२६ माघ, काठमाडौं । नेपालका पुराना दलहरूप्रतिको बढ्दो असन्तुष्टिमा टेकेर विवेकशील साझा पार्टीले प्रतिनिधिसभा निर्वाचन २०७४ मा वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउने प्रयास गर्यो ।
सुशासन, जवाफदेहिता र संस्थागत सुधारको नारा दिएर प्रतिनिभिसभा निर्वाचनमा भाग लिए पनि विवेकशील साझा पार्टीले उल्लेखनीय सिट भने जित्न सकेन । स्थानीय तह निर्वाचनसम्म आइपुग्दा काठमाडौं महानगरपालिकाको मेयर (प्रमुख) मा स्वतन्त्र उम्मेदवार बालेन शाहको विजयले वैकल्पिक शक्तिलाई प्रेरणा दियो ।
बालेन शाहको अकल्पनीय विजयबाट प्रेरित टेलिभिजन प्रस्तोता रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नामक दल गठन गरेर आफूलाई वैकल्पिक शक्तिका रूपमा अघि सारे ।
नेपाली जनताले महसुस गर्ने गरी जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतासहित रास्वपा प्रतिनिधिसभा निर्वाचन २०७९ अघि असार ७ मा घोषणा भयो । १० दिनपछि अर्थात २०७९ असार १७ मा रास्वपा निर्वाचन आयोगमा दर्ता भयो ।
सुशासन, भ्रष्टाचारको विरोध र संस्थागत सुधारलाई मुख्य मुद्दा बनाएर रास्वपा आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरेर २०७९ को निर्वाचनमा होमियो ।
प्रतिनिधिसभा निर्वाचन २०७९ बाट रास्वपा चौथो ठूलो पार्टी बन्न सफल भयो । निर्वाचनमा रास्वपालाई युवा तथा शहरी मतदाताहरूको ठूलो समर्थन मिल्यो । प्रतिनिधिसभामा प्रत्यक्षर्फ सात र समानुपातिकतर्फ १३ गरी पहिलो निर्वाचनमै २० सिटसहित रास्वपाको वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदय भयो ।
रास्वपाको भ्रष्टाचारविरोधी अभियान र सुशासनको प्रतिबद्धताले मतदातालाई प्रभावित गर्यो । जसले गर्दा अप्रत्याशित रूपमा निर्वाचन जित्न सफल भयो । निर्वाचन अघिको ‘इनफ इज इनफ’ आन्दोलन र संसद् भवन अगाडि प्रेम आचार्यको आत्मदाहजस्ता घटनाले वैकल्पिक राजनीतिको माग बढायो ।
२०७४ मा सुरु भएको वैकल्पिक धार २०७९ मा आइपुग्दा युवा असन्तुष्टि, सामाजिक सञ्जाल र पुराना दलहरूको असफलताका कारण मजबुत रूपमा उदायो । जसले नेपालको राजनीतिमा नयाँ विकल्प प्रदान गर्यो ।
वैकल्पिक शक्तिकै रूपमा मधेश प्रदेशबाट डा. सीके राउतको नेतृत्वमा जनमत पार्टी र सुदूरपश्चिम प्रदेशबाट रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय राजनीतिमा उदाए ।
प्रतिनिधिसभा निर्वाचन २०७९
प्रतिनिधिसभा निर्वाचन २०७९ मंसिर ४ मा सम्पन्न भएको थियो । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिक प्रणालीतर्फ ११० जना सदस्यहरू चुनिएका थिए ।
वाम गठबन्धनको बोलबाला रहेको प्रतिनिधिसभा निर्वाचन २०७४ मा २३ सिटमा खुम्चिएको कांग्रेस यो निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो दल बन्यो । तत्कालीन समयमा कांग्रेसले २०७४ मा नेकपा एमालेसँग मिलेर वाम गठबन्धन बनाएको नेकपा माओवादी केन्द्र र एमालेबाट चोइटिएको नेकपा एकीकृत समाजवादीसहित भएको पाँचदलीय गठबन्धन गरेको थियो ।
वा गठबन्धन गरेर अघिल्लो निर्वाचनमा पहिलो बनेको एमालेले २०७९ मा प्रत्यक्षतर्फ ४४ सिट ल्याएको थियो । कांग्रेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्र १८ र एकीकृत समाजवादी १० स्थानमा विजयी भए ।
कांग्रेसको गठबन्धनमा रहेको मधेशकेन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले चार सिट ल्यायो । निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालले सात र वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले समान सात–सात निर्वाचन क्षेत्र जिते ।

पश्चिम नेपालबाट उदाएको अर्को शक्ति नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र जनमत पार्टीले एक–एक सिट जित्तदा स्वतन्त्र उम्मेदवारी दिएका पाँच जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
मोरङ–५ बाट योगेन्द्र मण्डल, सर्लाही–४ बाट अमरेशकुमार सिंह, रौतहट–२ बाट किरणकुमार साह, रौतहट–३ बाट प्रभु साह र बर्दिया–२ बाट लालवीर चौधरी स्वतन्त्र सांसदका रुपमा निर्वाचित भएका थिए ।
समानुपातिकतर्फको हिसाब–किताब
प्रतिनिधिसभा निर्वाचन २०७९ मा समानुपातिक निर्वाचन प्रणालीपतर्फ एमाले पहिलो दल बन्यो । उसले देशभरबाट २८ लाख ४५ हजार ६४१ मत पाएर प्रतिनिधिसभामा ४४ सिट जोड्यो ।
प्रत्यक्षततर्फ पहिलो दल बनेको कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत ल्यायो । कांग्रेसबाट ३२ जना समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४, रास्वपाले ११ लाख ३० हजार ३४४ र राप्रपा पाँच लाख ८८ हजार ८४९ मत समानुपातिकतर्फ पाए । उक्त मतबाट माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ सिट पाउँदा रास्वपाले १३ र राप्रपाले सात सिट जोडे ।
यस्तै जसपा नेपालले चार लाख २१ हजार ३१४ मतबाट पाँच, जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मतबाट पाँच सांसद समानुपातिकतर्फ जिताए ।
एकीकृत समाजवादीले दुई लाख २९ हजार ९५१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ र लोसपा एक लाख ६७ हजार ३६७ पाएका थिए । अन्य दलहरूले समानुपातिकतर्फ एक लाख मत कटाउन सकेनन् ।
एकीकृत समाजवादी, लोसपा र नागरिक उन्मुक्तिले ‘थ्रेसहोल्ड’ (तीन प्रतिशत मत) कटाउन नसक्दा समानुपातिकतर्फ सिट पाएनन् । तीन प्रतिशत ‘थ्रेस होल्ड’ कटाउन तीन लाख १६ हजार ८०२ मत पाउनु पर्थ्यो । कुल सदर मतहरूमा १३ लाखभन्दा बढी मत ‘थ्रेसहोल्ड’ नकटाउने दलहरूको खेर गएको थियो ।
कांग्रेस : ९१ क्षेत्रमा उम्मेदवारी, ३४ सिटमा पराजित
प्रतिनिधिसभा निर्वाचन २०७९ मा कांग्रेसले लोकतान्त्रिक–वाम गठबन्धनबाट सबैभन्दा बढी ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमध्ये कांग्रेसले ३४ स्थानमा पराजय व्यहोर्नु परेको थियो ।
गठबन्धनभित्रको सिट बाँडफाँटअनुसार माओवादी केन्द्रले ४३, एकीकृत समाजवादीले २०, लोसपाले सात र राष्ट्रिय जनमोर्चाले दुई सिटमा उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका क्षेत्रमध्ये माओवादी २५, एकीकृत समाजवादीले १०, लोसपाले चार र जनमोर्चाले एक निर्वाचन क्षेत्र गुमाएको थियो ।

यो निर्वाचनमा एमालेले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाहरूसँग तालमेल गरेको थियो । राप्रपा नेपालका तत्कालीन अध्यक्ष कमल थापालगायतलाई एमालेको चुनाव चिह्न सूर्यबाट चुनावी मैदानमा उत्रिएका थिए ।
हेभिवेटको पराजय
विभिन्न समयमा सम्पन्न निर्वाचनहरूमा ‘हेभिवेट’ नेताहरू छिटपुट रूपमा पराजित हुँदै आएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा पनि विभिन्न दलका ‘हेभिवेट’ नेताहरूले हार व्यहोर्नु परेको थियो ।
निर्वाचनमा एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायत नेताहरू पराजित भएका थिए ।
यस्तै कांग्रेसबाट बहालवाला गृहमन्त्री बालकृष्ण खाँण, सहमहामन्त्री उमाकान्त चौधरीलगायतले पनि पराजय व्यहोर्नु परेको थियो । एमालेसँग चुनावी तालमेल गरेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि २०७९ को निर्वाचनमा हारेका थिए ।
निर्वाचनमा माओवादी केन्द्रका तत्कालीन महासचिव देवप्रसाद गुरुङ, बहालवाला मन्त्री तथा उपमहासचिव पम्फा भुसाल, उपमहासचिवहरू गिरिराजमणि पोखरेल र मातृका यादव, सचिव चक्रपाणि खनाल, मन्त्री महेश्वरजंग गहतराजलगायत पराजित भएका थिए ।
तेस्रो दलबाट प्रधानमन्त्री, पहिलो र दोस्रो दल प्रचण्ड वरिपरि
निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी सिट जित्यो । निर्वाचनपछि कांग्रेस–माओवादी गठबन्धन टुट्यो । सरकार गठनका क्रममा एमालेसँग मिलेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । उनी एमाले, रास्वपा, जनमतलगायतका दलहरूको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री बने । प्रचण्ड नेतृत्वको सरकारलाई राप्रपा, जसपालगायतका दलहरूको पनि समर्थन थियो ।
गठबन्धन सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार सञ्चालनमा बारम्बार हस्तक्षेप र भागबण्डाको विवादले तनाव सिर्जना भयो ।
असन्तुष्टि बढ्दै गएपछि सरकार गठनको तीन महिनापछि (चैत २९ मा) प्रधानमन्त्री प्रचण्ड गठबन्धन परिवर्तन गरेर कांग्रेससँग मिले । प्रचण्डले ठीक एक वर्षपछि २०८० चैत २१ गते फेरि गठबन्धन फेरे । उनले एमालेसँग आठ बुँदे सम्झौता गरे । यो समीकरणमा रास्वपा, जसपा पनि सहभागी भए ।
२०८१ असार १७ गते कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको सात बुँदे सहमतिपछि एमालले सरकारलाई दिएको समर्थन फिर्ता लियो ।
प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्यो । एमाले अध्यक्ष ओली असार ३० गते चौथो पटक प्रधानमन्त्री बने । ओली प्रधानमन्त्री भएको एकवर्षपछि गत भदौ तेस्रो साता सरकारविरुद्ध जेनजी आन्दोलन भयो । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध, भ्रष्टाचार, बेरोजगारीविरूद्ध नवयुवा पुस्ताले ठूलो प्रदर्शन गरे ।
प्रदर्शन हिंसात्मक बन्दा कयौं नागरिकको मृत्यु भयो । सिंहदरबार, संसद् भवनलगायत सरकारी भवन र नेताहरूका निजी निवासदेखि पार्टी कार्यालयहरूमा आगजनी भयो । जेनजी आन्दोलनका कारण प्रधानमन्त्री ओली पदबाट राजीनामा दिन बाध्य भए ।
प्रतिक्रिया 4