+
+
Shares

निर्वाचन आयोगमा मतदाताका गुनासै-गुनासा

माघ ५ गते स्थापना भएको कल सेन्टरमा स्थापनाको दुई सातामा एक हजार ६७७ वटा जिज्ञासा तथा प्रश्नहरू प्राप्त भएका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ माघ १९ गते २१:४२

१९ माघ, काठमाडौं । मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर छ । निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहे नि:शुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ ।

माघ ५ गते स्थापना भएको कल सेन्टरमा स्थापनाको दुई सातामा एक हजार ६७७ वटा जिज्ञासा तथा प्रश्नहरू प्राप्त भएका छन् ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार, तीमध्ये मतदाता नामावली सम्बन्धी जिज्ञासा तथा प्रश्नहरूको संख्या ९०६ छ । बाँकी निर्वाचन आचारसंहिता सम्बन्धी १३५ वटा, मतदाता शिक्षा सम्बन्धी ६१ वटा र अन्य ५७५ वटा रहेका छन् ।

एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरू होल्डमा रहनुपर्ने छैन । यसका लागि कल सेन्टरमा ६ वटा डेस्क राखिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावली सम्बन्धी जिज्ञासा तथा प्रश्नहरू मुख्यत: चार प्रकृतिका छन् ।

पहिलो : नामावली अर्को ठाउँमा सार्न मिल्दैन ?

दोस्रो : मतदाता नामावलीमा नयाँ नाम दर्ता हुन्छ कि हुँदैन ?

तेस्रो : मतदान केन्द्रको ठेगाना फरक परेको छ के गर्ने ?

चौथो : नाममा त्रुटि भएको छ सच्याउन के गर्नुपर्छ ?

तर, यी कुनै पनि कार्य अहिले हुँदैन । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलनमा रोक लाग्ने कानुनी व्यवस्था छ ।

यसलाई अध्यादेशमार्फत बदलेर सरकारले गत ९ असोजदेखि ५ मंसिरसम्म मतदाता नामावली संकलन गरेको थियो । त्यसपछि २६ मंसिरसम्म मतदाता नामावलीमा भएका त्रुटि सच्याउन र एउटै वडाभित्र मतदानस्थल परिवर्तन गर्नका लागि समय थियो ।

तोकिएको समयभित्र मतदाताले आफ्नो विवरणमा रहेका त्रुटि सच्याउन, नामावलीबाट नाम हटाउन तथा दाबी विरोध गर्न सक्ने थिए । साथै, आयोगले एउटै वडाभित्र आफूलाई पायक पर्ने अर्को स्थानमा मतदानस्थल सार्न चाहेमा पनि त्यस्तो सुविधा दिएको थियो । अब ती कार्य हुन सम्भव नरहेको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

तथापि, निर्वाचन आयोगको कल सेन्टरमा धेरै प्रश्न र जिज्ञासा मतदाता नामावलीसँग सम्बन्धित छन् ।

आयोगका अनुसार अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न पाइन्छ कि पाइँदैन ? भनेर प्रश्न गर्नेहरूलाई जवाफ दिइएको छ, ‘मतदाता नामावलीमा आफ्नो नाम रहेको स्थानीय तहको सम्बन्धित वडाको तोकिएको मतदान केन्द्रबाट मात्र मतदान गर्न पाइन्छ । अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न पाँइदैन् ।’

मतदाता नामावली ट्रान्सफर गर्न के गर्नुपर्छ ? भन्ने प्रश्नहरू पनि छन् ।

यसमा आयोगले जवाफ दिएको छ, ‘मतदाता नामावली एक स्थानबाट अर्को स्थानमा सार्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा रितपूर्वक अनलाईन वा प्रत्यक्ष उपस्थित भएर निवेदन दिनुपर्दछ । प्रतिनिधिसभा निर्वाचन, २०८२ को लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने र स्थानान्तरण गर्ने कट अफ डेट तोकिइसकेकोले हाल यो सेवा बन्द छ । निर्वाचन सम्पन्न भइसकेपछि मात्र सेवा लिनुहोला ।’

अहिले नयाँ नाम दर्ता गर्न पाइन्छ कि पाइँदैन ? भनेर प्रश्न गर्नेहरू पनि छन् । जबकी सरकारले अध्यादेश ल्याएरै नयाँ मतदाताको नाम दर्ताका लागि समय दिएको थियो । त्यसमा पनि अझ समय थप भएको थियो ।

फेरि पनि नयाँ नाम दर्ताबारे आयोगमा जिज्ञासा पुग्ने गरेको छ । यसमा आयोगले अहिले नमिल्ने जवाफ दिँदै आएको छ ।

यसबाहेक पनि कल सेन्टरमा मतदाता नामावलीसँग सम्बन्धित जिज्ञासा र प्रश्नहरू छन् ।

प्रश्न : मतदाता परिचयपत्रमा पति/पत्निको नाम फरक परेको छ । संशोधन गर्न मिल्छ कि मिल्दैन ?

उत्तर : मिल्छ तर निर्वाचन घोषणा भइसकेको हुँदा हाल यो सेवा बन्द छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएपश्चात् मात्र यो सेवा सुचारु हुन्छ । यसका लागि तपाईंले दुवैजनाको नागरिकताको प्रमाणपत्र र विहे दर्ताको प्रमाणपत्र सहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन पेश गर्नुपर्दछ ।

प्रश्न : मतदाता नामावली स्थानान्तरण गर्न मिल्छ कि मिल्दैन ?

उत्तर : हाल निर्वाचन घोषणा भइसकेको हुँदा यो कार्य तत्काल गर्न नसकिए तापनि निर्वाचन सम्पन्न भइसकेपछि बसाइसराईको प्रमाणपत्र वा विवाह दर्ताको प्रमाणपत्र सहित जिल्ला निर्वाचन कार्यालय वा तोकिएका अन्य स्थानमा  नाम दर्ता अधिकारी समक्ष अनलाइन माध्यमबाट आवेदन पेश गर्नुपर्दछ ।

प्रश्न : मतदाता परिचयपत्र छ तर मतदाता नामावलीमा नाम छैन । मत दिन पाइन्छ कि पाइँदैन ?

उत्तर : मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिहरुलाई मात्र मतदाता परिचयपत्र उपलब्ध गराइने भएकोले मतदाता परिचयप पत्र भएको तर र मतदाता नामावलीमा नाम भएको नहुनुपर्ने हो, यदि यस्तो समस्या छ भने निर्वाचन आयोगको वेब साइटमा लगइन गरेर आफ्नो नाम भए नभएको थप एकिन गर्ने काम गर्नुहोला । त्यसो गर्दा समेत फेला नपरेमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा यथाशीघ्र सम्पर्क गरी यकिन गर्नुहोला ।  मतदानका लागि आयोगबाट प्रकाशित मतदाता नामावली नै मतदान गर्न दिने आधार भएको हुँदा उक्त नामावलीमा नाम समावेश नभएमा मतदान गर्न पाँइदैन ।

प्रश्न : मतपत्रमा ब्रेल लिपिको व्यवस्था गरिएको छ कि छैन ?

उत्तर : मतपत्रमा हाललाई ब्रेल लिपिको व्यवस्था गर्न गरिएको छैन । दृष्ट्रि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले आफ्नो एकाघरको आफूले विश्वास गर्ने व्यक्तिलाई साथमा लियर मतदान गर्न जान अनुरोध छ।

प्रश्न : अस्थायी मतदाता को–को हुन् ?

उत्तर : व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र कानुन बमोजिम दर्ता भएका वृद्धाश्रमा बसेका व्यक्तिहरु अस्थायी मतदाताका रूपमा रहेका छन ।

प्रश्न : मरेका व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाइएको छ कि छैन ?

उत्तर : तोकिएको मितिसम्म मृत्यु भएका (स्थानीय तहमा मृत्यूदर्ता गराएका) व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाइसकिएको छ ।

प्रश्न : मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइदैन ? प्यान कार्डले भोट हाल्न पाइन्छ कि पाइँदैन ?

उत्तर : मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिर्वाय छ। मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसंग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ। मतदाता परिचयपत्र नभएको वा नासिएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पूर्जा मध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।

प्रश्न : कति प्रतिशत मत खसेमा आयोगले चुनावलाई आधिकारिकताको मान्यता प्रदान गर्दछ ?

उत्तर : सकेसम्म अधिकतम मतदान हुन सकोस् भन्ने र सबै मतदाता मतदानमा सहभागी हुन भन्ने आयोगको चाहना छ । मौजुदा निर्वाचन कानूनले खस्नुपर्ने मतको न्यूनतम सीमा निर्धारण नगरेकोले जति प्रतिशत मत खसे पनि मतदान वैध हुने र मतगणनाको प्रक्रिया अगाडि बढ्ने गर्दछ ।

निर्वाचन आयोगका अनुसार कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म सञ्चालनमा रहने छ । यस अवधिमा निर्वाचनका मतदाता, नागरिक र सरोकारवालाले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म नि:शुल्क टोल–फ्री नम्बर ११०२ मा कल गरेर जिज्ञासा तथा प्रश्नहरू राख्न सक्नेछन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?