१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले नेपालको संसदीय व्यवस्थामा घोषणापत्र कार्यान्वयन गर्न मतदाताले कुनै एक दललाई स्पष्ट बहुमत दिनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले सरकारमा रहेको दल वा गठबन्धनले मात्र घोषणापत्रका प्रतिबद्धता पूरा गर्नसक्ने बताएका हुन् ।
खनालले मिश्रित म्याण्डेट आएको अवस्थामा बहुदलीय गठबन्धन सरकार बन्दा घोषणापत्र कार्यान्वयन हुन नसक्ने उल्लेख पनि गरे ।
‘मिश्रित म्याण्डेट आयो भने, अघिल्लो संसदमा जस्तो भयो भने घोषणापत्रमा लेखिएका कुराहरू कार्यान्वयन गर्न सकिँदैन । किनभने हामी जस्तो मिश्रित म्याण्डेटबाट आफ्नो आफ्नो घोषणापत्र राजनीतिक दलहरूले लेख्छ । पाँच, ६ वटा दलहरूले मिलेर सरकार बनायो भने कार्यान्वयन हुन सक्दैनन् । मतदाताको दायित्व कम्तीमा पनि एउटा दललाई स्पष्ट बहुमत दिएर पठाइदिनुस्,’ उनले भने ।
नेता खनालले नेपालको राजनीतिक प्रणालीमा स्पष्ट बहुमत प्राप्त सरकार बने मात्र घोषणापत्रका प्रतिबद्धताहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनसक्ने धारणा राखे ।
साथै, उनले नेपालको संसदीय अभ्यास कार्यपालिकामुखी भएको पनि बताए ।
‘सरकारसँग अलरेडी नै बहुमत हुने भएकाले सरकारले जस्तो चाहन्छ, त्यस्तै कानुन बन्छन् । सांसदहरूको भूमिका कानुन निर्माणमा लिमिटेड हुँदो रहेछ । घोषणापत्र कार्यान्वयन कुन दलको सरकार छ र एउटै दलको सरकार छ की छैन भन्नेकुरा महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।
प्रतिक्रिया 4