News Summary
Generated by OK AI. Editorially reviewed.- कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरू’ राजधानीमा लोकार्पण भएको छ।
- प्राज्ञ श्रवण मुकारुङले कृतिबारे चर्चा गर्दै सिर्जना जीवनभरि जारी रहने यात्रा भनेका छन्।
- सुनकोशी वाङमय प्रतिष्ठानले ६ खण्डमा विभक्त ३८ कवितासहित यो कृति प्रकाशित गरेको छ।
काठमाडौं । कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरू’ को लोकार्पण भएको छ ।
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निवन्धकार श्रीओम श्रेष्ठ रोदन, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि शकुन्तला जोशी र लेखक दीपक चौलागाईंले पुस्तक लोकर्पण गरेका हुन् ।
कार्यक्रममा प्राज्ञ मुकारुङले कृतिबारे चर्चा गरे । उनले भने, ‘सिर्जना कहिल्यै पूर्ण हुँदैन । यो सगरमाथा आरोहण गरेपछि पूर्ण भइजाने एउटा यात्रा मात्र हैन । यो यस्तो यात्रा हो, जुन जीवन रहेसम्म श्रष्टा आफैंले नाघ्दै-नाघ्दै नयाँ-नयाँ पर्वत चढिरहने यात्रा हो ।’
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै कवि मणि लोहनीले चौलागाईँका अनुभवले खारिएका कविता नेपाली पाठकले पाएको बताए । वर्तमान समयको साक्षी बोल्ने कवितामा मृत्युचेतबारे निकै मिठा विम्ब सँगालिएको उनले उल्लेख गरे ।
लोहनीले भने, ‘एउटा अनुभवी कविको नयाँ तर शक्तिशाली कवितासंग्रह हो- हतारमा छन् यात्रीहरू । विज्ञान र जीवनलाई जोडेर लेखिएका यस भित्रका कविताहरूले आम नेपालीको संवेदनालाई प्रष्ट्याएको छ ।’
कवितामाथि टिप्पणी गर्दै कवि शकुन्तला जोशीले पूर्वीय वैदिक दर्शन, द्वन्द्वात्मक भौतिकवादी दर्शनचेत हुँदै भौतिक विज्ञानको खासगरी क्वान्टम सिद्धान्त जस्तो सूक्ष्म विज्ञानको गहिरो र दुर्लभ बुझाइको सरल प्रयोग भएको बताइन् ।
‘ब्रम्हाण्ड र जीवन जगतलाई हेर्ने भिन्न तर समरूपका वैश्विक दार्शनिक क्यान्भासमा कविता लेख्नु कवि चौलागाईँको विशिष्ट क्षमता भएको हो । नेपाली कविताका पाठकमाझ ‘हतारमा छन् यात्रीहरू’ कृतिले इन्द्रेणी जस्तो सौन्दर्यसहितको नवीन शैली पस्केको छ ।’
कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ रोदनले जीवनका विभिन्न आयाम र भौतिक विज्ञानलाई समेत यस्तो सरल शैलीमा कविता लेख्नु कविको उत्कृष्ट काव्यशैली भएको बताए ।
कविताप्रतिको प्रेमकै कारण प्रतिष्ठानले स्थापनाको एक वर्ष नपुग्दै चार वटा कविता कृति प्रकाशित गरेको संस्थाका अध्यक्ष छविरमण सिलवालले बताए ।
चौलागाईँका कवितामा सुनकोशी र रोशीको सांस्कृतिक विम्ब रहेको निबन्धकार प्रदीप सापकोटाले बताए ।
कार्यक्रममा कवि डा. अनन्त अधिकारी र रुपा रिसालले लोकार्पित संग्रहबाट कविता वाचन गरेका थिए । ६ खण्डमा विभक्त ३८ वटा कविता संग्रहित कृतिलाई सुनकोशी वाङमय प्रतिष्ठानले प्रकाशन गरेको हो ।
प्रतिक्रिया 4