याउँदा कुशवाहले १३ हजार ४६८ मत पाएका थिए । अहिले दुवै दलहरुले उम्मेद्वार फेरेका छन् ।
पर्सा-३ मा एमालेका राजकुमार गुप्ताले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १६७ मतले मात्रै पराजित गरेका थिए । गुप्ताले २४ हजार ३१९ मत पाउँदा चौधरीले २४ हजार १५२ मतमात्रै पाएका थिए । पछि सामान्य प्रशासनमन्त्री भएका गुप्ताले घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । कांग्रेसले भने चौधरीलाई नै अघि सारेको छ ।
दोलखा-१ मा पनि अघिल्लो निर्वाचन प्रतिस्पर्धात्मक भएको थियो । त्यहाँ माओवादी केन्द्रका गंगा कार्कीले एमाले उम्मेद्वार बालकृष्ण शिवाकोटीलाई ३१५ मतले पराजित गरेका थिए । कार्कीले ३६ हजार ८२० मत पाउँदा शिवाकोटीले ३६ हजार ५०५ मतमात्रै पाएका थिए । अहिले दुवै दलले उम्मेद्वारहरु बदलेका छन् ।
काठमाडौं उपत्यकाको काठमाडौं-१ बाहेक काठमाडौं-९ र भक्तपुर-२ को निर्वाचन पनि प्रतिस्पर्धात्मक थियो ।
काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले रास्वपा उम्मेद्वार टेकबहादुर पोखरेललाई ९९५ मतले पराजित गरेका थिए । एमालेका श्रेष्ठले ११ हजार ९५६ मत ल्याउँदा रास्वपाका पोखरेलले १० हजार ९६१ मत पाएका थिए । अहिले त्यहाँ एमाले र रास्वपा दुवैले उम्मेद्वारहरु फेरेका छन् ।
भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले एमालेका महेश बस्नेतलाई ९५७ मतले पराजित गरेका थिए । त्यतिबेला थापाले २४ हजार २३९ मत पाएका थिए भने बस्नेतले २३ हजार २८२ मतमात्रै ल्याएका थिए । अहिले भक्तपुर–२ मा कांग्रेसले थापा होइन, कविर राणालाई टिकट दिएको छ । एमालेबाट बस्नेत नै प्रतिस्पर्धामा छन् ।
कपिलवस्तु–२ मा अघिल्लोपटक कांग्रेसका सुरेन्द्रराज आचार्यले एमालेका बृजेशकुमार गुप्तालाई ३८ हजार ६९७ मतले पराजित गरेका थिए । आचार्यले ३९ हजार १४ मत पाउँदा गुप्ताले ३८ हजार ६९७ मत पाएका थिए । आचार्य अहिले पनि प्रतिस्पर्धामा छन् तर एमालेले गुप्ताको साटो दृग नारायण पाण्डेयलाई टिकट दिएको छ ।
बर्दिया-२ मा स्वतन्त्र उम्मेद्वार बनेका लालबीर चौधरीले माओवादी केन्द्रका सुरेश पन्थलाई जम्माजम्मी १३६ मतको फरकमा पराजित गरेका थिए । चौधरीले २६ हजार ५२० मत पाउदा पन्थले २६ हजार ३८४ मतमात्रै पाएका थिए । चौधरी अहिले चुनावी दौडमा छैनन् । पन्थ भने माओवादी केन्द्र समेत जुटेर बनेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार छन् ।
दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई १६७ मतले पराजित गरेर कांग्रेस उम्मेद्वार दिक्पाल कुमार शाही निर्वाचित भएका थिए । शाहीले २० हजार १८३ मत पाउँदा पोखरेलले २० हजार १६ मतमात्रै पाएका थिए । अहिले उनीहरु दुवैजना त्यही ठाउँमा प्रतिस्पर्धी छन् ।
बझाङ-१ मा एकीकृत समाजवादीका भानुभक्त जोशीले एमालेका ऐनबहादुर महरलाई एक हजार एक मतले पराजित गरेका थिए । जोशीले २८ हजुर ४१३ मत पाउँदा महरले २७ हजुर ४१२ मत पाएका थिए । त्यहाँ एमालेबाट महर मात्रै प्रतिस्पर्धामा छन् । नेकपाले मीनबहादुर कुँवरलाई टिकट दिएको छ ।
प्रतिक्रिया 4