+
+
Shares

कोशी पीडितलाई चुनाव : हर्ष न बिस्मात

बाजेका पालाको समस्या हालसम्म समाधान नहुँदा त्यसले सिर्जना गरेका पारिवारिक जटिलता पनि उस्तै छन् ।

प्रदिप मेन्याङ्बो प्रदिप मेन्याङ्बो
२०८२ माघ २६ गते १९:३१

२६ माघ, राजावास (सुनसरी) । चुनावी माहोलले गाउँदेखि सहरसम्म लपक्कै छोपेको छ । दलका कार्यकर्ता आफ्ना उम्मेदवारलाई लिएर मत माग्न थालिसकेका छन् ।

तर, सुनसरीका कोशीपीडित मतदाताहरूका लागि भने यतिबेला प्रतिनिधिसभाको चुनाव ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ जस्तै छ ।

पञ्चायतकालका राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च चुन्नेदेखि २०३६ को ‘बहुदल’ र ‘निर्दल’(सुधारिएको पञ्चायत) छान्ने जनमत संग्रहसम्मका निर्वाचनमा कोशीपीडितले मतदान गरेका थिए । बहुदलपछिका संसदीयदेखि स्थानीय निकाय निर्वाचनमा पनि उनीहरूले मतदान गरिरहे । गणतन्त्र स्थापना यताका निर्वाचनमा पनि कोशीपीडितले मतदान गर्न छाडेनन् ।

तर, उनीहरूको माग भने जस्तैको तस्तै छ आधा शताब्दिका हरेक निर्वाचनमा कोशीपीडितको माग यत्ती छ- राहत र क्षतिपूर्ति पाउनुपर्‍यो । बसेकै ठाउँको जग्गाको लालपूर्जा पाउनुपर्‍यो । वा, कतै पुनर्वासको व्यवस्था हुनुपर्‍यो । ती निर्वाचनमा आश्वासन मात्र आए, समाधान कहिल्यै आएन ।

हरेक निर्वाचनका बेला दल र उम्मेदवार कोशीपीडितका लागि आश्वासनका भकारी बोकेर आउँछन् । चुनावपछि ती भकारी जहिल्यै रित्ता भेटिए । त्यसैले उनीहरूका लागि सबै निर्वाचन बिर्सनलायक घटना मात्रै बनेका छन् । बाजेका पालाको समस्या नाति हुर्कँदासम्म पनि समाधान नभएपछि अचेल कोशीपीडितलाई निर्वाचनले छुन छाडेको छ ।

कोशीपीडित समस्या के हो ?

कोशीको पूर्वी तटमा पर्ने सुनसरीको बराहक्षेत्र नगरमा करिब पाँच हजार ५०० घरधुरी कोशीपीडित बसोबास गर्छन् । साविकका बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मधुवन गाविसका ऐलानी जमिनमा सुकुमवासी जस्तै उनीहरूको जिन्दगी बितिरहेको छ । जहाँ झन्डै ३० हजार मतदाता छन् ।

कोशीपीडितको बस्ती सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ र ४ मा पर्छ । सुनसरी–१ भित्र बराहक्षेत्रका कोकाह-चतरा बजार, पुल्ठेगौडा र जब्दी पर्छन् । यस्तै सुनसरी–४ मा मधुवन, महेन्द्रनगर चक्रघट्टी, प्रकाशपुर पर्छन् ।

कुनै समय नयाँपुल नजिकैदेखि कोशीटप्पु सीमासम्मका क्षेत्रमा उनीहरूको जग्गा थियो । उनीहरूको जग्गामा हाल कतै कोशी बगिरहेको छ, भने कतै बगर पल्टिएको छ ।

फलामका ५६ ढोकाका ब्यारेजले पानी नियन्त्रण गर्दा कोशीले बगाएका बालुवाको सतह माथि उकासिँदै गयो, बालुवा उकासिँदा पानीको सतह पनि उठेपछि बस्तीमा बाढी पस्न थालेको पीडितहरूले बताउँदै आएका छन् ।

सिन्दुरे, गरैया, ठुलो गरैया, माथिल्लो जब्दी, जामपानी, मोरिया, तल्लो गरैया, तित्रीगाछी, श्रीलंका टापुमा २००७ साल अघि नै उनीहरू बसोबास गर्थे । त्यो बेला कोशी नदी पश्चिमी तट भएर बग्ने गर्थ्याे ।

जब विसं २०११ मा नेपाल-भारतबीच कोशी सम्झौता भयो, त्यसपछि भारतले कोशीको पानी नियन्त्रण गर्न भीमनगरमा ब्यारेज निर्माण गर्‍यो । त्यसपछि भने कोशी नदी पूर्वी तट र पश्चिमी तटका बस्तीमा पस्न थालेको थियो ।

फलामका ५६ ढोकाका ब्यारेजले पानी नियन्त्रण गर्दा कोशीले बगाएका बालुवाको सतह माथि उकासिँदै गयो, बालुवा उकासिँदा पानीको सतह पनि उठेपछि बस्तीमा बाढी पस्न थालेको पीडितहरूले बताउँदै आएका छन् ।

विसं २०२२ देखि ०४२ सालसम्म लगातार कोशी कटान भइरह्यो, बस्ती विस्थापित पनि भयो । विस्थापित भएकाहरू नदीले बगाएको जग्गाको धनीपूर्जा बोकेर पुर्वी तटमा पर्ने रेल्वे, जब्दी, बिचपानी, महेन्द्रनगर, बांगे, भरौल, सुनसरी-मोरङ सिँचाइ आयोजनाको चतरा नहरको डिल, मधुवन, राजवास, प्रकाशपुर, १३ आरडीलगायतका क्षेत्रमा सुकुमवासी जीवन बिताउन बाध्य भए । कोशीले आठ हजार ६०० विघा जग्गा बगाएको कोशीपीडित संघर्ष समितिले जनाएको छ ।

त्यसरी विस्थापित भएकाहरू हरेक पटकका निर्वाचनमा भोट माग्न आउने दल र नेतासँग समस्या समाधानको माग राखिरहे । दल तथा उम्मेदवारले चुनावी घोषणापत्रमार्फत नै प्रतिबद्धता पनि जनाइरहे । तर, समस्या अहिले पनि ज्युँका त्युँ छ ।

कोशीपीडितलाई सबैभन्दा ज्यादा भरोसा २०४८ मा जागेको थियो । त्यो बेला सुनसरी-१ बाट नेकपा एमालेका मनमोहन अधिकारी निर्वाचन जितेका थिए । उनले बाढीपीडितको समस्या समाधान गर्ने आश्वासन पनि दिएका थिए । पछि २०५१ को मध्यावधि निर्वाचन जितेर उनी प्रधानमन्त्री पनि भए ।

अधिकारी प्रधानमन्त्री भएपछि कोशी पीडितहरूले सोचे–अब सपना पूरा हुने भयो । तर, त्यो सपनामै सीमित रह्यो । सोही निर्वाचनमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला तत्कालीन सुनसरी–३ बाट र २०५१ को मध्यावधि निर्वाचनमा सुनसरी-५ (हाल यो क्षेत्र सुनसरी-४ मा पर्छ)बाट निर्वाचित भएका थिए । कोइराला पनि पटक-पटक प्रधानमन्त्री भए । तर, कोशीपीडितको समस्या समाधान भएन ।

त्यसपछिका निर्वाचनमा सुनसरी-१ बाट अधिकारीबाहेक लीला श्रेष्ठ सुब्बा मेन्याङ्बो, कुन्ता शर्मा, किरण राई, कृष्णकुमार राई, जयकुमार राई र अशोक राई पनि निर्वाचित भए । सुनसरी-४ बाट कोइरालाबाहेक सुजाता कोइराला, जगदीश कुसियत, भीम आचार्य र ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएर संसद्मा पुगे । आचार्य र कार्की दुई-दुई पटक नै जिते । सरकारमा प्रभावशाली मन्त्री नै बने । तर, कसैको जितमा पनि कोशी पीडितको दिन फर्किएर आएन ।

कोशी कटान डुबान संघर्ष समितिका कार्यवाहक अध्यक्ष जोनी खिम्दिङ लिम्बूले पञ्चायत कालदेखि आवाज उठाउँदा पनि कसैले नसुनेको गुनासो गर्छन् । ‘२०२२ देखि हामीहरू क्षतिपूर्ति र मुआब्जाको माग गर्दै समिति नै बनाएर आवाज उठाइरहेका छौँ,’ उनले भने, ‘हामीले स्थानीय नेता, सांसददेखि प्रधानमन्त्रीसम्मलाई अनेकौँपटक ज्ञापनपत्र बुझाएका छौँ । तर, हाम्रो समस्या कसैले देखेन–सुनेन ।’ पटकपटक फेरिएका व्यवस्थामा फेरिए पनि कोशी पीडितको अवस्था फेर्न कोही नलागेको उनको गुनासो छ ।

न आस, न भरोसा

बराहक्षेत्र नगरपालिका-८ शुक्रबारेका ७२ वर्षीय हरीप्रसाद पोखरेल जिताएर पठाएका नेता, सांसददेखि मन्त्री–प्रधानमन्त्रीसम्ममा कोशी पीडितको समस्या समाधान गर्ने ल्याकत नदेखिएको भन्दै रोष प्रकट गर्छन् ।

‘कांग्रेस, एमाले, नेकपा, ती पार्टीका नेतादेखि मन्त्री सबैलाई कोशी पीडितको समस्या थाहा छ । तर, भारत सरकारको दबाबअघि उनीहरू सबै हुतिहारा सावित भए,’ पोखरेल आक्रोश पोख्छन्,‘अहिलेका नयाँ भन्नेहरू त झन्- हाम्रो समस्या यस्तो छ है। के गर्न सक्छौ ? भन्दा अक्क न बक्क परिरहेका छन् ।’ बाजेका पालाको समस्या नयाँले बुझ्न नसक्नु उनले स्वाभाविकै ठानेका छन् ।

उता बराहक्षेत्र नगरपालिका-२ जब्दीका ६९ वर्षीय पुण्यप्रसाद गौतम पञ्चायतकालीन प्रधानमन्त्री मरिचमान सिंहले नै कोशी पीडितको समस्या समाधानमा काम गर्न खोजे पनि नसकेको स्मरण गर्छन् । उनी भन्छन्, ‘उहाँले जग्गाको नापी गराउनुभएको थियो । तर, काम पूरा गर्नसक्नुभएन । कामै नसकी उहाँको निधन भयो ।’

वीरेन्द्रदेखि प्रधानमन्त्रीहरू गिरिजाप्रसाद, प्रचण्ड, शेरबहादुर, सुशील, माधव, बाबुराम, झलनाथ, केपी ओलीसहित हाम्रो ज्ञापन नबुझ्ने कोही प्रधानमन्त्री बाँकी छैन– पीडित

अहिले आएका कोही पनि नेताले समस्या समाधान गर्नसक्छन् भन्ने विश्वास आफूलाई नभएको उनी बताउँछन् । ‘हाम्रा लागि यस्ता चुनाव केटाकेटीलाई लोहोर पोलेर पाक्दैछ भनेर फकाउने मेलो मात्रै जस्तो लाग्छ । गर्नसक्ने केही होइनन्,’ उनी भन्छन् ।

नयाँ दल र नेतासँग पनि गौतमलाई कुनै आशा छैन । ‘उनीहरूले केही आश्वासन दिए पनि त्यो हुटिट्याले सागर थाम्ने कुरा जस्तै हो,’ उनले भने,‘यो समस्या समाधान गर्न कोशी सम्झौता कोट्याउनु पर्छ । भारतसँग सीधा वार्ता गर्ने हुती भएको प्रधानमन्त्री जन्मिन अझै बाँकी छ ।’

कोशी कटान–डुबान संघर्ष समितिका अध्यक्ष ७७ वर्षीय प्रह्लाद थापा चुनाव जित्ने नेताहरू त्यसपछि थप समस्या बुझ्न कोही नआउने गरेको बताउँछन् । ‘हामीले पञ्चायतकाल भोग्यौँ, राजासहितको बहुदल भोग्यौँ । अहिले गणतन्त्रकाल भोगिरहेका छौँ,’ अध्यक्ष थापा भन्छन्,‘तर, पीडा जहाँको त्यहीँ छ ।’

दलका नेतासँग मात्र नभई संघर्ष समितिले तत्कालीन राजा वीरेन्द्र शाहलाई पनि पटक-पटक ‘विन्ती पत्र’ चढाएको अध्यक्ष थापा बताउँछन् । ‘वीरेन्द्रदेखि प्रधानमन्त्रीहरू गिरिजाप्रसाद, प्रचण्ड, शेरबहादुर, सुशील, माधव, बाबुराम, झलनाथ, केपी ओलीसहित हाम्रो ज्ञापन नबुझ्ने कोही प्रधानमन्त्री बाँकी छैन,’ उनले भने । ज्ञापनपत्र नबुझेकी अहिलेकी प्रधानमन्त्री सुशीला कार्की मात्र बाँकी रहेको उनले बताए ।

लालपूर्जामै सीमित अंशबण्डा, जग्गाबीनाको मालपोत

कोशी पीडितहरूसँग पुस्तैनि लालपूर्जा छ । नभएको जग्गा मात्रै हो । बाजेका पालाको समस्या हालसम्म समाधान नहुँदा त्यसले सिर्जना गरेका पारिवारिक जटिलता पनि उस्तै छन् ।

छोरादेखि नाति पुस्तामा अंश हस्तान्तरण र अंशबण्डाको दायित्व चलिरहेकै छ । तर, त्यो काम जमिनमा छैन, लालपूर्जामा मात्रै सीमित छ । मालपोत र नापी कार्यालयमा पुराना लालपूर्जा नै प्रचलनमा छन् । प्रचलित कानुनअनुसार त्यसको हकहस्तान्तरण र अंशबण्डा हुने गरेको छ ।

लालपूर्जा धनीले मालपोत र अन्य राजश्व पनि तिर्दैआएका छन् । राज्यका निकायले पनि जग्गाबीनाकै धनीपूर्जाका आधारमा मालपोत बकाइदा उठाउँदै आएको छ ।

‘बुबाले गरैया टप्पुमा जोडेको १८ बिघा जमिन हामी पाँच भाइबीच अंशबण्डा गर्दा मेरो भागमा तीन बिघा परेको थियो,’ बराहक्षेत्र नगरपालिका-७ चक्रघट्टीका ६२ बर्षीय केदार कार्की भन्छन्,‘त्यो जग्गा अब छोराको नाममा सार्दैछु । तर, जग्गा कहाँ छ, न मैले देखेँ, न छोरालाई थाहा छ ।’

कार्कीजस्तै बराहक्षेत्र नगरपालिका-८ शुक्रबारेका हरिप्रसाद पोखरेलले बुबाबाट एक बिघा जमिन पाएका थिए । बुबाले पाँच बिघा जमिन अंश लाउँदा चार भाइ छोरामा एक-एक र एक बिघा आफूलाई जिउनी राखेका थिए । पोखरेलले आफ्नो हिस्सामा परेको एक बिघाको मालपोत उनले तिर्दैआएका छन् । भाइहरूमा अंशबण्डा गर्दा पनि मालपोत र राजश्व सबैले तिरेका थिए । राज्यले ‘तिरो’ लिइरहेको जमिन उनीहरू उपभोग गर्न भने पाएका छैनन् ।

लालपूर्जामै सीमित कोशी पीडितको जग्गा किनबेचसमेत हुनेगरेको छ । धितो, धरौटी राख्न र जेल परेकालाई उकास्न तिनै लालपूर्जा प्रयोगमा आइरहेका छन् । जबकी लालपूर्जामा रहेको जमिन या त कोशीको पानीमूनि छ, या बालुवा भरिएको बगरमा छ ।

कोशीपीडितलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि पनि आफ्नो समस्या समाधान हुनेमा रत्तिभर विश्वास देखिएको छैन ।

लेखक
प्रदिप मेन्याङ्बो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?