+
+
Shares

झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको मृत्यु

रासस रासस
२०८२ माघ २६ गते ८:५९

२६ माघ, झापा । झापामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या केही दिनयता बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन् ।

अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा आइतबार भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।

बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१ त ९०१० नं को ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सहचालक अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेको थियो ।

यसैबीच, तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बाँस्कोटाको उपचारका क्रममा आइतबार नै मृत्यु भएको छ ।

बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचाररत बाँस्कोटाको आइतबार मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

माघ २१ गते बिहान अर्जुनधारा–३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो काट्दै गरेका पैदलयात्री बाँस्कोटालाई ठक्कर दिएको थियो ।

स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरी नियन्त्रणमा रहेका छन् । यसअघि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको थियो । माघ १ गते एकैदिन तीन जनाको ज्यान गएको थियो भने त्यसयता जिल्लामा प्राय: दिनहुँजसो सवारी दुर्घटनाबाट मानवीय क्षति भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?