+
+
Shares
मधेश आन्दोलनका घाइतेको गुनासो :

‘चुनाव आउँदा मधेश सम्झिने, घाइते बिर्सिने’

निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक चहलपहल बढेको छ । तर ०७२ को मधेश आन्दोलनका ‘जिउँदा शहीद’ मुन्सी पटेल भने उपचार र सहाराको खोजीमा छन् ।

सफल खतिवडा सफल खतिवडा
२०८२ माघ २० गते १०:३४

२० माघ, वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा राजनीतिक गतिविधि तीव्र बनेको छ । उम्मेदवारहरू घरदैलो, कार्यकर्ता भेटघाट र चुनावी भाषणमा व्यस्त देखिन्छन् ।

तर, यही चुनावी भीडको छायाँमा, मधेश आन्दोलनका जिउँदो शहीद मुन्सी पटेल भने उपेक्षामा परेको महसुस गरिरहेका छन् । उनी उपचार र सहाराको खोजीमा छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ का पटेल २०७२ सालको दोस्रो मधेश आन्दोलनका क्रममा ढाडमा गोली लागेर गम्भीर घाइते भएका थिए । उनी विगत १० वर्षदेखि कहिले अस्पतालको शय्यामा त कहिले घरको ओछ्यानमै जीवन बिताइरहेका छन् ।

०७२ असोज ३ गते संविधान जारी भएको विरोधमा मधेशमा आन्दोलन सुरु भयो । वीरगञ्ज महानगरपालिका–२१ मा रहेको एक सामान्य कारखानामा काम गरेर जीविकोपार्जन गरिरहेका पटेल पनि सो आन्दोलनमा होमिए । प्रहरीको गोली लागेर पटेल घाइते भए ।

उनलाई सुरुमा काठमाडौंस्थित वीर अस्पतालमा करिब ६ महिना उपचार गरियो । त्यहाँबाट अपेक्षित सुधार नआएपछि भारतको नयाँ दिल्ली लगियो । लामो उपचारपछि पनि उनको स्वास्थ्यमा अपेक्षित सुधार हुन सकेन । उनको शारीरिक अवस्था मात्र होइन, पारिवारिक र सामाजिक जीवनसमेत अस्तव्यस्त बन्यो ।

पटेलका अनुसार मधेश प्रदेश सरकार तथा केही स्थानीय नेताहरूले समय–समयमा उनको उपचारका लागि सहयोग गरेका छन् । तर उनी त्यसमा सन्तुष्ट देखिँदैनन् । ‘मधेशको अधिकारका लागि गोली खाएँ, तर आज उपचारका लागि बिलौना गर्नुपरेको छ,’ उनी भन्छन्, ‘दाजुभाइहरु पनि अलग भइसके । अहिले मेरो हेरबिचार गर्ने कोही छैन ।’

पहिले मधेशबाट राजनीति गर्ने केही नेताहरु घरमै आएर भेट्ने गरे पनि अहिले भेट्न कोही पनि नआउने उनको गुनासो छ । ‘अब त उनीहरुसँग केही आशा राख्नु भनेको मूर्खता हुन्छ,’ उनी भन्छन्, ‘उनीहरु मत माग्न मात्र आउँछन् तर घाइते, शहीद परिवारलाई भेट्ने फुर्सद हुँदैन । हामी आन्दोलनको साधन मात्रै भयौं कि जस्तो लाग्छ ।’

आन्दोलनमा बलिदानको भावनात्मक उपयोग गर्ने आन्दोलनपछि ती बलिदानी पात्रहरूलाई बिर्सने परिपाटीको उदाहरण हो यो ।

नेताहरू फेरि चुनावी मैदानमा छन्, मतदातासँग अनेक आश्वासन र बाचा गरिरहेका छन् । तर अस्पतालको ओछ्यान परेका पटेल पीडामिश्रित प्रश्न गर्छन्, ‘हामीले आन्दोलनमा गोली थापेको यसैका लागि हो ?’

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?