२३ माघ, काठमाडौं । प्रहरीले गोली हानेर ६५ तोला सुनसहित पक्राउ गरेका प्रेम थारु पटके अभियुक्त रहेको खुलेको छ ।
अपराधको दुनियाँमा सुप्रिम, विकास, सौरभ जस्ता नामले परिचित थारुलाई बुधबार राति नागार्जुन नगरपालिका–६ पुरीगाउँस्थित सडकबाट पक्राउ गरेको थियो ।
जाँच गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली चलाएर थारुलाई पक्राउ गरेको थियो । खुट्टामा गोली लागेर घाइते भएका थारुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–३ घर भएका उनी काठमाडौं उपत्यकामा हुने श्रंखलाबद्ध चोरी र लुटपाटका घटनामा संलग्न रहेको पाइएको प्रहरीले बताएको छ ।
उनीबाट प्रहरीले ७६४.३५ ग्राम सुन, १ किलो १५२ ग्राम चाँदी, नगद १ लाख ६३ हजार ६५५, हिरा १५.५५ ग्राम, अमेरिकन डलर १ हजार १०४, भारु ५ हजार ५ सय, चिनियाँ युआन ८२, श्रीलंकन २०, मेलेसियन रिंगेट ३ लगायत अन्य मुलुकका मुद्रा पनि बरामद गरेको छ ।
उनीविरुद्ध प्रहरी वृत्त बौद्धबाट यसअघि २ पटक मुद्दा चलेको भेटिएको छ । प्रहरीका अनुसार २९ मंंसिर २०७९ मा मुद्दा चली ३ वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् उनी । उनलाई ६० हजार जरिवाना पनि तोकिएको थियो ।
उनले ३ करोड ६ लाख १४ हजार २ सय रुपैयाँ बराबरको गरगहना, नगद चोरी भएको भन्दै ९ पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।
पेरोलमा छुटेका व्यक्ति
प्रहरीले गोली हानेर समातेका थारु ‘पेरोल’मा कारागारबाट छुटेका व्यक्ति रहेको पाइएको छ । ‘पेरोल’ भन्नाले ‘राम्रो चालचलन’ भएको भन्दै कारागार बाहिरै बसेर कैद भुक्तान गर्न मिल्ने सुविधासहित सरकारले दिएको छुट हो । यही सुविधाअनुसार उनी २५ जेठ २०८२ मा कारागारबाट छुटेका थिए ।
नत्र उनी २०८२ मंसिरसम्म कारागारमा बस्नुपर्ने हुन्थ्यो । असल चालचलन भन्दै पेरोलमा छुटेका उनै थारुले भने अपराध श्रंखला चलाए । अनि फेरि चोरीको दुनियामा लागेको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई बताउँछन् ।
लुगा सुकाउन गएको मौकामा १ करोड चोरी
थारु तिनै व्यक्ति हुन्, जसले चार दिनअघि मात्रै काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालको एक घरबाट एक करोड रुपैयाँ बराबरको चोरी गरेका थिए ।
टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहनाहरू चोरी भएको थियो ।
दिउँसो कपडा धोएर छतमा सुकाउन गएको मौकामा ती गरगहना चोरी भएका थिए । यो चोरीमा संलग्न भएको यिनै प्रेम थारु नै रहेको पाइएको एसपी भट्टराईले बताए ।
प्रतिक्रिया 4