+
+
Shares

बागलुङ-१ : तेस्रो प्रयासमा केसी, इतिहास रच्ने दाउमा नयाँ उम्मेदवार

यहाँ आफ्नो विरासत जोगाउने दाउ‍मा रहेका एमाले, कांग्रेस र राष्ट्रिय जनमोर्चालाई नयाँ दल तथा उम्मेदवार चुनौतीका बनेका छन् ।

खेमराज गौतम खेमराज गौतम
२०८२ माघ १९ गते १७:०३

१९ माघ, बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि ११ दलका ११ जना उम्मेदवार चुनावी दौडमा छन् । जसमध्ये तेस्रो प्रयासमा एमालेका नेता हिरा केसी छन् भने अन्य उम्मेदवार इतिहास रच्ने दाउमा छन् ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङ १ नम्बर निर्वाचन क्षेत्र जिल्ला सदरमुकामसहितको भूभाग पर्छ । यहाँ आफ्नो विरासत जोगाउने दाउ‍मा रहेका एमाले, कांग्रेस र राष्ट्रिय जनमोर्चालाई नयाँ दल तथा उम्मेदवार चुनौतीका बनेका छन् ।

बागलुङमा अन्य दलले एक्ला-एक्लै चुनावी मैदानमा उत्रेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले भने गठबन्धन गरेका छन् ।

नेकपाले राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर २ नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाएको छ । बागलुङ-१ का एमालेका उम्मेदवार हिरा बहादुर केसी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्ववियु सभापति हुँदै एमाले बागलुङको दुई कार्यकाल पार्टी अध्यक्ष भइसकेका छन् ।

केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका भीम श्रीस, रास्वपाका सुशील खड्का र राजमोका कृष्ण अधिकारी पहिलोपटक चुनावमा होमिएका हुन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग र २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दीपेन्द्रबहादुर थापा मगरसँग एक हजार ४८० मतान्तरले पराजित भएका केसी तेस्रो पटक चुनावी मैदान उत्रिएका छन् ।

तेस्रो पटकमा संसद् भवन छिर्ने रणनीतिमा केसी छन् भने नयाँ उम्मेदवारहरु केसीलाई चुनौती दिइरहेका छन् । २०५० बाट विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका केसी तेस्रो प्रयासमा अनुमोदन हुने आशामा छन् ।

विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको मुल राजनीतिमा आउनुभएका भीम श्रीस गगन थापाको नेतृत्वमा बनेको कांग्रेसले पहिलो पटक टिकट दिएर उम्मेदवार बनेका हुन् । श्रीस लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।

नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका श्रीस २०६२ सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौंका स्ववियू सभापति भएका थिए ।

जिल्लाको राजनीतिमा कम देखिने श्रीस काठमाडौंमा बसेर राजनीतिमा क्रियाशील रहँदै आएका थिए । जैमिनी नगरपालिका–१० राङखानी निवासी श्रीस हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै नेकपा एमालेका हिराबहादुर केसी धौलागिरी बहुमुखी क्याम्पस बागलुङका पूर्वस्ववियू सभापति हुन् । काठेखोला गाउँपालिका–३ धम्जा निवासी केसी बागलुङमै बसेर लामो समयदेखि राजनीति छन् ।

विद्यार्थी संगठनको जिल्ला, अञ्चल हुँदै केन्द्रीय कोषाध्यक्ष, युवा संघको केन्द्रीय उपाध्यक्ष, पार्टीको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै २ कार्यकाल अध्यक्ष भएका केसी २०७० को दोस्रो संधिवानसभा र २०७९ को गण्डकी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट उम्मेदवार रहेका थिए ।

यसअघि जनमोर्चाबाट चित्रबहादुर केसी लगातार निर्वाचित हुँदै आएका थिए । केसीले समानुपातिक रोजेपछि केसीको विरासत धान्न राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीलाई नेकपाले समेत सघाएको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौर निवासी अधिकारी नेकपा मसाल र त्यसको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक गतिविधिमा सक्रिय छन् । २०३८ सालमा अखिल छैठौंबाट राजनीति सुरु गरेका अधिकारी चित्रबहादुर केसीको निजी सचिवालयमा लामो समय काम गरे ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अमेरिकामा इन्जिनियरिङ पढेर फर्किएका युवा उद्यमी सुशील खड्का चुनावी मैदानमा छन् । बागलुङ नगरपालिका–३ गुठी निवासी खड्का राजनीतिमा नयाँ अनुहारका रुपमा प्रतिस्पर्धामा उत्रेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ – १ मा कल्याण विक्रम आचार्यलाई अघि सारेको छ । आचार्य बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरा निवासी हुन् ।

आचार्य राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रचार संयोजक र शाही गण्डकी प्रदेश समिति सदस्य छन् । नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, मंगोल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालका सहवीर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसी चुनावी मैदानमा छन् ।

बागलुङ क्षेत्र नं. १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्दछन् । ४ पालिकाका ३७ वटा वडामा ९८ हजार ४६ मतदाता, ४८ वटा मतदान स्थल र १ सय १५ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?