२१ माघ, सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ अहिले चर्चाको केन्द्रमा छ। यो क्षेत्रबाट पाँच जना पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन्।
भाषणमा अनुभव, विकास र प्रतिबद्धताको वर्षा भइरहेको छ, कागजमा हेर्दा यो क्षेत्र अनुभवी नेतृत्वले भरिएको देखिन्छ। तर जमिनमा उत्रिँदा विकास होइन, निराशा र आक्रोशको घुर्मी खोला बगिरहेको छ।
यही खोलाले मिर्चैया नगरपालिका–११, सोनिगदवाहाका मात्र होइन, वरिपरिका १० वटा गाउँका हजारौँ नागरिकको जीवन नै दशकौँदेखि रोकिरहेको छ।
घुर्मी खोलामाथि पुल नहुनु यहाँका बासिन्दाका लागि सामान्य समस्या होइन, जीवन–मरणको प्रश्न बनेको छ। वर्षायाम सुरु हुनासाथ खोलामा बाढी आउँछ। त्यसपछि वारि र पारि दुई छुट्टै संसार जस्तै बन्छन्।

विद्यालय जाने बालबालिकाले महिनौँसम्म पढाइ छोड्नुपर्छ। गर्भवती महिला, वृद्ध र गम्भीर बिरामी उपचार नपाएर जोखिममा पर्छन्। एम्बुलेन्स खोलापारि नै रोकिन्छ, बिरामी खोलापारि नै छट्पटाइरहन्छन्।
स्थानीय रासलाल मुखिया भन्छन्, ‘यही क्षेत्रबाट पाँच जना मन्त्री भइसके। २० वर्षभन्दा बढी समय उनीहरूले चुनाव जिते। तर आजसम्म एउटा पुल बनाउन सकेनन्। अब हामीलाई यस्ता नेताहरूप्रति कुनै विश्वास छैन।
चुनावमा पुलको आश्वासन, जितेपछि बेपत्ता
स्थानीयका अनुसार घुर्मी खोलाको पुल हरेक चुनावको स्थायी एजेन्डा हो। नेताहरू घरदैलोमा पुगेर ‘यो पटक पक्का बनाइदिन्छु’ भन्छन्, मत माग्छन्, जित्छन् अनि हराउँछन्।

स्थानीय अशोककुमार साहको आक्रोश यसरी पोखिन्छ, ‘पुल नहुँदा बिरामी परे एम्बुलेन्स सिधै आउन सक्दैन। कल्याणपुर र नरहा हुँदै घुमेर जानुपर्छ। कहिलेकाहीँ ढिलाइ हुँदा ज्यान नै जोखिममा पर्छ। नेताहरूले यो देख्दैनन् । सबै कुरा देखेर पनि नदेखेझैं गर्छन् ।’
यो समस्या कुनै प्राकृतिक विपत्ति मात्र होइन, राजनीतिक उपेक्षा र असफल नेतृत्वको परिणाम भएको स्थानीयको ठोकुवा छ।
स्थानीय जगतु मुखियाका अनुसार करिब पाँच दशकदेखि घुर्मी खोलाले दशभन्दा बढी बस्तीलाई दुःख दिँदै आएको छ।
उनी भन्छन्, ‘वर्षायाममा बाढी आउँदा वारिको मान्छे वारि, पारिका मान्छे पारि नै बस्न बाध्य हुन्छन्। न स्कुल जान सकिन्छ, न त अस्पताल। महिला, बालबालिका र वृद्ध सबैभन्दा बढी प्रभावित छन्।’

स्थानीय महिला रत्नदेवी मुखियाको गुनासो पनि उस्तै छ । उनी भन्छिन्, ‘नेताहरू चुनावमा मात्रै आउँछन्। पुल बनाइदिन्छौँ भन्छन्। चुनाव जितेपछि गाउँ फर्केर हेर्न पनि आउँदैनन्। हाम्रो पीडा भाषणका लागि मात्रै हो ।’
घुर्मी खोला हिउँदमा सुक्दैमा समस्या सकिँदैन। उखु किसानका लागि यो खोला वर्षैभरि बाधा बनेको छ।
किसान भुटाइ मुखिया भन्छन्, ‘पुल नहुँदा उखु चिनी मिलसम्म पुर्याउन सवारी साधन आउँदैन। ढुवानी खर्च बढ्छ, समय खेर जान्छ। किसान सधैँ घाटामा पर्छन्। सरकार किसानमुखी नीति बनाएको दाबी गर्छ, तर बाटो र पुल नहुँदा त्यो नीति कागजमै सीमित हुन्छ।’

सिरहा–४ का जनताले ठूला आयोजना होइन, एउटा साधारण पुल मागेका हुन्। घुर्मी खोलामाथिको पुल आज केवल संरचना होइन, नेताहरूको इमानदारी र जवाफदेहिताको परीक्षा बनेको छ।
यसपटक पनि चुनाव सकिएपछि पुलको कुरा बग्ने कि जनताको आक्रोशले नेताहरूलाई उत्तरदायी बनाउने, यसको निर्णय मतदाताको हातमा छ।
प्रतिक्रिया 4