अहिले सामाजिक सञ्जालमा झापामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा घण्टीको नारा लगाइएको दावीसहितको १५ सेकेन्डको भिडियो भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचमा यो भिडियो सही रहे पनि त्यसको अडियो अर्कै भिडियोबाट निकालेर सम्पादन गरी भ्रामक बनाइएको पुष्टि भएको छ।
के हो दाबी ?
नरेश कार्की नामका फेसबुक प्रयोगकर्ताले ‘झापामा ओलीको कार्यक्रममा घण्टीको नारा’ लेख्दै बुधबार (२०२६ फेब्रुअरी ४) बेलुकी एउटा भिडियो अपलोड गरेका छन्। भिडियोमा दुई फ्रेममा एउटामा केपी ओली र कार्यकर्ताहरु देखिन्छन् भने अर्कोमा दुई जना व्यक्ति हाँसिरहेका देखिन्छन्।
भिडियोमा एमाले कार्यकर्ताको बीचमा केपी ओली फूलमालामा छन्, उनको पछाडि नेपालको नक्सा पनि देखिन्छ। भिडियोमा नारा सुनिन्छ। सुरुमा ‘नेकपा एमाले जिन्दावाद’ सुनिन्छ। त्यसपछि ‘भोट केमा घण्टीमा’ सुनिन्छ।
यो तथ्य जाँचको समयसम्म यो भिडियोमा ३५ सयले रियाक्सन, ८१ कमेन्ट, १४८ सेयर र ८१ हजारले हेरेका छन्। कमेन्ट गर्ने अधिकांशले यसलाई पत्याएको देखिएकोले हामीले तथ्य जाँच गर्ने निधो गर्यौँ। हेर्नुस् स्क्रिनसट-

के हो तथ्य ?
तथ्य जाँच गर्नका लागि हामीले यो भिडियोबाट स्क्रिनसट गरेर एउटा फ्रेम निकाल्यौं। त्यो फ्रेमलाई गुगल रिभर्स इमेज सर्च गरेर हेर्यौँ। नतिजामा ‘देशको न्युज टिभी’ नामक युट्युब च्यानलमा सोही ठाउँको भिडियो फेला पर्यो तर त्यहाँ नारा भने फरक लागेको थियो।
हेर्नुस् स्क्रिनरेकर्ड। ओरिजिनल भिडियो लिङ्क।
त्यसबेला के भएको थियो ?
आसन्न प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गर्न पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झापा पुग्दा उनलाई स्वागत गर्न नेता तथा कार्यकर्ताहरू चुच्चे नक्सासहित भद्रपुरको चन्द्रगढी विमानस्थल पुगेको नागरिकन्युजमा समाचार प्रकाशित छ। नागरिकमा प्रकाशित फोटो र भाइरल भिडियोको फ्रेम उही छ ।
सोही क्रममा कार्यकर्ताले नेकपा एमालेको समर्थनमा नारा लगाएको अर्को भिडियो युट्युबमा अच्युत पुरीले अपलोड गरेको देखिन्छ। त्यहाँ पनि भाइरल भिडियोमा जस्तो घण्टीको पक्षमा नारा लगाएको देखिन्न । हेर्नुस् भिडियो
तथ्य जाँच
दावी : झापामा ओलीको कार्यक्रममा घण्टीको नारा लागेको भिडियो।
दावीकर्ता : नरेश कार्की (फेसबुक प्रयोगकर्ता)
तथ्य : भ्रामक सूचना। भिडियो सही हो तर त्यसमा लागेको नाराको अडियो सम्पादन गरी थपिएको हो। वास्तविक भिडियोमा त्यस्तो नारा लागेको छैन।
(अनलाइनखबर र नेपालफ्याक्टचेकको सहकार्य)
प्रतिक्रिया 4