हरेक वर्षको फेब्रुअरी २ तारिखका दिन विश्वव्यापी रूपमा सिमसार दिवस मनाइँदै आइएको छ । यो वर्ष सिमसार र परम्परागत ज्ञानमा आधरित नारा रहेको छ ।
नेपालको सिमसार नीति, २०६९ ले प्राकृतिक तथा कृत्रिम रूपमा पानी जमेर वा बगेर,अस्थायी वा स्थायी रुपमा बनेको दलदल क्षेत्रलाई सिमसार भनेर परिभाषित गरेको छ । सरल भाषामा भन्नुपर्दा सिमसारमा न पानी सुक्छ न त जमिन नै लुक्छ ।
मुलुकको कूल भू-भागको ५ प्रतिशत क्षेत्र सिमसारले ओगटेका छन् । सरकारी तथ्यांक अनुसार करिब ५ हजार वटा सिमसार, तालतलैया, पोखरी र धाप क्षेत्रहरू नेपालमा छन् ।
तीमध्ये १० वटा सिमसार क्षेत्रहरू अन्तर्राष्ट्रिय रूपमा महत्व बोकेका रामसार सूचीमा सूचिकृत छन् ।
जसमा माइपोखरी, घोडाघोडी ताल, जगदीशपुर जलाशय क्षेत्र, बीसहजारी ताल समूह, रारा ताल, फोक्सुन्डो ताल, गोसाइकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल पर्छन् ।
पोखराका तालहरूअन्तर्गत फेवातालसहित बेगनास, रूपा, मैदी, दिपाङ, खास्टे, कमलपोखरी, न्यूरिनी र गुदें पर्छन् । यी मध्ये ४/४ वटा हिमाली र तराई क्षेत्रमा पर्छन् भने २ वटा पहाडी क्षेत्रमा पर्छन् ।
जैविक विविधता र पारिस्थितिकीय प्रणालीको आधार
सिमसार जैविक विविधताको हिसाबले महत्त्वपूर्ण क्षेत्र मानिन्छ । विभिन्न प्रजातिका जीव तथा वनस्पति सिमसारमा आश्रित छन् ।
नेपालकै सन्दर्भ हेर्ने हो भने यहाँ पाइने कूल चरा प्रजातिमध्ये करिब २५ प्रतिशत खतराको सूचीमा रहेका चराहरू आश्रित छन् ।
२३० प्रजातिका माछा, २४ प्रतिशत संरक्षित वनस्पति अनि ८५ प्रतिशत मेरुदण्ड भएका जीवजन्तु छन् । २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति, ३७ प्रजातिका किटपतङ सिमसारमा आश्रित छन् ।

नेपाल सन् १९८७को १७ डिसेम्बरमा कोशी टप्पुलाई रामसारमा सूचिकृत गरेसँगै यसमा लागोको विगत छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग यसको आधिकारिक फोकल विभाग रहेको छ ।
विभिन्न अनुसन्धानले नेपालका १० प्रतिशत आदिवासी समुदाय सिमसारबाट प्राप्त हुने स्रोतहरूमा निर्भर छन् ।
विश्वलाई हेर्न हो भने विश्वका ४० प्रतिशत प्रजातिहरू सिमसारमा आश्रित छन् । १ अर्ब मानिसहरूको जीविकोपार्जनमा सिमसारले प्रत्यक्ष रूपमा प्रभाव पारेको छ ।
सिमसार पारिस्थितिकीय प्रणालीको पनि सूचक हो । विभिन्न प्रजातिहरुका लागि मुख्य बासस्थान हो । स्वच्छ पानीको उपलब्ध गराइदिने काम सिमसारबाट हुन्छ ।
वन्यजन्तु, माछा र कृषिको आधारभूत स्तम्भ नै सिमसार क्षेत्रहरू हुन् । पर्यटनका लागि पनि सिमसार महत्वपूर्ण मानिन्छ ।
तसर्थ, आर्थिक गतिविधि बढाउनका लागि सिमसारलाई अर्थतन्त्रको एक सूचक भन्दा फरक नपर्ला । त्यसैले यिनीहरू सांस्कृतिक, ऐतिहासिक र धार्मिक रूपमा महत्वपूर्ण छन् ।
सिमसारले दिने यस्ता प्रत्यक्ष/अप्रत्यक्ष पारिस्थितिकीय सेवाहरू प्रवर्द्धनात्मक, नियमनकारी, सांस्कृतिक र सहयोगी गरी चार प्रकारका हुन्छन् ।
सिमसारमा उत्पादन हुने खाद्यान्न, इन्धन, पानी प्रबर्द्धनात्मक सेवाहरूमा पर्छन् । जलवायु, पानीको नियमनलगायत बाढीजस्ता प्राकृतिक विपत्तिको न्यूनीकरण र नियन्त्रण गर्ने काम सिमसारको नियमनकारी सेवामा पर्दछ ।

मनोरञ्जन, शिक्षा, पर्यटन, प्राकृतिक सौन्दर्य, आध्यात्मिक विषय चाहिँ सांस्कृतिक सेवा हुन् । जैविक विविधता, चल चक्रको नियमितता र पौष्टिक तत्वको निरन्तरता जस्त विषय सिमसारका सहयागी सेवाहरूले समेट्छ ।
रामसारमा सूचिकृत सिमसारका स्वास्थ्य
वर्तमान अवस्थालाई नियाल्दा नेपालका सिमसारहरूको स्वास्थ्य अवस्था निकै नै नाजुक बन्दै गएको छ । प्रकृतिको मृगौला भनेर समेत चिनिने सिमसारको अवस्था डरलाग्दो बन्दै गएको विभिन्न सरकारी दस्तावेज र अध्ययनहरूले नै देखाएका छन् ।
नेपालका धानखेतहरू करिब ५.४१ प्रतिशतले घटेको देखिन्छ । एउटा अध्ययन अनुसार नेपालका १६३ वटा सिमसारमध्ये ६१ प्रतिशत सिमसार क्षेत्रहरू कृषिबाट निस्कने रसायनिक मलयुक्त पानीको प्रभाव देखिएको छ ।
कोशी टप्पुका सिमसारमा पनि अधिक मात्रा समस्या देखिएको छ । पौष्टिक तत्वको वृद्धिसँगै सिमसारमा घुलित अक्सिजनको मात्रा कमी भएको छ ।
पोखरी तथा सिमसारहरूमा मिचाहा प्रजातिको संख्या बढ्दै जाँदा सिम क्षेत्रहरू पुरिने र सुक्न थालेका छन् । सिमसारबाट अधिक रूपमा पानी निकाल्ने, वनस्पतिको दोहन गर्ने, माछा मार्ने, आसपासका बिरुवाहरू फडाँनी गर्ने जस्ता क्रियाकलापले असर गर्छ ।
यसरी हेर्दा नेपालका रामसार क्षेत्रमा सूचिकृत सबै १० वटै सिमसारहरूमा चुनौती देखिएका छन् । वैज्ञानिक अध्ययनहरू पनि त्यही भन्छन् ।
जस्तो कि कोसीमा अधिक मात्रामा चरिचरन, कृषिजन्य फोहोर, मिचाहा प्रजातिको अतिक्रमण, बालुवाको थिग्रने समस्या, अधिका मात्रामा माछा मार्ने कार्यले त्यहाँको प्राकृतिक अवस्थालाई असर गरेको अध्ययनहरूले निष्कर्ष निकालेका छन् ।
बिस हजारी ताल मिचाहा प्रजातिको चुनौती, घोडाघोडी तालमा धेरै मात्रामा माछा मार्ने, तीर्थयात्रीले गर्ने फोहोर,मिचाहा प्रजातिले असर गर्ने गरेका छन् ।
अधिकांश तराई तथा मध्य पहाडी क्षेत्रका सिमसारहरूमा युट्रोफिकेशन को समस्या देखिएको छ । युट्रोफिकसन भनेको चाहिँ पानीमा नाइट्रोजन र फस्फोरस जस्ता तत्वहरू अत्यधिक मात्रामा मिसिँदा लेउ र जलकुम्भी जस्ता वनस्पति अनियन्त्रित रूपमा बढ्दा तालमा भएका जीवजन्तु मर्ने र वनस्पति बढ्छन् । यस्तै, जगदीशपुर तालमा पनि यस्तै किसिमका समस्या देखिएको छ । त्यहाँ गाँदा थुप्रिएर ताल पुरिने चुनौती रहेको अध्ययनहरूले देखाएका छन् ।
गोसाइकुन्डमा पर्यटनका कारण प्रदूषणको चुनौती भनिएको छ । गोक्यो तालमा पनि त्यह समस्या छ । त्यहाँ अधिक चरिचरण, प्रदूषण र हिमताल विस्फोटनको जोखिम भनिएको छ ।
माई पोखरिमा मिचाहा प्रजातिको झारको चुनौती छ भने फोक्सुन्डो ताल क्षेत्रमा चाहिँ धेरै मात्रामा खुला दिशा तथा गोबरका कारण प्रदूषणको समस्या देखिएको छ । रारामा पनि अतिक्रमण र प्रदूषणको चुनौती देखिएको छ । पोखरा ताल समूहमा घरायसी फोहोर खन्याउने र त्यसले निम्त्याउने जोखिम बढ्दो अवस्थामा छ ।

एउटा वैज्ञानिक अध्ययनले जगदीशपुर तालको व्यवस्थापन निकै नै खराब रहेको देखाएको छ । जसमा उक्त तालको व्यवस्थापन स्कोर ०.२७ अंक प्राप्त गरेको छ । विभिन्न ११ प्रकारका चुनौतीमध्ये चरिचरणलाई मुख्य रूपमा चुनौती देखाइएको थियो । यसरी हेर्दा जलवायु परिवर्तन, युट्रोफिकेसन, अधिक दोहन, चरिचरण, मिचाहा प्रजातिको झार र अतिक्रमण, फोहोर तथा प्रदूषण नै सिमसारका चुनौतीहरू हुन् ।
छैनन् सिमसारका रिपोर्ट कार्ड
नेपालले रामसार रणनीति २०१८-२०२४ ले बनाएको छ । रणनीतिमा सिमसारको स्वास्थ्यलाई मुख्य रूपमा उठाइएको छ । सिमसारको स्वास्थ्य सम्बन्धमा त्यसलाई विभिन्न चारवटामा विभाजन गरिएको छ । जसका लागि सिमसारको स्वास्थ्य अवस्था दर्शाउने सम्बन्धी कार्यविधि बनाइएको छ । उक्त रणनीति अनुसार कार्ड बनाउने विधि बनाइएपनि त्यस अनुरूप रामसारमा सूचिकृत कतिवटा सिमसारको स्वास्थ्य अवस्था हामीले सार्वजनिक गर्न सकेनौँ ।
यो स्वास्थ्य जाँच गर्दा सिमसारको वैज्ञानिक र तथ्यपरक लगत संकलन गरेर सार्वसाधरणलाई जानकारी हुने गरी दिनुपर्छ ।
स्वास्थ्य जाँचमा सिमसारको पानीको रसायनिक अवस्था, सिमसार क्षेत्रको जैविक विविधता र सिमसारले दिने पारस्थितिकीय सेवा र त्यसको प्रणालीका अवयवहरूको लगत तयार गर्ने भनिएको छ ।
जसमा १ देखि ४ वटामा वर्गीकरण गरिएको छ । सिमसारको स्वास्थ्य सूचक बनाउँदा धेरै राम्रो गुणस्तर भएकोलाई निलो रंग, ठिक्कको राम्रोलाई हरियो, सामान्यलाई पहेँलो र खराब अवस्थालाई रातो रंगले चिन्ह प्रदान गर्ने भनिएको छ ।
त्यसैको आधारमा सिमसार संरक्षण कार्ययोजना बनाउने र प्राथमिकता निर्धारण गर्ने भनिएको छ ।
रामसारलाई बुझाइएको प्रतिवेदनले के भन्छ ?
सिमसार संरक्षणका लागि भनेर रामसार क्षेत्र रणनीतिक कार्ययोजना पनि बनाइयो । त्यो कार्ययोजना बनाएर कति कार्यान्वयन भयो भएन अध्ययनकै विषय छ ।
सन् २०१८मा नेपालले रामसार सचिवालयलाई बुझाएको एक सार्वजनिक प्रतिवेदन अनुसार नेपालले रामसार महासन्धिलाई कार्यान्वयन गर्न कठिनाइ भोगिरहेको उल्लेख छ । जसमा ५ वटा विषयलाई प्राथमिकताका साथ उठाएको छ ।
पहिलोमा आर्थिक समस्या, दोस्रोमा प्राविधिक जनशक्तिको अभाव, रामसार क्षेत्रलाई व्यवस्थति गर्न आवश्यक पर्ने प्रशासनिक संयन्त्र र व्यवस्थापकको अभाव भनेर प्रतिवेदनमा भनिएको छ । उक्त प्रतिवेदन अनुसार तथ्यांकको विश्लेषण र नियमित रिपोर्टिङका कुराहरू गर्न नसकिएको उल्लेख छ ।
प्रतिवेदन अनुसार रामसारमा भएका १० वटै सिमसारहरूको डेटाबेस निर्माण गरिएको छैन जसका कारण संस्थागत हुन नसकिएको भनिएको छ ।
नेपालले प्रतिबद्धता जनाए अनुसार एउटा राष्ट्रिय स्तरको सिमसारको लगत तयार गर्ने, अनुसन्धान र नियमनलाई प्राथमिकतामा दिने, सिमसार र दिगो जीविकोपार्जनलाई जोड दिँदै पर्यापर्यटनमा जोड दिन जरुरी छ ।
सिमसारको पानी र मात्राको सन्दर्भमा अध्ययन अनुसन्धान र त्यसको लगत गर्ने काममा हामी कमजोर सावित भएका छौँ । रामसार महासन्धिको लगत तयार गर्ने सिमसारको पानी र पारिस्थितिकीय अवस्था हेर्नुपर्ने भन्ने सुझाव पनि दिएको छ ।
रामसार क्षेत्र सूचिकृत गरेपछि पानीको व्यवस्थापन र त्यहाँको पारिस्थितिकीय प्रणालीको कार्य सञ्चालन सम्बन्धी एउटा कार्यविधि बनाउनु पर्ने भनेको छ । त्यसमा हामी चुकेका छौँ ।
नेपालले पर्सा राष्ट्रिय निकुञ्जको कामिनी दह र खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने खप्तड ताललाई रामसारमा समेट्ने भनेको थियो तर सफल हुन सकेको छैन । रामसार रणनीतिमा थप १० वटा सिमसार क्षेत्रलाई रामसारमा समेट्ने प्रयास भनिएपनि हामी त्यसमा चुकेका छौँ ।
नीतिगत अस्पष्टता र अबको बाटो
सिमसार समेट्ने राष्ट्रिय रामसार नीति, जैविक विविधता नीति, दिगो विकासका लक्ष्य, भू तथा जलधार संरक्षण ऐनले पनि सिमसारलाई समेटेको देखिन्छ ।
सिमसारको पुनःस्थापना, संरक्षण तथा व्यवस्थापनमा निकुञ्ज विभाग, वन विभाग, वन तथा भूसंरक्षण कार्यालय, जलाधार कार्यालय, राष्ट्रपति चुरे तराई मधेश विकास समिति, स्थानीय तथा प्रदेश सरकारहरूले पनि बजेट विनियोजन गरेर काम गरेको अवस्था छ ।
यस्तै, राष्ट्रिय प्रकृति संरक्षण कोष जस्ता संस्थाहरूले पनि सिमसार संरक्षण तथा पुनःस्थापनामा काम गर्दै आएका छन् ।
जलवायु परिवर्तनको असर हरेक क्षेत्रमा देखिन थालेको छ । नेपालका सिमसारहरूलाई जलवायु परिवर्तनले निकै नै प्रभाव पार्ने पनि देखिन्छ । विज्ञानमा आधारित सूचनालाई आत्मसाथ गर्दै अघि बढ्नु जरुरी देखिएको छ । हाम्रा रामसार क्षेत्रमा सूचिकृत सिमसारको हाइड्रोलोजी र फ्रेस वाटर बायोडाइभरसिटी, विभिन्न पारिस्थितिकीय चक्र प्रणालीको अध्ययन, तीनले दिने आर्थिक योगदानको जानकारी पनि कम छन् ।
सिमसार संरक्षणका लागि भनेर नेपालको सिमसार नीतिले सिमसार कोषको पनि कुरा उठाएको छ । संरक्षण तथा दिगो उपयोगका लागि यो कोषले काम गर्ने भनिएको छ । तर यसमा हामीले कति काम गर्यौं वा गरेनौं मूल्यांकन गर्ने बेला भएको छ ।
उक्त ऐनले राष्ट्रिय सिमसार सिमितिको पनि परिकल्पना गरेको छ । जसमा वन सचिवको संयोजकत्वमा समिति र वातावरण महाशाखाका प्रमुखलाई सदस्य सचिवको रूपमा राखिएको छ ।
मुलुक संघीय ढाँचामा गएको छ त्यस्ता अवस्थामा नीतिमा आवश्यक पर्ने सुधारका कार्यहरू पनि गर्न जरुरी छ । यस्तै, संरक्षित क्षेत्रभित्र मात्रै निकुञ्ज विभागको क्षेत्राधिकार हुने भएकाले त्यसभन्दा बाहिर भएका रामसारमा सूचिकृत सिमसारको व्यवस्थापन सन्दर्भमा पनि स्पष्ट योजनासहित नीति संशोधन गर्ने बेला आएको छ ।
प्रतिक्रिया 4