२० माघ, काठमाडौं । गत ८ माघमा ट्राफिक नियमविपरीत एक निजी सवारी चालकले थापाथलीको लेन क्रस गरे । तर उनलाई ट्राफिक प्रहरीले तत्काल कारबाहीको दायरामा ल्याउन सकेन । त्यसको १० दिनपछि थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागले कारबाही गर्यो ।
सोही समयमा नियमविपरीत मोटरसाइकल चलाएका एक व्यक्तिलाई कारबाही भइरहेकाले निजी सवारी चालक उम्किए । तर ट्राफिक प्रहरीले सीसी क्यामेराबाट समेत निगरानी गरेको थियो । त्यसैले ती निजी सवारी चालकलाई १० दिनपछि ट्राफिक नियमअनुसार प्रभागले कारबाही गर्यो ।
ट्राफिक प्रहरीलाई छलेर नियमविपरीत सवारी चलाएमा सीसी क्यामेरा हेरर समेत कानुनी दायरामा ल्याउने गरिएको छ । यो क्षेत्रमा दैनिक डेढ सय सवारी साधन कारबाहीमा पर्ने गरेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार थापाथली–त्रिपुरेश्वर सडक क्षेत्र अत्यधिक सवारी चाप हुनेमा पर्छ । कार्यालयका अनुसार ललितपुरबाट काठमाडौं आवतजावत गर्ने मुख्य क्षेत्र थापाथली हो ।

‘ललितपुरबाट दैनिक ८० प्रतिशत सवारी आवातजावत गर्ने मुख्य ठाउँ थापथली हो,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले भने, ‘प्रशासनिक केन्द्र सिंहदरबार सर्वोच्च अदालत नजिकै पर्छ । भीआईपीदेखि कर्मचारी, सर्वसधारणसम्म धेरै आवतजावत हुने क्षेत्र हो ।’
उनका अनुसार थापाथली–त्रिपुरेश्वर संवेधनशील क्षेत्र हो । नर्भिक अस्पताल र प्रसूति गृह यसै क्षेत्रमा पर्छन् । ‘धेरै मात्रामा एम्बुलेन्स आवातजावत हुन्छ । अति संवेदनशील क्षेत्रलाई प्राथमिकता दिएर ट्राफिक व्यवस्थापन गरेका छौँ,’ उनले भने ।
थापाथली–त्रिपुरेश्वर सडकखण्डमा बिहान ९ बजेदेसख ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म अत्यधिक सवारी चाप हुन्छ । ट्राफिक प्रहरीलाई भ्याइनभ्याइ हुन्छ । ट्राफिक लाइटको सट्टा प्रहरी आफैंले व्यवस्थापनमा खटिनु पर्ने हुन्छ ।
थापाथलीमा जाम हुँदा त्रिपुरेश्वरदेखि कालीमाटीसम्म, माइतीघरदेखि सिंहदरबार, नयाँ बानेश्वरसम्मको ट्राफिक व्यवस्थापनमा कठिन हुन्छ । ‘थापाथलीमा नर्मल समयमा पनि बढी चाप हुन्छ । पिकमा त अत्यधिक हुने नै भयो,’ उनले भने ।

माइतीघरमा सधैंजसो हुने धर्ना, जुलुस, प्रदर्शनका कारण यो क्षेत्रमा ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ ।
‘थापाथली–त्रिपुरेश्वर संवेदनशील भएका कारण थापाथलीमा ट्राफिक प्रहरी प्रभागको कार्यालय राखिएको छ । इन्स्पेक्टरको नेतृत्वमा यो क्षेत्रको ट्राफिक व्यवस्थापन गर्ने गरिएको छ,’ सूचना अधिकारी सुवेदीले भने ।
प्रभागमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण राउतको नेतृत्वमा ६५ जना ट्राफिक प्रहरीको टोली खटिएको छ । ‘यो क्षेत्रमा २४सै घण्टा खटिने गरेका छौँ । ६५ जनाको टोली खटिएको छ,’ सुवेदीले भने ।

जाम हुन नदिन र सर्वसाधारणलाई सहज आवतजावतको प्रबन्ध गर्न प्रविधिको प्रयोग गरेर ट्राफिक व्यवस्थापनमा जोड दिएको कार्यालयले जनाएको छ । ‘ट्राफिक लाइट जोडिएको छ । नियमविपरीत सवारी चलाउनेको निगरानी सीसी क्यामेराबाट हुन्छ । कन्ट्रोल रुमबाट समेत हेरेको हुन्छ,’ सूचना अधिकारी सुवेदीले भने ।
सवारी चालकले लेन मिचेर गयो भने धेरै सवारी साधनलाई असर पर्ने सुवेदी बताउँछन् । त्यसैले लेन मिचेर सवारी चलाउनेमाथि प्रभागले कडा नीति अवलम्बन गरेको छ ।
‘एउटा सवारीले लेन मिच्दा चारैतिर प्रभावित हुन्छ । त्यसैले म्यानुअल र प्रविधि दुवै विधिको प्रयोग गरेका छौँ । इन्टरसेक्सनलाई भने सुधार गर्नुपर्ने छ,’ सुवेदीले भने ।
नियमविपरीत लेन मिचेर सवारी चलाएमा चालकलाई प्रमाण देखाएर कारबाही र कक्षासमेत लिनुपर्ने व्यवस्था गरिएको छ ।
नम्र बोलीका साथ ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा खटिन्छ । २४सै घण्टा यो क्षेत्रमा ट्राफिक प्रहरी खटिँदा ट्राफिक व्यवस्थापनमा सहज र दुर्घटना न्यूनीकरणमा सहयोग मिलेको छ । ट्राफिक नियम पालनामा प्रभागले जोड दिएको छ ।

प्रतिक्रिया 4