News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ।
- रास्वपा बाजुराका उम्मेदवार हेमराज थापालाई मुख्यमन्त्री बानियाँलाई लक्षित गरी अपमानजनक भाषा प्रयोग गरेको उजुरीमा स्पष्टीकरण सोधिएको छ।
- आयोगले बालेन्द्र शाहलाई सादा पोसाकका प्रहरी भोट माग्दै गरेको विषयमा दोस्रोपटक स्पष्टीकरण सोधेको छ।
१९ माघ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार गरी थप नौ स्पष्टीकरण माग गरेको हो ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाले पिएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनाको विषयलाई जोडी बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी मुख्यमन्त्री कार्यालयमा आएर अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गर्नाका साथै सामाजिक सञ्जालमा पोष्टसमेत गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको छ ।
तपाईंले बाग्मती प्रदेशका मुख्यमन्त्री बानियाँका सम्बन्धमा अपमानजनक, धम्कीपूर्ण र अपशब्दयुक्त अभिव्यक्ति दिएको हो वा होइन ? उजुरीमा उल्लेख भए जस्तो आर्थिक स्रोत सङ्कलन गर्दा निर्वाचन आचारसंहिता, २०८२ बमोजिमको व्यवस्थाको पालना गर्नु भएको छ वा छैन ? भनी उम्मेदवार थापालाई स्पष्टीकरण सोधिएको उनले बताए ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम बाजुराका उम्मेदवार थापालाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए । निर्वाचन उम्मेदवार लक्षित भ्रामक-अमर्यादित सन्देश प्रकाशन तथा प्रसारण गर्ने विभिन्न व्यक्ति तथा सञ्चारमाध्यमका बारेमा आयोगले प्रेस काउन्सिल नेपाललाई कारबाहीका लागि लेखी पठाएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाहलाई आयोगले आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
शाहको निर्वाचन प्रचारप्रसारका क्रममा निजको श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो ? भनी आयोगले स्पष्टीकरण सोधेको हो । शाहलाई तीन दिनभित्र जवाफ माग गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालय बाहिर आफ्नो दलको निर्वाचन चिह्न पेन्ट गरेर राखेको भनी स्पष्टीकरण सोधेको छ ।
उजुरीमा उल्लेख भएको बेहोरामा के कसो भएको हो ? यदि आचारसंहिताको उल्लिखित व्यवस्थाको प्रतिकूल हुनेगरी दलको निर्वाचन चिह्न प्रदर्शन गरेको प्रमाणित भएमा त्यस दलको जिल्ला कार्य समितिलाई प्रचलित निर्वाचन कानुनबमोजिम किन कारबाही गर्नु नपर्ने हो ? यही विषयलाई लिएर आयोगले सोही क्षेत्रका उम्मेदवार माधव सापकोटलाई पनि स्पष्टीरण सोधेको छ ।
यसैगरी आयोगले रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई पनि स्पष्टीकरण सोधेको छ । आयोगले अहिलेसम्म सोधेका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भएको प्रवक्ता जिसीले बताए । रासस
प्रतिक्रिया 4