+
+
Shares

सिरहा कारागार तनावग्रस्त : बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ, पानीको फोहरा प्रहार

कारागारभित्र र बाहिर करिब १ सय ५० जनाको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्षा टोली थपिँदै गएको छ ।

सुरेश राय सुरेश राय
२०८२ माघ २६ गते २१:४५

२६ माघ, सिरहा । गोली र नगदसहित नाइके पक्राउ परेपछि सुरु भएको विवादले सिरहा कारागारमा उग्र रुप लिँदै गएको छ ।

ऋहिले कैदी र सुरक्षा निकायबीचको दोहोरो भिडन्तले अवस्था तनावग्रस्त छ । कारागारका नाइके ईन्द्रजित यादवसहित १३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएपछि अवस्था तनावग्रस्त बनेको हो ।

घटनापछि आक्रोशित बनेका कैदीहरू छतमाथि चढेर थाली बजाउँदै ‘नाइके इन्द्रजितलाई फिर्ता गर’, ‘इन्द्रजित दाइ चाहियो’, ‘हाम्रो माग पूरा गर’ तथा ‘सिडिओ, जेलर, एसपी मुर्दावाद’ लगायतका नाराबाजी गरिरहेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको भए पनि कैदीहरूको होहल्ला जारी रहेको छ । कारागारभित्र र बाहिर करिब १ सय ५० जनाको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्षा टोली थपिँदै गएको छ ।

जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ बरामद गरिएको प्रशासनले जनाएको छ । साथै चुरोट, सुर्ती लगायतका प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारभित्र मदिरा तथा लागुऔषधको कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबर्जस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा सोमबार बिहान करिब ११ बजे विशेष अपरेसन गरिएको थियो । अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट उक्त बन्दुक, गोली र नगद रकम फेला परेको हो ।

अवैध गतिविधिमा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जना कैदीलाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।

उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारको भित्रि गेटबाट बाहिर निकालिएको थियो ।

प्रशासनका अनुसार नियन्त्रणमा परेका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेका छन् ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको र कारागार सुरक्षामा थप कडाइ गरिएको जनाइएको छ । १५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी राखिएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?