२३ माघ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा बिहीबार भएको बस दुर्घटनाका घाइते अमरराज जोशी आफूले ढोकाबाट हाम फालेर बाँच्न सफल भएको बताएका छन् । उकालो घुमाउरो बाटोमा मोडिन नसकेपछि ‘ब्याक’ गर्दा बस भिरालोमा खसेको जोशीको बुझाइ छ ।
‘उकालोमा मोड थियो, चालकले मोड्न सकेनन्,’ जोशीले भने, ‘बस ब्याक गइरहेको अवस्थामा जसोतसो ढोकाबाट हाम फालेँ । त्यहाँ उत्तिसको रुख रहेछ । त्यहीँ अड्किएछु ।’
आफूलाई खास्सै ठुलो चोट नलागेको उनले बताए । बस दुर्घटना भएपछि नजिकैका स्थानीय र प्रहरीलाई जानकारी गराएको जोशीले बताए ।
जोशीका अनुसार जन्ती बसमा सवार दुलही पट्टी आफन्तको संख्या पनि ठुलै थियो । ‘बेहुलीको घरमा गएका बाटोमा घर पर्नेहरू माइतीपट्टीका जन्तीहरू पनि बसमा चढ्नुभएको थियो,’ उनले भने ।
आफू देवीदेवताप्रति आस्था राख्ने व्यक्ति भएको बताउँदै जोशीले आफूले पुनर्जीवन पाएको अनुभूति भइरहेको भनेका छन् । ‘म सधैँ देवी देवताप्रति विश्वास गर्ने मान्छे हुँ । आज त्यो विश्वासले नै मलाई फेरि एकचोटि जीवन दिएको महशुस भइरहेको छ,’ जोशीले भने ।
नयाँ जीवनमा समाजका लागि केही राम्रो काम गर्ने र भगवानले त्यसैका लागि जीवनदान दिएको उनको धारणा छ । ‘सबैको माया, आशीर्वाद र भगवानको संरक्षण सधैँ रहिरहोस् । भगवानप्रति नमन छ,’ उनले भने ।
पुर्चाैडी नगरपालिका–७ को भौनीबाट दुलही लिएर फर्किरहेको जन्ती बस बिहीबार साँझ सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको सो बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुःख व्यक्त गर्दै बैतडीको पुर्चाैडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
प्रतिक्रिया 4