२९ माघ, काठमाडौं । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउन्ज सेवा सुरु गरेको छ ।
बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ ।
बैंक अध्यक्ष निर्वाणकुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रूपमा डिजिटल लाउन्ज उद्घाटन गरे ।
कार्यक्रममा बैंक सञ्चालक प्रविन टिवडेवाला, अनिलकेशरी शाह, प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली, डेपुटी सीईओहरू भुपेन्द्र पाण्डे तथा आदर्श बजगाईं, नायब महाप्रबन्धकद्वय गणेशप्रसाद अवस्थी तथा ज्ञानेन्द्रप्रताप शाह लगायत बैंकका उच्च पदाधिकारी उपस्थित थिए ।
डिजिटल लाउन्ज उद्घाटन गर्दै अध्यक्ष चौधरीले ग्राहकले अब डिजिटल्ली चौबिसै घण्टा सहजै बैंकिङ कारोबार गर्न सक्ने जनाए । उनले नवप्रवर्तन र डिजिटाइजेसनमा नबिल बैंक सधैं अब्बल रहेको बताए ।
डिजिटल लाउन्जमा ग्राहकले एटीएम मार्फत नगद झिक्न, क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न, कियोस्क मेसिन मार्फत चेक डिजिटल्ली जम्मा गर्न सक्ने छन् ।
बैंकका सीईओ ज्ञवालीले एउटै स्थानमा बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध गराइएकाले ग्राहकको समय बचत हुनुका साथै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास लिएको बताए ।
नबिल बैंकका यसै प्रकृतिका डिजिटल लाउन्ज यसअघि केन्द्रीय कार्यालय र इटहरीमा सञ्चालनमा आइसकेका छन् । यस डिजिटल लाउन्ज सेवा विस्तारसँगै नबिल बैंकले परम्परागत काउन्टरमा आधारित सेवामा निर्भरता कम गर्दै डिजिटल बैंकिङतर्फको यात्रा थप सशक्त बनाएको जनाएको छ ।
ग्राहक सुविधा, सेवा पहुँच, विस्तार र प्रविधिको प्रभावकारी प्रयोग मार्फत नबिल बैंकले डिजिटल बैंकिङ केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया 4