+
+
Shares
फ्याक्ट चेक :

राजेन्द्र लिङ्देनको दलितविरोधी अभिव्यक्ति भन्दै भाइरल भएको दाबीको तथ्य के हो ?

अनलाइनखबर/नेपाल फ्याक्ट चेक अनलाइनखबर/नेपाल फ्याक्ट चेक
२०८२ माघ २१ गते १४:५७

पछिल्ला केही दिनयता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दलितलाई मन्दिर छिर्न दिन नहुने भनेको दावी गर्दै एउटा पोस्टर सामाजिक सञ्जालमा भाइरल बनेको छ। राप्रपा अध्यक्ष लिङ्देन र गाईको चित्र प्रयोग गर्दै बनाइएको तस्वीरमा ‘अब दलितलाई मन्दिर छिर्न दिनहुँदैन : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन’ लेखिएको छ। तर, हाम्रो तथ्य जाँचले उक्त भाइरल पोस्टरमा लेखिएको जस्तो लिङ्देनले दलितलाई मन्दिर छिर्न दिन नहुने भनेको अभिव्यक्तिको प्रमाण कहीँ भेटेनौँ ।

के हो दाबी ?

गत जनवरी २९ तारिख बिहीबार दिउँसो सितु सीता नामकी फेसबुक प्रयोगकर्ताले एउटा भिडियो पोस्ट गरिन्। भिडियोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अब दलितलाई मन्दिर छिर्न दिनहुँदैन भनेको दाबी गर्दै उनले आपत्ति जनाइन्। एक मिनेट ४८ सेकेन्डको भिडियोमा उनले नेपालको हिन्दु धर्मको जर्गेना गर्ने दलितहरू भएको भन्दै लिङ्देनप्रति आक्रोश पोखेकी छिन्।

‘अब दलितलाई मन्दिर छिर्न दिनहुँदैन : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन’ लेखिएको पोस्टरसहित उनले दिएको अभिव्यक्तिमा हामीले तथ्य जाँच गर्दै गर्दा ६२ हजार दुई सय लाइक, ७ हजार एक सय कमेन्ट र ६ हजार दुई सय पटक शेयर गरिएको छ। यस्तै, उक्त भिडियो ७ लाख १७ हजार पटक हेरिएको छ ।

भिडियोको स्क्रिन रेकर्ड हेर्न यहाँ क्लिक गर्नुस्।

उक्त पोस्टरलाई निर्मला लुवार (अर्काइभ लिङ्क), लोकेन्द्र विके, (अर्काइभ लिङ्क) शेरु विके (अर्काइभ लिङ्क) लगायतका फेसबुक एकाउन्टहरूमा पनि आपत्ति जनाउँदै पोस्ट गरिएको छ ।

के हो तथ्य ?

हामीले तथ्य जाँच गर्ने क्रममा भाइरल भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको फोटो र भनाई दावी गरिएको पोस्टरलाई ध्यान दिएर हेर्‍यौँ। उक्त पोस्टरमा लिङ्देनले उक्त अभिव्यक्ति कहाँ दिएको, कहिले दिएको भन्ने उल्लेख थिएन।

उनको दाबी गरिएको ‘अब दलितलाई मन्दिर छिर्न दिनहुँदैन’ भन्ने अभिव्यक्तिलाई खोज्यौँ । तर, उनले यस्तो अभिव्यक्तिको समाचार, भिडियो वा अडियो लिङ्क कुनै पनि फेला पार्न सकेनौँ।

राप्रपा अध्यक्ष लिङ्देनको फेसबुक पेजमा भने दलित समुदायको सम्बन्धमा बोल्दै नबोलेको र कल्पनासम्म नगरेको विषयलाई सुनियोजित रूपमा प्रचार गरिएको भन्दै स्पष्टीकरण दिएको फेला पार्‍यौँ।

उनले गत जनवरी २९ मै फेसबुकमा स्पष्टीकरण दिँदै लेखेका छन्, ‘मैले दलित समुदायको सम्बन्धमा बोल्दै नबोलेको र कल्पनासम्म नगरेको विषयलाई सुनियोजित रूपमा प्रचार गरिएको पाइएको छ। यस कार्यमा संलग्नहरूले तत्काल आफ्नो गल्ती सच्याउन आग्रह गर्दछु। अन्यथा साइबर कानुनको सहारा लिन बाध्य हुने समेत जानकारी गराउँछु। भ्रममा नपर्न समेत सबैमा आग्रह गर्दछु।’

हेर्नुहोस्, राप्रपा अध्यक्ष लिङ्देनले फेसबुकमार्फत दिएको स्पष्टीकरणको स्क्रिन सट :

राप्रपा अध्यक्ष लिङ्देनले फेसबुकमार्फत दिएको स्पष्टीकरण हेर्न यहाँ क्लिक गर्नुहोस् :

हामीले यस विषयमा राप्रपाका प्रवक्ता मोहन श्रेष्ठसँग कुरा गर्‍यौँ। उनले नेपाल फ्याक्टचेकसँगको कुराकानीमा सामाजिक सञ्जालमा फैलाइएको कुरा सत्य नभएको र आफूहरू कानुनी उपचारको लागि साइबर ब्युरो र निर्वाचन आयोगमा पुगेको बताए।

श्रेष्ठसँग नेपाल तथ्य जाँचले गरेको कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस् :

राप्रपाले प्रहरीको साइबर ब्युरोमा दिएको उजुरी 

तथ्य जाँच

दावी : ‘अब दलितलाई मन्दिर छिर्न दिनहुँदैन : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन’ लेखिएको भाइरल पोस्ट।

दावीकर्ता : सितु सीता, लोकेन्द्र विके, शेरु विके लगायतका फेसबुक प्रयोगकर्ता ।

तथ्य : अपुष्ट/प्रमाण छैन। राप्रपा अध्यक्ष लिङ्देनको अभिव्यक्ति भनी भाइरल भए पनि दावीकर्ताले उक्त अभिव्यक्तिको अडियो, भिडियो कुनै पनि प्रमाण राख्न सकेको छैन भने यससम्बन्धी कुनै समाचार पनि मिडियामा प्रकाशन भएको देखिँदैन। राप्रपाले यस विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरेको छ।

(अनलाइनखबर र नेपाल फ्याक्ट चेकको सहकार्य)

लेखक
अनलाइनखबर/नेपाल फ्याक्ट चेक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?