+
+
Shares

कसरी बनाइन्छ र फैलाइन्छ मिथ्या सूचना ?

राजनीतिक प्रतिस्पर्धामा ‘हिलो छ्यापाछ्याप’ गर्दा क्षणिक रूपमा कसैलाई फाइदा पुगेजस्तो लाग्न सक्छ, तर अन्ततः त्यसले सम्पूर्ण सार्वजनिक बहसलाई प्रदूषित बनाउँछ।

उज्ज्वल आचार्य उज्ज्वल आचार्य
२०८२ माघ २३ गते १५:२७

बुधबार माघ २१ गते बिहान सोसल मिडियामा केही पेज र व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको विकिपिडिया पेजको तस्बिर हाल्दै कि उनले आफ्नो धर्म क्रिश्चियन राखेको कि निर्वाचनको पूर्वसन्ध्यामा आफू क्रिश्चियन भनी उल्लेख भएको मेटेको दाबी गरे ।

यो प्रकरण मिथ्या सूचना कसरी निर्माण गरिन्छ र त्यसबाट कसरी भ्रम सिर्जना गरिन्छ भन्ने एउटा उदाहरण हो ।

स्वर्णिम वाग्ले क्रिश्चियन भएको भाष्य निर्माण गर्न विकिपिडिया पेजलाई अनधिकृत रुपमा सम्पादन गरेर त्यसको स्क्रिनसटको साहारा लिइएको हो । विकिपिडिया जसले पनि सम्पादन गर्न मिल्ने इन्टरनेटको निशुल्क इन्साइक्लोपिडिया हो तर नयाँ र अपरिचित प्रयोगकर्ताले गरेको सम्पादनलाई यसले निगरानी गर्न र मिथ्या सम्पादन गरेको देखिए ती पेज पुरानै रुपमा फर्कन्छ । यही दुई संभावनालाई लिएर वाग्लेको पेज सम्पादन गरिएको र त्यो सम्पादन गलत मानी पुरानै रूपमा फर्किएपछि वाग्लेले धर्मको महल मेटेको भनी दूष्प्रचार गरिएको हो ।

यो कसरी भयो सिलसिलेबार हेरौँ ।

दाबी

यस्तो दाबी गर्नेहरूमध्ये केही राष्ट्रिय युवा परिषद्का कार्यकारी सदस्य र अनेरास्ववियु केन्द्रीय कमिटीका निवर्तमान उपाध्यक्ष गोविन्द गिरीको नामको ४८ हजार फलोअर भएको प्रोफाइल, ८९ हजार फलोअर भएका सावन सिकिन्द्र (सहानी), ३१ हजार फलोअर भएका मोहन लामा रुम्बा (यो पोस्ट हाल नखुल्ने बनाइएको छ) , १८ हजार फलोअर भएको सनातन चौतारी र १७ हजार फलोअर भएको जीके टिच नेपाल ग्रुपलगायत थिए ।

रुम्बाले एउटा भिडियो हाल्दै के रहेछ हेरौँ भन्दा धर्ममा क्रिश्चियन नै राखेको रहेछ पछि इडिट हुन्छ भनेपछि भिडियो बनाएको भनेका छन् । (हाल यो भिडियो हेर्न नमिल्ने बनाइएको छ ।)

वाग्लेको विकिपिडिया पेज

विकिपिडिया पेजको अर्को विशेषता यसमा भएका सम्पादन र पुरानो स्वरुप हेर्न मिल्ने हो । उनलाई क्रिश्चियन देखाउने गरी सम्पादनको प्रयास माघ २० को राति शुरु भएको हो । पुसको आधाआधीतिर अन्तिम सम्पादन भएको उनको पेज माघ १३ गते दिउँसोसम्म यस्तो थियो:

माघ १४ गते उनको पेजमा सम्पादन गरी प्रोमिनेन्ट साउथ एसियन इकोनोमिस्ट (दक्षिण एसियाको ख्यातिप्राप्त अर्थशास्त्री) भन्ने शब्द हटाई पास्टर शब्द राख्ने प्रयास गरियो जुन लामो समय रहन सकेन । तलको विकिपिडिया पेजको सम्पादन इतिहासमा यो कुरा स्पष्ट देख्न सकिन्छ ।

त्यसपछि माघ १९ गते बेलुकी ३ पटक र माघ २० गते बिहान १३२ पटक सो पेज सम्पादन भएको छ । त्योमध्ये आधा पटक गलत सम्पादन भयो भनेर विकिपिडियामा स्वयंसेवक पुराना प्रयोगकर्ताहरूले यो पेजलाई पुरानै रुपमा फर्काएका हुन् भने आधा जति उनको पेजमा नकारात्मक कुरा थप्ने प्रयास भएको हो ।

उदाहरणका लागि तलका चार स्क्रिनसटहरूमा विभिन्न समयमा उनको परिचयको विभिन्न खण्डमा क्रिश्चियन दर्शाउने शब्दहरू राख्न गरेको प्रयास देखिन्छ ।

यो सम्पादनको अर्थ के?

माघ २० गते बिहान १:४४ देखि दिउँसो १:३० सम्म स्वर्णिम वाग्लेको पेज दर्जनौँ पटक मोबाइलबाट सम्पादन भएको छ जुन धेरै जसो “-२०२६” बाट नाम शुरु हुने प्रयोगकर्ताहरूले गरेका छन् । यस्तो नाम विकिपिडियाले नयाँ तर नाम दर्ता गरेर सम्पादन गर्न नचाहनेहरूका लागि स्वत: दिने नाम हो । यी सम्पादनहरू धेरै जसो एक दुई शब्द परिवर्तन गर्ने र एकअर्काको कामलाई उल्टाउने जस्तो गरी भएको छ जुन सामान्य सम्पादन व्यवहार होइन, बरु पेज बिगार्ने संगठित प्रयास हो । यस्तो पेज बिगार्ने प्रवृत्तिविरुद्ध विकिपिडियामा दर्ता भएर लामो समयदेखि सम्पादन गरिरहेका प्रयोगकर्ताहरू Jessicapierce, User3749, HomeofIR र Zackmann08 ले गलत सम्पादनलाई पटकपटक उल्टाएका छन् ।

सबै सम्पादन धर्मबारे मिथ्या सूचनामा केन्द्रित भएका छन् र विभिन्न स्थानमा धर्म थप्ने प्रयास भएका छन् । उदाहरणका लागि ~२०२६-७६४५८-४ नामका प्रयोगकर्ताले माघ २० गते बिहान सवा १० बजे “हि इज प्रमोटिङ् क्रिष्ट्रियानिटी इन नेपाल” (उनी नेपालमा क्रिष्ट्रियन धर्म फैलाउँछन्) भन्ने वाक्य थपेका छन् ।

धेरै शंकास्पद सम्पादन भइरहेपछि Malcolmxl5 नामक पुराना प्रयोगकर्ताले पेजलाई नाम दर्ता गरेका पुराना प्रयोगकर्ताले मात्रै सम्पादन गर्न सक्ने बनाएका छन् । त्यसपछि यो पेजमा सम्पादन गर्ने प्रयास भएको देखिन्न ।

समग्रमा भन्नुपर्दा डा. स्वर्णिम वाग्लेको विकिपिडिया पेजको माघ १९ र २० गतेको सम्पादन इतिहासले बेनामी प्रयोगकर्ताहरूले संगठित रुपमा धर्म-केन्द्रित सम्पादन गर्ने प्रयास गरेको देखिन्छ ।

मिथ्या सूचनाको उत्पादन र फैलावट

वाग्लेको विकिपिडिया पेजको यो प्रकरणले मिथ्या सूचना आकस्मिक रूपमा होइन, योजनाबद्ध रूपमा कसरी निर्माण र फैलाइन्छ भन्ने स्पष्ट देखाउँछ।

यसका लागि पहिलो चरणमा विकिपिडिया जस्ता खुला प्लेटफर्मको दुरुपयोग गरिन्छ । सबैले सम्पादन गर्न सक्ने प्लेटफर्ममा बेनामी वा नयाँ प्रयोगकर्ताबाट धर्मजस्ता संवेदनशील विषयसम्बन्धी मिथ्या जानकारी घुसाइन्छ। यस्तो सम्पादन टिकाउ हुँदैन भन्ने जानकारी हुँदाहुँदै पनि त्यसको उद्देश्य दीर्घकालीन सूचना परिवर्तन होइन, क्षणिक ‘प्रमाण’ उत्पादन गर्नु हो।

दोस्रो चरणमा उक्त क्षणिक प्रमाणको स्क्रिनसट लिइन्छ। विकिपिडियाजस्तो अन्तर्राष्ट्रिय र विश्वसनीय ठानिने प्लेटफर्मको लोगो, डिजाइन र संरचनाले त्यो स्क्रिनसटलाई आम प्रयोगकर्ताका आँखामा “प्रमाणित तथ्य” जस्तो देखाइदिन्छ। यही प्रमाणलाई “पहिले यस्तो थियो, पछि मेटाइयो” भन्ने कथानक जोडेर सन्दर्भविहीन रूपमा सामाजिक सञ्जालमा प्रस्तुत गरिन्छ ।

तेस्रो चरणमा सामाजिक सञ्जालका पेज र प्रभावशाली प्रोफाइलहरू प्रयोग गरिन्छ । हजारौँ फलोअर भएका पेज र व्यक्तिहरूले एउटै स्क्रिनसटलाई आ–आफ्नो भाष्य जोडेर सेयर गरेपछि त्यो मिथ्या सूचना व्यक्तिगत शंकाबाट सामूहिक भ्रममा रूपान्तरण हुन्छ। कतिपय अवस्थामा यस्तो भाष्य फैलाउनेले “आफूलाई थाहा नभएको तर यस्तो देखेको, खै के हो” भन्ने जस्ता भाषा प्रयोग गर्छन् । निर्वाचनजस्तो संवेदनशील समयमा धर्मसँग जोडिएको यस्तो दाबीले भावनात्मक प्रतिक्रिया उक्साउने र राजनीतिक ध्रुवीकरण बढाउने काम गर्छ।

चौथो चरणमा जब मूल स्रोतमा गरिएको गलत सम्पादन सच्याइन्छ, त्यसैलाई “हेर्नुस्, पछि मेटाइयो” भनेर अर्को मिथ्या दाबीको आधार बनाइन्छ । यसरी सही सूचना पुनःस्थापना हुनु नै षड्यन्त्रको ‘प्रमाण’ जस्तो गरी प्रस्तुत गरिन्छ । वास्तविकता के हो भन्नेभन्दा पनि भ्रम सिर्जना भइसकेको हुन्छ।

यस प्रकरणले देखाउँछ कि आजको डिजिटल वातावरणमा मिथ्या सूचना केवल मिथ्या कुरा लेखेर होइन, प्राविधिक संरचना, स्क्रिनसट वा तोडमरोड गरिएका तस्बिरहरू र सामाजिक सञ्जालको पहुँच प्रयोग गरेर उत्पादन र प्रचार गरिन्छ र निर्वाचनलाई प्रभाव पार्ने प्रयास गरिन्छ ।

आमनागरिकले के गर्ने?

आउँदो निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमा मिथ्या सूचना र भ्रामक सामग्रीको मात्रा बढिरहेको छ। यस्ता सामग्रीले क्षणिक रूपमा कसैलाई राजनीतिक फाइदा पुगेजस्तो देखिए पनि दीर्घकालीन रूपमा यसले हाम्रो समाज, आपसी विश्वास र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउँछ। त्यसैले मिथ्या सूचनाबाट जोगिनु मात्र होइन, त्यसको फैलावट रोक्न सक्रिय भूमिका खेल्नु आज प्रत्येक आमनागरिकको जिम्मेवारी बनेको छ।

आमनागरिकका रूपमा हामीले यस्ता सामग्री देख्दा पहिलो र सबैभन्दा सहज कदम भनेको त्यसलाई बेवास्ता गर्नु हो। सामाजिक सञ्जालका एल्गोरिदमहरू प्रयोगकर्ताको ध्यान, प्रतिक्रिया र संलग्नतामा आधारित हुन्छन्। कुनै सामग्रीलाई हेर्नु, लाइक गर्नु, कमेन्ट गर्नु वा सेयर गर्नु नै त्यसलाई थप फैलाउने इन्धन हो। त्यसैले यस्ता भ्रामक सामग्रीमा समय नदिनु, प्रतिक्रिया नजनाउनु र सेयर नगर्नु नै प्रभावकारी प्रतिरोध हो।

यस्तै, यस्ता सामग्री देखेपछि तुरुन्तै आफ्नो धारणा बनाउन वा अरूसँग फैलाउन हतारिनु हुँदैन। “हेर्दा त यस्तो देखिन्छ, खै के हो?” भन्ने जस्ता वाक्य प्रयोग गरेर गरिएको सेयर पनि अन्ततः मिथ्या सूचनाको प्रवाहमै जोडिन्छ। यदि कुनै दाबी शंकास्पद लाग्यो भने त्यसलाई तुरुन्तै सत्य ठान्नु वा असत्य ठान्नु हुँदैन। शंका गर्ने यही सानो सावधानीले मिथ्या सूचनाले पार्ने प्रभावलाई धेरै हदसम्म कम गर्न सक्छ।

अझ महत्त्वपूर्ण कुरा, आफूले समर्थन गर्ने दल, नेता वा विचारको पक्षमा भन्दै यस्ता सामग्री निर्माण गर्ने वा सेयर गर्ने प्रवृत्तिबाट टाढा रहनु जरुरी छ। राजनीतिक प्रतिस्पर्धामा ‘हिलो छ्यापाछ्याप’ गर्दा क्षणिक रूपमा कसैलाई फाइदा पुगेजस्तो लाग्न सक्छ, तर अन्ततः त्यसले सम्पूर्ण सार्वजनिक बहसलाई प्रदूषित बनाउँछ। हिलो छ्याप्दा विपक्षी मात्र होइन, समग्र समाज नै फोहर हुन्छ भन्ने यथार्थ बुझ्नु आवश्यक छ।

मिथ्या सूचनाको युगमा सचेत नागरिक हुनु भनेको सबै कुरा जान्नु होइन, नजानेको अवस्थामा पनि जिम्मेवार व्यवहार गर्नु हो। देखेको हरेक कुरा सत्य नठान्ने, भावनामा बगेर प्रतिक्रिया नदिने र भ्रामक सामग्रीलाई थप नफैलाउने जस्ता साना तर जिम्मेवार व्यवहारले हाम्रो समाज, राजनीति र लोकतन्त्रलाई बलियो बनाउँछन्।

लेखक
उज्ज्वल आचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?