+
+
Shares

कांग्रेस महामन्त्री पौडेलद्वारा अर्थतन्त्र सुधार र समृद्धिका लागि १५ बुँदे अवधारणा सार्वजनिक

‘काग्रेसले अब सपना मात्र देखाउने होइन, अपरेटिङ सिस्टम नै फेर्नुपर्छ’

महामन्त्री पौडेलले ‘२१औँ शताब्दीको लोकतान्त्रिक समाजवाद’बारे चर्चा गर्दै समाजवादले कसैको प्रगतिमा बाधक नभई बरु गरिबी र अभावमा कसैलाई पर्न नदिन सुरक्षा आवश्यक रहेको तर्क गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १२:२५

२२ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्ना १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेसले अब सपना मात्र देखाउने नभई ती सपनालाई नतिजामा बदल्ने ‘अपेरेटिङ सिस्टम’ नै फेर्नुपर्ने बताउँदै महामन्त्री पौडेलले भिडिओ वक्तव्यमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

वक्तव्यमा उनले वितरणमुखी र परनिर्भर अर्थतन्त्रबाट मुलुकलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रमा लैजानुपर्ने बताएका छन् । त्यसका लागि अहिलेको अर्थतन्त्रमा प्रणालीगत सुधार आवश्यक रहेको उनको तर्क छ ।

महामन्त्री पौडेलले ज्ञानमा आधारित अर्थतन्त्र परम्परागत श्रम र पसिनाको निर्यातबाट हटेर बौद्धिक पुँजी र ज्ञानको निर्यातमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

प्रविधिको प्रयोगमार्फत साना उद्यमी, युवा र दुर्गमका प्रतिभाहरूलाई सिधै विश्व बजारसँग जोड्ने गरी अवसरको लोकतन्त्रीकरण गरिनुपर्ने, आर्थिक इकोसिस्टमअन्तर्गत शिक्षा, बैंकिङ, कानुन र परराष्ट्र नीतिलाई एकअर्काको पूरक बनाउँदै एकीकृत प्रणाली विकास गर्ने, विश्वविद्यालयहरूलाई ‘अनुसन्धान र आविष्कार केन्द्र’ मा रूपान्तरण गर्नुपर्ने पनि महामन्त्री पौडेलको मत छ ।

यस्तै नेपालमा आर्थिक विकासमा कानुनी अड्चन एक प्रमुख कारक रहेको चर्चा गर्दै महामन्त्री पौडेलले दोस्रो चरणको आर्थिक सुधार र कानुनी पुनर्जागरणका लागि सर्वोच्च छाता ऐनमार्फत विकास र लगानीमा बाधक बनेका झन्झटिला कानुन विस्थापित गर्नुपर्ने बताएका छन् ।

मन्त्रालयबीच समन्वय अभाव र प्रशासनिक ढिलासुस्तीले अर्थतन्त्रको गतिमा बाधा परेको बताउँदै उनले फास्ट ट्रयाक सेवामार्फत समयबद्ध कार्यविधिको आवश्यकता औँल्याए ।

महामन्त्री पौडेलले ‘२१औँ शताब्दीको लोकतान्त्रिक समाजवाद’बारे चर्चा गर्दै समाजवादले कसैको प्रगतिमा बाधक नभई बरु गरिबी र अभावमा कसैलाई पर्न नदिन सुरक्षा आवश्यक रहेको तर्क गरेका छन् ।

महामन्त्री पौडेलले बौद्धिक पुँजीको महत्व, डिजिटल अर्थतन्त्र अन्तर्गत राइड–सेयरिङ, ई–कमर्स र डिजिटल प्लेटफर्महरूले सिर्जना गरेका अवसरहरूलाई कानुनी मान्यता दिँदै ‘स्टार्टअप’ हरूलाई प्रोत्साहन आवश्यक रहेको तर्क गरेका छन् ।
महामन्त्री पौडेलले आर्थिक कूटनीति र भू–आर्थिक पुलको अवधारणा आफ्नो वक्तव्यमा अघि सारेका छन् । वैदेशिक सहायताबाट लगानीतर्फ अघि बढ्नुपर्ने र विदेशी सहायतामा मात्र निर्भर रहने परम्परा तोडेर व्यापार र लगानी भित्र्याउने कूटनीति अवलम्बन गरिनुपर्ने उनले बताएका छन् ।

महामन्त्री पौडेलले नेपाली डायस्पोराको उपयोग गर्दै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई ‘ब्रन गेन’मार्फत राष्ट्र निर्माणमा जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?