+
+
Shares

राष्ट्रियसभा सांसदको बिदाइ सम्बोधन : नमिठा अनुभव, गुनासै–गुनासा

बिदा हुन लागेका केही सांसदले राष्ट्रियसभाको संरचनामै खोट देखाए । दुई सदनात्मक व्यवस्थामा राष्ट्रियसभा प्रतिनिधिसभाको छायामा परेको भन्दै असन्तुष्टि पोखे ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ माघ २६ गते २२:०२

२६ माघ, काठमाडौं । सोमबार राष्ट्रिय सभामा छ जना सांसदले बिदाइ सम्बोधन गरेका छन् । फागुन २० गते कार्यकाल सकिएर बिदा हुन लागेका १६ जना सांसदहरूलाई सोमबारको बैठकबाट बिदाइ सम्बोधनको मौका दिइएको छ । जसमा पहिलो दिन छ जनाका लागि मात्रै समय पर्याप्त भयो ।

बिदाइ सम्बोधनका क्रममा सांसदहरूले आफ्ना सकारात्मक र नकारात्मक अनुभुतिहरू साझा गरे । सांसद सुमित्रा बिसीले ६ वर्षे कार्यकालमा कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा जारी गरेको दिन सबैभन्दा अविष्मरणीय रहेको बताइन् । ‘सर्वसम्मतिमा संसद्बाट चुच्चे नक्सा पास गर्दा सही (हस्ताक्षर) गरेको क्षण (२०७७ जेठ ५ गते) मेरो कार्यकालको सबैभन्दा गर्विलो दिन रहेको स्मरण गरेकी छु,’ उनले भनिन् ।  तर, संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन नसकेकामा उनले पछुतो पोखिन् ।

‘संविधान जारी भएको तीन वर्षभित्र बन्नुपर्ने कानुन दश वर्षसम्म पनि बन्न नसक्दा नमिठो महसुस भइरहेको छ,’ बिसीले भनिन् ।

बिसी २०७६ माघ ९ मा भएको राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट महिला क्लस्टरमा निर्वाचित भएकी थिइन् । २०१७ पुस २७ गते सुर्खेतको चिसापानीमा जन्मिएकी बिसी पञ्चायती व्यवस्थाविरुद्ध पर्चा पमप्लेट छर्दै राजनीतिमा जोडिएकी हुन् ।

संसदीय राजनीतिमा भने बिसीको यो पहिलो अनुभव हो । राष्ट्रिय सभामा काम गर्दा शासन सञ्चालन र विकास निर्माणको गतिलाई नजिकबाट नियाल्ने मौका पाएको पनि उनले बताइन् ।  ‘२०१३, २०२०, २०२९ सालका कानुनअनुसार देश चलाउँदा विकासमा बाधा परेको मैले बुझेँ,’ बिसीले भनिन् ।

अर्की सांसद इन्दिरादेवी गौतमका अनुभव पनि बिसीसँगै मिल्दाजुल्दा सुनिए । ‘राष्ट्रियसभामा काम गर्दा कागजी कानुन र व्यवहारिक कार्यान्वयन बिचको अन्तर बुझ्न सहयोग पुर्‍यायो’, गौतमले भनिन्, ‘संसद् र संसदीय समितिले दिएका सुझावहरू कार्यान्वयन नहुँदा पनि ठुलै समस्या हुने रहेछ ।’

६ वर्षको आफ्नो अनुभवमा बारम्बार महसुस गरेको गम्भीर समस्या त्यही रहेको उनले बताइन् । ‘सदनले दिएका महत्वपूर्ण सुझाव, निर्देशन र संकल्प प्रस्ताव व्यवहारमा लागु नहुँदा राष्ट्रियसभाको गरिमा र प्रभावकारितामा प्रश्न उठाएको छ’, गौतमले भनिन् ।

२०१२ जेठ ६ मा सुनसरीको इटहरीमा जन्मिएकी गौतम २०३० देखि राजनीतिमा छिन् । तत्कालीन मालेको अनेमसंघमा आबद्ध हुँदै राजनीतिमा सक्रिय बनेकी उनी महिला अधिकार र समाजिक समानताका लागि आवाज उठाउँदैआएकी छन् । उनी २०७६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

‘संसद्को निगरानी र भूमिका कमजोर रहेको ठानेकी छु । संसद्मा उठेका धेरै सवालहरू दलगत समीकरण, सत्ता र विपक्षको राजनीतिक गतिविधिले अलमलिएको पाएँ । राष्ट्रिय मुद्दा पनि दलगत विवादमा खुम्चिने गरेको पनि मेरो अनुभव रह्यो,’ बिदाइ सम्बोधनमा गौतमले अनुभव बाँडिन । बृहत्तर विकासमा राजनीतिक इच्छाशक्ति, प्रशासनिक इमानदारिता र सचेत नागरिकको समन्वय नभएसम्म समृद्धि, विकास र लोकतन्त्र बलियो नहुने उनको बुझाइ रह्यो ।

केहीले देखाए संरचनामै खोट

राष्ट्रियसभाबाट बिदा हुनलागेका केही सांसदहरूले राष्ट्रियसभाको  संरचनामै खोट देखाए । उनीहरूले दुई सदनात्मक संसदीय व्यवस्था भएपनि प्रतिनिधिसभाभन्दा राष्ट्रियसभाको अधिकार क्षेत्र खुम्च्याइएको भन्दै असन्तुष्टि राखे ।

त्यस्तो असन्तुष्टि राख्ने एक हुन्, डा. बेदुराम भुसाल । उनले राष्ट्रियसभा प्रतिनिधिसभाको छायाजस्तो हुनपुगेको  बताए । ‘यो सभा प्रतिनिधिसभाको प्रतिछायाजस्तो नबनी छुट्टै पहिचानसहितको प्रबुद्ध सभाको रूपमा काम गर्ने सभा बनिरहोस्’, उनले आफ्नो अपेक्षा सुनाए ।

२०११ असार १५ गते काठमाडौंमा जन्मिएका भुसाल २०२७ देखि राजनीतिमा छन् । उनीसँग तीन पटक सांसद बनेको अनुभव छ । २०५८ देखि २०६३ माघसम्म राष्ट्रिय सभा सदस्य, २०६३ माघदेखि २०६५ जेठसम्म अन्तरिम व्यवस्थापिका संसद्को सदस्य रहेका भुसाल २०७६ मा फेरि राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए ।

पछिल्लो कार्यकालको अनुभव सुनाउँदै भुसालले समयमै सभाको बैठक राख्ने, समय तालिका नै बनाएर काम गर्ने, कानुनको कार्यान्वयन मुल्यांकन गर्नेलगायतका राष्ट्रियसभाका सकारात्मक काम स्मरण गरे ।

अर्का सांसद तारामान स्वाँरले राष्ट्रियसभाको ओज र आम बुझाइ केलाउनुपर्ने बताए । ‘राष्ट्रिय सभाको गरिमा दुई कारणले कायम राख्ने वा नराख्ने भन्ने निर्धारण हुन्छ,’ उनले भने, ‘त्यसमा कस्ता व्यक्तिलाई सांसद बनाइएको छ र सांसदहरुको क्षमता प्रदर्शन कस्तो छ ?’ यसलाई बुढापाका थन्काउने र अन्य निर्वाचनमा पराजित नेताको व्यवस्थापन गर्ने सदन भएजसरी नकारात्मक प्रवृतिको बुझाइले राष्ट्रियसभा पीडित बनेको उनले सुनाए ।

२०१५ चैत १४ मा अछामको साँफेबगरमा जन्मिएका स्वाँर २०३५ देखि राजनीतिमा छन् । लामै समय पार्टी राजनीति गरेका स्वाँर २०७६ मा राष्ट्रियसभा सदस्य निर्वाचित भएर पहिलो पटक संसदीय अभ्यासमा सहभागी बनेका हुन् ।

सुशासनको संकल्प

बिदाइ सम्बोधनमा सांसदहरूले फेरि पनि राजनीतिमै रहेर देश र जनताकै लागि काम गर्ने प्रतिज्ञा पनि गरेका छन् । उनीहरूले जनताले राजनीतिक अधिकार प्राप्त गरे पनि जनजीविकाका सवालमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

सांसद मायाप्रसाद शर्माले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अझैँ संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘सुशासन, सामाजिक न्याय र सार्वजनिक हितका विषय प्राथमिकता राख्दै समिति र सदनमा काम गर्न पाएकामा खुसी छु,’ उनले भने, ‘फेरि पनि समाजमा रहेर यस्तै रचनात्मक भूमिकामा सक्रिय रहनेछु ।’

२०२० असार १५ मा जाजरकोटमा जन्मिएका शर्मा २०३८ देखि राजनीतिमा छन् । विद्यार्थी राजनीतिबाट आएका उनी २०७६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । उनको यो पहिलो संसदीय अनुभव हो ।

अर्की सांसद शारदादेवी भट्टले सांसदको भूमिका र जनताको अपेक्षाबीच तालमेल हुन नसकेको अनुभव सुनाइन् । ‘सांसदलाई बाहिरबाट हेर्दा र भित्रबाट हेर्दा केही फरक पाएँ,’ उनी भन्छिन्, ‘विकास योजना निर्माण र बाँडफाँटमा केही तितो अनुभव भयो ।’ असमान विकासले नै जनताको असन्तुष्टि बढेको बताउँदै उनले समतामूलक विकासमा राज्यले ध्यान दिनुपर्ने सुझाव दिइन् ।

२००६ असोज १ मा ललितपुरको लुभुमा जन्मिएकी भट्ट २०४७ पछि राजनीतिमा जोडिएकी हुन् । २०७६  सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर बिताएको ६ वर्ष नै उनको संसदीय अनुभव हो । ‘७७ वर्ष उमेरसम्म देश र जनताको सेवा गरेँ, आउँदा दिनमा पनि सक्नेसम्मको भूमिका निभाउन तत्पर रहनेछु,’ भट्टले भनिन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?