+
+
Shares

तानमा बुनिंदै मगर पहिचान

सहरमुखी बसाइँसराइ र रेडिमेड संस्कृतिको दबाबबीच रुकुमपूर्वको सिमा गाउँले तानमार्फत आफ्नो पहिचान जोगाउने संघर्ष जारी राखेको छ ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ माघ १९ गते १०:३९

१९ माघ, रुकुमपूर्व । आधुनिकताको तीव्र विस्तारले गाउँ–गाउँमा ‘रेडिमेड’ संस्कृति भित्राइरहेका बेला रुकुमपूर्वको भूमे गाउँपालिका–३, सिमा गाउँले भने एउटा भिन्न र मौलिक लय जीवित राखेको छ ।

यहाँका स्थानीयका लागि तान केबल लुगा बुन्ने माध्यम मात्र होइन, बरु पुर्खाको विरासत र सामूहिकताको प्रतीक हो ।

पुरानो ढुङ्गा–माटोको घरको आँगनमा बिहानैदेखि ‘खटखट’ आवाज सुनिन्छ । यो आवाज रोजन पुनको तानको हो, जहाँ उनले विगत तीन दशकदेखि धागोसँगै आफ्नो जिन्दगीका रङहरू पनि बुनिरहेकी छन् ।

२०–२२ वर्षकै कलिलो उमेरदेखि हातमा तान समातेकी रोजन भन्छिन्, ‘यो हाम्रो पहिचान हो, यसलाई कसरी छोड्नु ?’

उनले बुनेका खाडी गादा, काम्लो, घुम्चे र पटुकाले मगर समुदायको मौलिकता झल्काउँछन् । आजभोलि बजारमा पाइने मेसिनका कपडाभन्दा यहाँका स्थानीयहरू रोजनको हातैले बुनेका खाडी गादालाई बढी विश्वास गर्छन् ।

व्यावसायिक रूपमा एउटा खाडी गादा ३ देखि ४ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको र त्यसले गाउँमै बसेर आत्मनिर्भर बन्ने बाटो देखाएको उनले बताइन् ।

रोजनले आँगनमा तान चलाउँदै गर्दा घरको पिँढीमा ज्येष्ठ नागरिकहरू अमरे पुन, फर्कबहादुर पुन र सरुन पुन चिन्तामिश्रित संवादमा भेटिन्छन् । उनीहरू रोजनको मेहनत नियाल्दै भन्छन् ‘गाउँमा पुर्ख्यौली शान छ तर युवाहरू भने रेडिमेडतर्फ लागिसकेका छन् ।’

अमरे पुनका अनुसार, मगर समुदायमा ‘खाडी गादा’ को महत्व असाधारण छ । विशेषगरी असार महिनामा नाचिने ‘भूमे नाच’ (बल पूजा) का अवसरमा यो पहिरन लगाउनु अनिवार्य जस्तै मानिन्छ । ‘हाम्रो मान-सम्मान र पुर्खाको चिनो नै यही हो,’ अमरे पुन गर्व गर्दै सुनाउँछन् ।

यद्यपि, एउटा पूर्ण मगर पोसाक तयार गर्न कम्तीमा २० देखि २५ हजार रुपैयाँसम्म खर्च हुने अर्का स्थानीय सरुन पुन बताउँछन् ।

ज्येष्ठ नागरिकहरू भेला भएर अनुभव साटासाट गर्नु, पुराना कथा सुनाउनु र नयाँ पुस्तालाई आफ्नो सिप र संस्कारको महत्वव बुझाउनु यस गाउँको सुन्दर पक्ष हो । सहरमुखी बसाइँसराइ र आधुनिक प्रविधिको मारमा परेर धेरै ठाउँमा यस्ता मौलिकता हराइसकेका छन् सिमा गाउँ बिरासत जोगाउने संघर्षमा छ ।

रोजन भन्छिन्, ‘हामीले त अहिलेसम्म जोगायौँ, तर भोलिका दिनमा हाम्रा सन्तानले यसलाई कसरी निरन्तरता देलान् ?’

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?