News Summary
Generated by OK AI. Editorially reviewed.- शेर मल्लले टी-२० विश्वकपमा इंग्ल्याण्ड विरुद्ध पहिलो बलमै विकेट लिएर आफ्नो डेब्यूलाई यादगार बनाएका छन्।
- उनले नेपाल प्रिमियर लिग दोस्रो संस्करणमा लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिएपछि राष्ट्रिय टिममा परेका थिए।
- शेरले ललित राजवंशीलाई पछि पार्दै सन्दीप लामिछानेसँगै पहिलो रोजाइमा खेल्दै नेपालका लागि विश्वकपमा डेब्यु गरेका छन्।
२५ माघ, मुम्बई । शेर मल्लले टी-२० विश्वकपमार्फत डेब्यू गर्दै आफ्नो डेब्यूलाई यादगार बनाएका छन् । टी-२० विश्वकपमा दुई पटकको विश्व विजेता इंग्ल्याण्ड विरुद्ध डेब्यू अनि आफ्नो पहिलो बलमै विकेट ।
मिस्ट्री स्पीनरका रुपमा परिचित शेर मल्लले मुम्बईको आइकोनिक वानखेडे स्टेडियममा आइतबार इंग्ल्याण्ड विरुद्ध नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरे । शेरलाई राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले वानखेडे स्टेडियममा डेब्यु क्याप प्रदान गरेका थिए ।
टस हारेर पहिले बलिङ गरेको नेपालका लागि उनले इनिङ्सको दोस्रो ओभरमै बलिङ गर्न पाए । अनि आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिए । त्यो पनि ड्यान्जरस ओपनर फिल साल्टको ।
खेलकुदमा कुनै पनि खेलाडीले आफ्नो ड्रिम डेब्युको कल्पना गरेका हुन्छन् । तर सबैले त्यो अवसर भने पाउँदैनन् । शेरले भने ड्रिम डेब्यु गरे ।
शेर टी-२० विश्वकपको आफ्नो पहिलो बलमै विकेट लिने दोस्रो नेपाली खेलाडी समेत बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले सन् २०१४ मा बंगलादेशमा नेपालले टी२० विश्वकपमा डेब्यु गर्दै हङकङ विरुद्धको पहिलो खेलमा नेपालको इनिङ्सको पहिलो बलमै विकेट लिएका थिए ।
२३ वर्षीय स्पीनर यसै विश्वकपमार्फत पहिलो पटक नेपालको सिनियर टिममा समावेश भएका हुन् ।
घरेलु क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका शेरले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेपछि उनी राष्ट्रिय टिममा परेका थिए ।
उनले त्यसअघि गत वर्ष भएको नेपाल प्रिमियर लिगको पहिलो संस्करण पनि जितेका थिए जनकपुर बोल्ट्सबाट ।
पहिलो सिजन खासै धेरै मौका नपाएपनि दोस्रो सिजन भने शेर लुम्बिनी लायन्सका लागि महत्वपूर्ण खेलाडी थिए र आवश्यक परेका बेला विपक्षीको विकेट चड्काउँदै खेल आफ्नो पक्षमा पार्थे ।
नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल रहेकै टिम लुम्बिनी लायन्सबाट एनपीएल उपाधि जितेपछि शेरको चर्चा बढेको थियो ।
लोअर हर्डरमा हार्ड हिटिङ ब्याटिङ समेत गर्न सक्ने क्षमता भएका शेर बलिङ अलराउण्डर नै हुन् ।
उनले एनपीएल दोस्रो संस्करणमा १० खेल खेल्दै संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिएर इमर्जिङ प्लेयर समेत घोषित भएका थिए ।
त्यतिबेला नेपाल र लुम्बिनीका कप्तान रोहित पौडेलले शेरको भविष्य निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए ।
त्यही प्रभावशाली प्रदेशनले उनलाई राष्ट्रिय टिममा इन्ट्री गरायो र टी२० विश्वकप खेल्ने नेपाली टिममा समावेश भए ।
नेपालले विश्वकपमा समूह्य सी को आफ्नो चारै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्ने तय थियो र यस मैदानको पिचमा शेर जस्ता बलरका लागि सहयोग पुग्ने सक्ने भएर पनि उनका लागि राष्ट्रिय टिममा पर्न सहयोग पुग्यो ।
शेरले यसअघि नेपालको यू-१९ राष्ट्रिय टिम र नेपाल ‘ए’ बाट खेलिसकेका थिए र अब उनी नेपालका लागि टी२० अन्तर्राष्ट्रिय डेब्यु गर्ने ५३औं खेलाडी बने ।
यस पटक नेपाली टिममा सन्दीप लामिछाने ललित राजवंशी जस्ता विश्वकप नै खेलिसकेका स्पीनर थिए भने दीपेन्द्र सिंह ऐरी पनि छन् ।
यस्तोमा शेरले ललित राजवशींलाई पछि पार्दै सन्दीपसँगै पहिलो रोजाइमा खेल्दै नेपालका लागि विश्वकपमा डेब्यु गर्ने अवसर पाए । उनले उक्त अवसरलाई सही सदुपयोग गर्दै आफूलाई प्रमाणित गरिदिए ।
प्रतिक्रिया 4