+
+
Shares

सिरहा कारागार तनाव : सुरक्षा व्यवस्था कडा, स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समिति बैठक

प्रजिअ पौडेलले कारागारभित्र मदिरा तथा लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग, चन्दाका नाममा जबरजस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा अपरेसन चलाइएको बताए । अनुगमनका क्रममा हतियार, गोली, नगदसहित चुरोट, सुर्तीजस्ता प्रतिबन्धित सामग्रीसमेत फेला परेको प्रशासनले जनाएको छ ।

सुरेश राय सुरेश राय
२०८२ माघ २७ गते १२:३१

२७ माघ, सिरहा । सिरहा कारागार अशान्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । कारागार प्रमुखको कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सुरेन्द्र पौडेलको कमान्डमा सुरक्षा समितिको बैठक बसेको हो ।

बैठकमा सिरहा कारागार प्रमुख सुबोध महतो, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकसहित अन्य सुरक्षा निकायका प्रतिनिधि पनि सहभागी छन् ।

बैठकमा कारागारको समग्र सुरक्षा अवस्था, कैदीद्वारा गरिएको विरोध प्रदर्शन तथा त्यसको नियन्त्रणका उपायबारे छलफल हुने जिल्ला प्रशासनले जनाएको छ । बैठकपछि मात्र थप निर्णय र आधिकारिक धारणा सार्वजनिक गरिने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

हाल कारागारभित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थिति नियन्त्रणमा लिन निरन्तर प्रयास भइरहेको बताइएको छ ।

यसअघि सोमबार बिहान ११ बजे गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनका क्रममा सिरहा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र एक लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो । सोही क्रममा यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा लिइएका कैदीमध्ये एक जनाको सोही दिन छुट्ने समय भएकाले रिहा गरिएको र बाँकी १२ जनामध्ये सात जनालाई नुवाकोट कारागार, तीन जनालाई काठमाडौं केन्द्रीय कारागार र दुई जनालाई रौतहट कारागार पठाइएको कारागार प्रशासनले जनाएको छ ।

सोमबार बिहान ११ बजे गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनका क्रममा सिरहा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र एक लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो ।

नाइके यादवलाई कारागारबाट हटाइएको विरोधमा कैदीहरूले दिनभर र रातभर कारागारको छतमाथि बसेर नाराबाजी गरेका थिए । उनीहरूले थाली बजाउँदै नाइके इन्द्रजितलाई फिर्ता गर, इन्द्रजित दाइ चाहियो, सिडिओ, जेलर, एसपी, प्रहरी प्रशासन मुर्दावादजस्ता नारा लगाएका थिए ।

स्थिति नियन्त्रणमा लिन सोमबार राति करिब ९ बजे प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो । त्यसपछि पनि कैदीहरूको हो-हल्ला रोकिएको छैन । पानीको फोहरा प्रयोगका क्रममा कैदीहरूले मोटर चलाएर प्रतिकार गर्दा केही समय दुवै पक्षबिच तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

प्रजिअ पौडेलले कारागारभित्र मदिरा तथा लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग, चन्दाका नाममा जबरजस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा अपरेसन चलाइएको बताए । अनुगमनका क्रममा हतियार, गोली, नगदसहित चुरोट, सुर्तीजस्ता प्रतिबन्धित सामग्रीसमेत फेला परेको प्रशासनले जनाएको छ ।

नियन्त्रणमा लिइएका कैदीहरू कर्तव्य ज्यान, डाँका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्नमा जेल परेका हुन् । उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारको भित्री गेटबाट बाहिर निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको थियो ।

१५० जना कैदी क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र कारागार सुरक्षामा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?