२० माघ, काठमाडौं । रोटरी क्लब अफ नागार्जुनले आफ्नो २२औं स्थापना दिवसमा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उच्च गुणस्तरका कम्प्युटर र प्रिन्टर सहयोग हस्तान्तरण गरेको छ ।
रोटरी डिस्ट्रिक्ट३२९२ का डिस्ट्रिक्ट गर्भनर विनोद कोइरालाले क्लबका तर्फबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई तीन थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग हस्तान्तरण गरेका हुन् ।
करिब २ सय उच्चपदस्थ ट्राफिक प्रहरीको उपस्थितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गर्भनर कोइरालाले रोटरी संस्था नेपाल लगायत संसारभरि मानव कल्याण र सामाजिक सेवाका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा आफूहरूले सानो सहयोग हस्तान्तरण गरेको र आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले रोटरी लगायतका सामाजिक संस्थाहरूकै कारण ट्राफिकको पोसाकदेखि भवन निमार्ण र भौतिक संरचनामा धेरै ठूलो योगदान पुगेको उल्लेख गरे ।
हस्तान्तरण कार्यक्रममा क्लब अध्यक्ष विशाल गैरेले ट्राफिक प्रहरी कार्यालयलाई निरन्तर सहयोग गर्ने वचन दिए ।
जेनजी आन्दोलनका बेला रोटरी क्लब अफ नागार्जुनका पूर्वअध्यक्ष शम्भू अमगाईंलाई क्लबका तर्फबाट भौतिक निमार्ण र रेट्रोफिटिङमा पुर्याएको योगदानका लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समेत सम्मान गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा रोटरी डिस्ट्रिक्ट एसिस्टेन्ट गर्भनर मन्जु धमला, डिस्ट्रिक्ट सेक्रेटरी अनिश बज्राचार्य र रोटरी क्लब अफ नागार्जुनका तर्फबाट निर्वतमान अध्यक्ष सतिश शर्मा, सचिव अर्जुन खड्का र कोषाध्यक्ष निखिल अग्रवालको सहभागिता थियो ।
प्रतिक्रिया 4