+

जोकोभिचको उदाहरण दिँदै बालगोपालले भने : टिममा अनुभवी खेलाडी हुँदा फाइदा हुन्छ

२०८२ माघ  १८ गते १७:४७ २०८२ माघ १८ गते १७:४७
जोकोभिचको उदाहरण दिँदै बालगोपालले भने : टिममा अनुभवी खेलाडी हुँदा फाइदा हुन्छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबलाई ३-१ ले हराउँदै तेस्रो जित हात पारेको छ।
  • आर्मीका प्रशिक्षक बालगोपाल महर्जनले सिनियर खेलाडीको अनुभवले जित सुनिश्चित गरेको र योजना अनुसार खेलिएको बताए।
  • श्री भगवतीका सहायक प्रशिक्षक धनेश्वर प्रजापतिले खेल कन्ट्रोल गर्न नसक्दा हार भएको र सुधार आवश्यक रहेको उल्लेख गरे।

१८ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लब टोखा विरुद्ध ३-१ को पुनरागमन जित हात पार्दा अनुभव खेलाडी नवयुग श्रेष्ठले दुई तथा जिलेस्पी जंग कार्कीले एक गोल गरे ।

दशरथ रंगशालमा भएको खेलमा आर्मीले एक गोले पछि पर्दा पनि कमब्याक गर्दै नतिजा आफ्नो पक्षमा पार्‍यो र ३ अंक जोड्न सफल भयो । आर्मीका लागि सिनियर खेलाडी नवयुगले दोस्रो हाफमा दुई गोल गर्दै जित पक्का गरेका थिए ।

नवयुगसँगै गोलकिपर विकेश कुथु लामो समयदेखि आर्मीको टिमबाट खेल्दै आएका छन् । आर्मीका प्रशिक्षक बालगोपाल महर्जनले सिनियर खेलाडीहरूको प्रदर्शन राम्रो भएको र गोल हुनु राम्रो रहेको पनि बताए ।

‘निश्चय पनि टिममा सिनियर खेलाडी हुँदा फाइदा हुन्छ । मैले मेरो टिमलाई क्लासमा पनि भनेको छु । आज पनि भनेका छौं । सिनियर खेलाडी हुँदाको फाइदा’ ‘श्री भगवती विरुद्ध जितपछि पोस्ट म्याच कन्फेरेन्समा महर्जनले भने ।

उनले अस्ट्रेलियन ओपनमा सर्वियन खेलाडी नोभाक जोकोभिचको प्रदर्शनको उदाहरण दिँदै सिनियर खेलाडीको महत्व प्रष्ट्याए । ‘अस्ट्रेलियन ओपनमा नोभाक र अल्कारेज खेलिराछ । स्कोर कति भयो थाहा छैन। ३९ वर्षको अनुभव जोकोभिकले देखाइराछ’ महर्जनले यसो भन्दा अल्कारेज र जोकोभिच खेलिरहेका थिए ।

‘अस्ति पनि जोकोभिचले सिनरलाई अनुभवले जिते । मैले खेलाडीलाई भन्दै आएको छु । त्यो ज्ञान र अनुभवले काम गर्छ । युवा खेलाडीहरू पनि राम्रो छ । त्यो अनुसार गरेको छ । मसँग सिनियर खेलाडीहरू ४-५ जना छ न उनीहरूले भने अनुसार खेलेको पनि छ र त्यसमा म सन्तुष्ट पनि छु’ उनले भने ।

गोलकर्ता नवयुग र विकेशसँगै विमल पाण्डे, जर्ज प्रिन्स कार्की, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन जस्ता राष्ट्रिय टिमको अनुभव भइसकेका खेलाडीहरू आर्मीको टिममा छन् ।

यस्तै उमेर समूहका कप्तानी गरिसकेका कुशल देउवा, निराजन धामी, सृजन दानी जस्ता युवा खेलाडी पनि आर्मीले भित्र्याएको छ । युवा खेलाडीहरूले पनि राम्रो खेलेको प्रशिक्षक बालगोपालले बताए ।

पाँच खेलमा आर्मीको खेल तेस्रो जित हो । तीनै जित आर्मीले दशरथ रंगशालामै हात पारेको हो । यो जितबाट आर्मीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन खुशी देखिए ।

आर्मी ५ खेलबाट ११ अंक जोड्दै अंकतालिका चौथो स्थानमा उक्लेको छ । शीर्ष स्थानको एपीएफ एफसी, मछिन्द्र एफसी र लालिगुराँससँगै आर्मी पनि राष्ट्रिय लिगमा अपराजित छ । आर्मी श्री भगवती बाहेक दशरथ रंगशालमा मनाङ मर्स्याङ्दी क्लब र चित्लाङ एफसीलाई पराजित गरेको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको टर्फमा भएको दुई खेल (प्लानिङ ब्वाइज युनाइटेड र लालिगुराँस एसोसिएसन) मा भने आर्मी गोलरहित बराबरीमा रोकिएको थियो । दशरथ रंगशालमा आर्मीले राम्रो नतिजा निकालिरहेको छ ।

श्री भगवती विरुद्धको जितमा आर्मीका प्रशिक्षक बालगोपाल महर्जन खुशी देखिए । ‘दशरथ रंगशालमा भएको खेलमा जित हात पारेका छौँ । यो तेस्रो जित हो । त्यसमा पनि ३-१ को मार्जिनको जित थियो, महर्जनले भने, सानो गल्तीका कारण चाँडै गोल खान पुग्यो । तर कमब्याक भयो ।’

प्रशिक्षक महर्जनले खेलाडीले योजना अनुसार नै खेल्न सफल भएको र आवश्यक ३ अंक जोड्दा सन्तुष्ट रहेको बताए । ‘तयारी र योजना र खेलाडीलाई दिएको जिम्मेवारी अनुसार सफल भएका छौँ । कम्बिनेसन प्ले राम्रो भएको छ । सबै कुरा भएकोले गोल निस्कियो, उनले भने, ‘कुनै बेला प्रेसर भइहाल्छ । फुटबलमा यो भइहाल्छ । मुख्य कुरा ३ अंक चाहिने हो त्यो पायौँ । यसलनाई नै आगामी दिनमा निरन्तरा दिन्छौं।’

उनले यसअघि घाइते भएका निराजन धामी पनि छिटै ठिक भएर मैदान फर्कने बताए ।

श्री भगवतीका सहायक प्रशिक्षक धनेश्वर प्रजापतिले खेलमा सुरुवाती गोल गरेपनि कन्ट्रोल गर्न नसक्दा पराजित हुन परेको बताए । ‘हामीले खेललाई कन्ट्रोल गर्न सकेनौँ । पहिलो हाफमा राम्रो खेलेको हो । दोस्रो हाफमा खेलाडी थाक्दै आएपनि गाह्रो भयो, उनले पोष्ट म्याच कन्फेरेन्समा भने, म्याच कन्ट्रोल गर्न नसक्दा समस्या भयो र हामी पराजित भयौँ ।’

प्रशिक्षक प्रजापतीले सेन्ट्रल खेलमा अवसर पाएपनि सदुपयोग गर्न नसकेको बताए । यस्तै परवार्ड लाइनमा धेरै काम गर्न बाँकी रहेको पनि बताए । ‘हाम्रो सेन्ट्रल ब्याक राम्रै छ । समग्रमा राम्रै खेलिराछ । फरवार्डमा मार्टिनले राम्रो सपोर्ट गरेको भए गोल निस्क्न्थयो । धेरै काम गर्न बाँकी छ । चान्स नपाको होइन । आर्मी जस्तो टिमसँग चान्स पाउदा गोल गर्नुपर्छ ।’

उनले ५ खेलपछि टिमको अवस्था कस्तो छ भनेर थाहा पाएको र अझै मिहिनेत गर्नुपर्ने बताए । ‘योजना भनेको जित्ने नै हो । यो ५ खेलले थाहा भयो कि तयारी अझ पुगेको छैन मिहिनेत अझै गर्नुपर्छ’ महर्जनले भने ।

राष्ट्रिय लिगमा श्री भगवतीको यो तेस्रो हार हो र ५ खेलबाट ४ अंकसहित ११औं स्थानमा छ ।

त्रिभुवन आर्मी क्लब बालगोपाल महर्जन
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय