+

त्रिशूलीमा राष्ट्रिय र्‍याफ्टिङ तथा क्यानोइङ सुरु

२०८२ माघ  १८ गते १५:१७ २०८२ माघ १८ गते १५:१७
त्रिशूलीमा राष्ट्रिय र्‍याफ्टिङ तथा क्यानोइङ सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको त्रिशूली नदीमा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा नवौं राष्ट्रिय र्‍याफ्टिङ र १४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप सुरु भएको छ।
  • प्रतियोगितामा देशभरका ५१ खेलाडी सहभागी छन् र क्यानोइङ स्लालोमका उत्कृष्ट ५ खेलाडीलाई एसियाली खेलकुदका लागि छनोट गरिनेछ।
  • प्रतियोगिता फेब्रुअरी १ देखि ३ सम्म चल्नेछ र विजेताले नगद पुरस्कार पाउनेछन्, र्‍याफ्टिङतर्फ प्रथमले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

१८ माघ, काठमाडौं । नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघ (एनआरससीए) को आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा ‘नवौं राष्ट्रिय र्‍याफ्टिङ’ तथा ‘१४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप’ आइतबारदेखि भव्य रूपमा सुरु भएको छ।

प्रतियोगिताको औपचारिक उद्घघाटन नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले गरे । उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले प्रतियोगिताका टेक्निकल हेड निम बहादुर मगरलाई पेडल हस्तान्तरण गर्दै सुरुवात गरेका थिए ।

फेब्रुअरी १ देखि ३ सम्म चल्ने यस च्याम्पियनसिपमा देशभरका विभिन्न नदी क्षेत्र र क्लबहरूबाट कुल ५१ जना खेलाडीहरू सहभागी छन् । त्रिशूलीको छालमा खेलाडीहरूले आफ्नो साहस र सीप प्रदर्शन गर्दै र्‍याफ्टिङ र क्यानोइङका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यस प्रतियोगितालाई केवल राष्ट्रिय प्रतिस्पर्धाको रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरको छनोटको रूपमा समेत लिइएको छ । यस च्याम्पियनसिपको क्यानोइङ स्लोलामतर्फ उत्कृष्ट ५ भित्र पर्न सफल खेलाडीहरूलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको छनोटमा समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

एसियाली खेलकुदमा र्‍याफ्टिङ र क्यानोइङलाई समेत समावेश गरिएको सन्दर्भमा यस प्रतियोगिताले नेपालको तर्फबाट योग्य र सक्षम खेलाडीहरू छनोट गर्ने महत्वपूर्ण आधार तय गर्ने विश्वास लिइएको छ।

प्रतियोगिता आगामी मंगलबारसम्म चल्नेछ र क्यानोइङतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २५, १५ र ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् भने र्‍याफ्टिङतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ६५, ३५ र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

राष्ट्रिय र्‍याफ्टिङ तथा क्यानोइङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय