+
+
Shares

सिरहा कारगारको अवस्था सामान्य, प्रहरी अनुसन्धान जारी राख्ने

सुरेश राय सुरेश राय
२०८२ माघ २७ गते २१:०९

२७ माघ, सिरहा । सिरहा कारागारमा भएको तनावपूर्ण अवस्था सामान्य बन्दै गएको छ ।

सुरक्षा समितिसँगको छलफलपछि करिव ३२ घन्टापछि अवस्था सामान्य बनेको हो । अहिले कैदीबन्दीहरू आफ्नो स्थानमा फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार बस्न र कारागार सञ्चालनमा सहयोग गर्न आग्रह गरेपछि अवस्था सामान्य बन्दै गएको हो ।

हातहतियार बरामद भएको विषयमा प्रहरीले थप अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले भने, ‘अनुसन्धानको क्रममा जो दोषी देखिन्छ, उसमाथि कानुन बमोजिम कारबाही हुन्छ । अहिले कारागारको अवस्था समान्य छ ।’

कारागारको अशान्त अवस्थाबारे छलफल गर्न कारागार प्रमुखको कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी पौडेलको कमान्डमा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो ।

यसअघि सोमबार बिहान करिब ११ बजे अनुगमन गर्ने क्रममा सिरहा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो । सोही क्रममा यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा लिइएकामध्ये एक जनाको सोही दिन कैद अवधि सकिएकाले रिहा गरिएको र बाँकी १२ जनालाई नुवाकोट, काठमाडौं सेन्टर तथा रौतहट कारागार पठाइएको प्रशासनले जनाएको छ ।

नाइके यादवलाई कारागारबाट हटाइएको विरोधमा कैदीहरूले सोमबार दिनभर, रातभर र मंगलवार दिनभर कारागारको छतमाथि बसेर नाराबाजी गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन सोमबार राति करिब ९ बजे प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो । त्यसक्रममा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?