२३ माघ, काठमाडौ । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कुर्सीमा विभिन्न लाञ्छनायुक्त पर्चा टाँसेको छ ।
त्रिविका चार वटा विभागको शुल्क घटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेको क्रान्तिकारीले उपकुलपति प्रा.डा. दिपक अर्याल र रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालको कुर्सीमा पर्चा टाँसेको हो ।
केही दिनअघि शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोडसमेत भएको थियो ।
तर अखिल क्रान्तिकारीले बिहीबार विरोध र दबाबका लागि ‘सांकेतिक’ आन्दोलन गरेको जनाएको छ । ‘वार्ता र छलफलका लागि कुर्यौं तर कनै पहल गरेको छैन । त्यसको विरोध स्वरुप सांकेतिक आन्दोलन गरेका हौं,’ अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष दिनेश ऐरले भने ।
त्रिविका अधिकारीहरू विद्यार्थी संगठनले पदाधिकारीको कुर्सीमा अपशब्द टाँसेर दुर्व्यवहार गरेको दाबी गर्छन् । ‘पदाधिकारी सरको कार्यकक्षमा आएर जथाभावी लेखेर गए । यो त दुर्व्यवहार हो,’ त्रिवि केन्द्रीय कार्यालयका एक अधिकारीले भने, ‘विद्यार्थीबाट पदाधिकारी/ कर्मचारी डराउनु पर्ने अवस्था छ ।’
अखिल क्रान्तिकारीले पनि आफूहरूमाथि प्रशासन लगाएको आरोप लगाएको छ । ‘हाम्रो साथीलाई प्रहरी लगाएर गिरफ्तार गरियो । दुई तीन घण्टा राखेर छोडियो,’ ऐरले भने ।
मानविकी संकाय अन्तर्गतका चारवटा सेल्फ–सस्टेन प्रोग्राम केन्द्रीय विभागमा ल्याएपछि सहमति अनुसार शुल्क समायोजन नभएको उनको भनाइ छ । त्रिवि प्रशासनका अनुसार शुल्क पुनरावलोकन गर्न कार्यदल गठन भइसकेको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययनको शुल्क घटाउन क्रान्तिकारीको माग छ ।
यसअघि पदाधिकारीको कार्यकक्षमा क्रान्तिकारीले ताला लगाएको थियो । तर सर्वोच्च अदालतको आदेश अनुसार प्रहरी प्रशासनले ताला खोलेको थियो । ताला खोले पनि क्रान्तिकारीले प्रवेशमा रोक लगाएकाले पदाधिकारीहरु आफ्नो कार्यकक्ष जान पाएका छैनन् ।
प्रतिक्रिया 4