१८ माघ, काभ्रे । सिन्धुलीमा १७ दशमलव ४९० ग्राम खैरो हिरोइन सहित एक युवक पक्राउ परेका छन् ।
सिन्धुलीको भिमान चेकपोष्टबाट विशेष सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा लागूऔषध खैरो हिरोइन सहित युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
कमलामाई नगरपालिका–९ भिमानस्थित चेकपोष्टमा नियमित तथा विशेष निगरानीसहित चेकजाँचका क्रममा झापाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ५९१५ नम्बरको हायसमा सवार काठमाडौँ महानगरपालिका–२६ गोंगबु निवासी १९ वर्षीय डेविट थापा मगरलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
तलासीका क्रममा उनले लगाएको कालो रंगको कटराइज पाइन्टको दायाँ गोजीभित्र राखिएको ‘ह्याप्पीडेन्ट’ नामक डब्बाभित्र दुई वटा कालो प्लास्टिकमा बेरी लुकाइछिपाइ राखिएको खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको पदार्थको प्लास्टिक बाहेक शुद्ध तौल १७ दशमलव ४९० ग्राम रहेको छ ।
इलाका प्रहरी कार्यालय भिमानका प्रमुख प्रहरी निरीक्षक राजु केसीका अनुसार उक्त लागूऔषध तत्काल नियन्त्रणमा लिई अभियुक्तलाई आवश्यक कारबाहीका लागि कार्यालयमा ल्याइएको छ । बरामद लागूऔषधको परीक्षण, स्रोत पहिचान तथा संलग्न सञ्जालबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानबाट युवक लागूऔषध ओसारपसारमा संलग्न भएको आशंका गरिएको र घटनाको पूर्ण सत्यतथ्य अनुसन्धानपछि मात्र जानकारी हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4